महिला र बालबालिकासम्बन्धी अपराधबारे प्रहरी गम्भीर

महिला र बालबालिकासम्बन्धी अपराधबारे प्रहरी गम्भीर


महिला तथा बालबालिकासम्बन्धी हुने अपराधको विषयमा थप संवेदनशील भएर अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रहरीले जोड दिनुपर्ने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन् । उपत्यकास्थित प्रहरी कार्यालयहरूमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिने क्रममा नवनियुक्त महानिरीक्षक खनालले मानव बेचबिखन, गुण्डागर्दी, लागूऔषध लगायतमा संलग्न अपराधीलाई तत्काल कानूनी दायरामा ल्याउन प्रहरी कर्मचारीहरूले निर्भिक र निडर भई निष्ठाकासाथ काम गर्नुपर्ने बताएका हुन् ।

नेपाल पुलिस क्लब भृकुटीमण्डपमा भेला भएका प्रहरी अधिकारीहरूलाई निर्देशन दिँदै उनले राष्ट्र र नागरिकको अपेक्षा अनुरुप आफ्नो व्यावसायिक ज्ञान, सीप र दक्षताको उच्च प्रयोग गर्दै पूर्ण इमानदारिताका साथ काम गरी उत्कृष्ट कार्य सम्पादन गर्नुपर्नेमा जोड दिए । महानिरीक्षक खनालले नयाँ वर्षसँगै नयाँ जोश र उमङ्गकासाथ काम गरी तत्काल नतिजा देखाउनुपर्ने उल्लेख गरे ।

संगठनले सुम्पेको दायित्वलाई दृढ संकल्पकासाथ पुरा गर्न उपलव्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै उच्च मनोबल सहित अगाडि बढ्न निर्देशन दिएका खनालले असहाय पीडितको गुनासोप्रति चासो दिनुपर्ने, घटनाप्रति मुकदर्शक हुन नहुने र दोषीलाई तत्काल कारबाही गरी कानुनको दायरामा ल्याउनुपर्नेमा विशेष जोड दिएका थिए । नागरिकलाई सेवा प्रवाह गर्ने क्रममा प्रहरी आचरण र व्यवहार उत्कृष्ट प्रदर्शन गर्नुपर्ने तथा कमीकमजोरीलाई सुधार्दै जानुपर्ने सुझाव उनको थियो ।

राज्यले सुम्पेको गहन जिम्मेवारी तथा दायित्व निर्वाह गर्ने क्रममा आइपर्ने चुनौती र बाधा अड्चनको सामना गर्दै संगठनको छविलाई थप उचाईमा लैजान प्रहरी कर्मचारीहरूमा अझै मिहिनेत र लगनको आवश्यकता रहेको चर्चा गर्दै उनले प्रहरी संगठनको सुदृढिकरण, संरचनागत सुधार, प्रहरी कर्मचारीको वृत्तिविकास तथा सेवा–सुविधाप्रति संगठन सदैव संवेदनशील रहेको दाबी गरे ।