विरोधमा ‘बन्द’ आह्वान, ‘देश जबर्जस्ती द्वन्द्वतिर’

विरोधमा ‘बन्द’ आह्वान, ‘देश जबर्जस्ती द्वन्द्वतिर’


अदालतको आदेशबाट रिहाई पाएका आफ्ना नेता तथा कार्यकर्तालाई पुनः गिरफ्तार गरेर हिरासतमा राखेको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले वैशाख ४ गते पूर्वी कमाण्ड इलाका बन्दको आह्वान गरेको छ । सो पार्टीको ‘पूर्वी कमाण्ड क्षेत्र’मा साविकका जनकपुर, सगरमाथा, कोशी र मेची अञ्चल पर्दछन् ।

नेकपा पूर्वी कमाण्ड इञ्चार्ज विरहीद्वारा जारी प्रेस विज्ञप्तिमा आज (वैशाख ३) गते मसाल जुलुस आयोजना गरिने र भोली ४ गते ‘पूर्वी कमाण्ड क्षेत्र’ बन्द गरिने उल्लेख गरिएको छ ।

विरहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘एमाले र माओवादी केन्द्रको सामाजिक दलाल पुँजीवादी गठबन्धन सरकारले आफ्नै संविधान र प्रचलित कानुनसमेत उल्लंघन गर्दै नागरिक अधिकार खोसी, दमन, गिरफ्तारी र झठा मुद्दा लगाउने कार्य तीव्र पारेको छ । त्यस क्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य किरण राईसहित ८ जना नेताहरूलाई पार्टीको बैठक बसिरहेको अवस्थामा चैत ५ गते धनकुटा, हिले बजारबाट गिरफ्तार गरिएको थियो । उहाँहरूलाई चैत २९ गते जिल्ला प्रशासन कार्यालयले निर्दोष सावित गर्दै रिहा गर्यो । तर प्रहरीले तत्काल पुनः गिरफ्तार गरेर हिरासतमा राखेको छ । सरकार आफैले आफ्नो संविधान, कानुन र न्यायिक निकायसमेतको धज्जी उडाएको छ । त्यसले देशलाई जबर्जस्ती द्वन्द्वतिर धकेलिरहेको छ ।’