जापानी सहयोगको आश्रयस्थल हस्तान्तरण

जापानी सहयोगको आश्रयस्थल हस्तान्तरण


जापान सरकारको सहयोगमा निर्मित कल्लेसरी आश्रय–सामुदायिक केन्द्र उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ ।

पूर्व शिक्षामन्त्री तथा हिमालय कन्जरभेसन ग्रुप नेपाल (एचसिजी)का अध्यक्ष डा गंगालाल तुलाधर र नेपालका लागि जापानका राजदूत मासासी ओगावाले आइतबार संयुक्तरुपमा स्थानीय उपभोक्ता समितिलाई केन्द्रको साँचो हस्तान्तरण गरेका हुन् ।

सो आश्रय जापान सरकारको ७९ हजार ७६१ अमेरिकी डलर अर्थात् करीव रु ८५ लाख सहयोगमा हिमालय कन्जरभेसन ग्रुप नेपाल (एचसिजी) अन्तर्गतको ग्रासरुट सेक्युरिटी प्रोजेक्टले निर्माण गरेको थियो ।

हस्तान्तरण भएको आश्रयस्थलको एउटा ठूलो हल र दुई कोठाको भण्डारण, एउटा बैठक कक्ष, एउटा कार्यालय र शौचालय रहेको नेपालस्थित जापानी राजदूतावासले जनाएको छ ।

उक्त भवन स्थानीयबासीले विविध प्रयोजनका लागि प्रयोग गर्न सक्नेछन् । एचसिजी काठमाडौँ आधारित गैरसरकारी संस्था हो जसले ग्रामीण क्षेत्रमा आश्रयस्थल निर्माण गर्दै आएको छ । यस्ता आश्रयस्थल आपत्कालीन अवस्थामा स्थानीय जनताले प्रयोग गर्न सक्नेछन् ।

धादिङको गल्छी गाउँपालिका अर्थात् साविकको कल्लेरी गाविसमा विसं २०७२ को भूकम्पले अधिकांश घर भत्काएको थियो भने १४ जनाको मृत्यु भएको थियो ।

त्यस क्षेत्रका बासिन्दाले सुरक्षित बसोबास पाउन सकेका छैनन् । सामूहिक कृषि क्रियाकलाप हुन नसक्दा यहाँ चरम गरिबी रहेको छ भने आगामी दिनमा उनीहरुको जीवनस्तरमा सुधार हुने विश्वास लिइएको छ ।