६ वर्षपछि एउटै स्टेजमा देखापर्दै फिरोज र एड्रियन

६ वर्षपछि एउटै स्टेजमा देखापर्दै फिरोज र एड्रियन


– राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

नेपालको चर्चित सांगीतिक ब्याण्ड ‘१९७४ एडी’को नाम नसुन्ने वा यस ब्याण्डको सांगीतिक सिर्जनामा नझुम्ने कमै सङ्गीतप्रेमी नेपाली होलान् । देश–विदेशसम्म आफ्नो गौरवमय साङ्गीतिक उपस्थिति जनाएको यो ब्याण्डमा बीचको समय केही अवरोध पनि आएकै हो । तर पनि यस ब्याण्डका सदस्यहरूकोे सांगीतिक यात्रा भने रोकिएन ।

यस ब्याण्डका दुई चर्चित हस्ती फिरोज स्याङ्देन र एड्रियन प्रधान निकै समय एकसाथ कार्यक्रममा देखिएनन् । करिव ६ वर्ष अवधिभर यी दुई छुट्टाछुट्टै रूपले दर्शक–श्रोता माझ प्रस्तुत भए । यी दुईलाई एकसाथ हेर्न या दुबैलाई सँगै स्टेजमा उतार्न धेरैले कोशिश पनि नगरेका होइनन्, तर यस्ता प्रयासहरू असफल बन्न पुगे ।

तर अन्ततः यो चर्चित जोडीलाई एकसाथ साङ्गीतिक स्टेजमा उतार्ने सफलता हात पारेको छ, अष्ट्रेलियामा रहेको सांगीतिक कार्यक्रमहरूको आयोजना गर्ने समूहले । यस जोडीलाई अष्ट्रेलियामा ‘हो र होइन होला‘ इभेन्टसको साथमा नमस्ते इन्टरटेनमेन्ट र रोटेपिङ इन्टरटेनमेन्टले प्रस्तुत गर्न लागेको हो । फिरोज र एड्रियनको जोडी ६ बर्षपछि एकसाथ स्टेजमा देखा पर्न लागेको हो ।

यो जोडीले अष्ट्रेलियाका विभिन्न शहरहरू, जुलाई २१ मा पर्थ, २४ मा ब्रिजबेन, २७ मा एडिलेट, २९ मा मेलबर्नका साथै अगस्ट ४ का दिन सिड्नीमा सांगीतिक प्रस्तुति दिने जानकारी दिइएको छ ।

द ओर्जिनल डुओ सांगीतिक कार्यक्रमको टिकट पनि बिक्री शुरू भैसकेको छ । यसबारे जानकारी दिँदै रोशन भट्टराइले भने, ‘कलाकारहरूको क्रेजका कारण र नयाँ सालको अवसर पारेर सिड्नीबासी नेपालीहरूको आग्रहमा टिकट बिक्री शुरू गरेका हौँ ।’ भट्टराईले कार्यक्रममा यी दुइको साथमा नेपालका अन्य चर्चित कलाकारहरू पनि समेटिने जानकारी दिए ।

यसैबीच अष्ट्रेलियामा नेपालीहरूले नयाँ वर्ष २०७५ विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाए । चैत ३० रात्री समयबाट शुरू भई बैशाख १ गते सकिएको ‘एस पिपुल स्टडी नयाँ बर्षको सँगालो’ नामक कार्यक्रम चर्चामा रह्यो । उक्त कार्यक्रम सिड्नीको आइभी बारमा निकै धमाकाका साथ भएको थियो । कार्यक्रममा पन्ध्र सय हाराहारीमा नेपाली युवायुवतीहरूको जमघट रहेको थियो ।