रबर उद्योग संचालन गर्न संरचना र कर्मचारी दुबै फेर्नुपर्छ : उद्योग मन्त्रालय

रबर उद्योग संचालन गर्न संरचना र कर्मचारी दुबै फेर्नुपर्छ : उद्योग मन्त्रालय


छविलाल बगाले
गोरखकाली रबर उद्योग नेपालकै पहिलो रवर उद्योग हो । तर यो यतिबेला जीवन मरणको दोसाँधमा छ । स्थापनाकालदेखि नै सरकारको मुख ताक्न बाध्य यो उद्योग आफ्नै लागत खर्च र पुँजीको अभाबले उठ्न नसक्ने गरी थलिन पुगेको छ ।

नेपालकै एक मात्र रबर उद्योग गोरखकाली रबर उद्योग पूर्ण रुपमा बन्द छ । पुँजीको अभाव, अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न नसकेको र सधैजसो हुने मजदुरहरुको बन्द हडतालका कारण उद्योग थलिन पुगेको हो । गोरखा नगरपालिकाको देउरालीमा ६ सय ७० रोपनीमा सञ्चालित रबर उद्योग विगत ३ वर्षदेखि बन्द छ । उद्योग पूर्ण रुपमा थलिएपछि कुनैबेला कामको चापले फुर्सद नपाउने कर्मचारी र मजदुर अहिले हाजिर मात्र गरेर घर फर्कन बाध्य छन् । २०४१ सालमा स्थापना भएको उद्योग सञ्चालनको लागि पटक पटक प्रयास भएपनि उद्योग बन्द हुँदा संचित नोक्सानी २ अर्ब नाघेको उद्योगका महाप्रवन्धक दिनेशकुमार बर्तोला बताउँछन् ।

१२ दिनलाई पुग्ने १० करोड बराबरको कच्चा पदार्थ भएपनि उद्योग दीर्घकालीन रुपमा चलाउने भन्दै उत्पादन बन्द गरिएको छ । महिनामा मुश्किलले ७ देखि ८ दिनसम्म उद्योग संचालन गरेर कर्मचारीलाई तलव भत्ता बाँड्ने बाहेक अन्य कुनै काम उद्योगबाट हुन सकेको छैन् । तीन बर्षसम्म उद्योग नचलेपछि कार्यरत २ सय ४१ कर्मचारीले विगत २६ महिनादेखि तलव पाएका छैनन् । कर्मचारीहरु स्वेच्छिक अवकाशमा जान चाहेपनि उद्योगले पुँजी अभावमा अहिलेसम्म पठाउन सकेको छैन् । स्वेच्छिक अवकाशमा पठाउनको लागि उद्योगलाई २ अर्ब बढि रकम आवश्यक पर्नेछ ।

उद्योगले कर्मचारी तलव भत्तावापत २० करोड र विद्युत प्राधिकरणलाई २३ लाख तिर्न बाँकी छ । ०५६ सालमा पैसा नभएर उद्योग सञ्चालनमा समस्या देखिएपछि तत्कालीन सरकारले ऋण सहयोग गरेको थियो । उद्योग मन्त्रालयका प्रवक्ता गोपीकृष्ण खनालले अहिलेकै संरचनामा रबर उद्योग संचालन गर्न नसकिने भन्दै पुराना कर्मचारी र पुराना संरचना हटाएर नयाँ ढंगले अघि बढ्नुपर्नेमा जोड दिए ।

नयाँ व्यवस्थापनसहित उद्योग पुनः सञ्चालन गर्न करिब दुई अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । रवर उद्योग टायर उत्पादनभन्दा राजनीतिक गर्ने थलोको रुपमा विकास भएपछि उद्योगको अवशान हुन पुगेको हो । सरकारले पुराना उद्योगहरुलाई पुर्नजीवन दिने अभियान चलाउँदा गोरखकालीमा पनि ध्यान पु¥याउन आवश्यक देखिएको छ ।