स्वास्थ्यकर्मी सङ्घमा अस्वस्थ क्रियाकलाप

स्वास्थ्यकर्मी सङ्घमा अस्वस्थ क्रियाकलाप


पब्लिक सर्भिस इन्टरनेशनलको आबद्धता लिएको नेपाल स्वास्थ्यकर्मी सङ्घमा रामजी घिमिरेको एकछत्र तानाशाही चलेको आरोप छ । सङ्घलाई विदेशबाट आउने रकम जति घिमिरेले व्यक्तिगत खातामा राख्ने र कोषाध्यक्ष शंकर कँडेललाई जानकारी नदिई जथाभावी खर्च गर्ने गरेको भनी सम्बन्धित सदस्यहरूबीच चर्चा चल्ने गरेको छ । पिएसआईबाट आउने अन्तर्राट्रिय भ्रमणमा रकम लिएर उनले मानिस पठाउने गरेका आरोपसमेत लाग्ने गरेको छ ।

सम्बद्ध कर्मचारीहरूका अनुसार स्वास्थ्यकर्मी सङ्घको अध्यक्ष हुनाले सो नाम भजाएर स्वास्थ्य सेवा विभागमा निर्देशकहरूसँग मिलेर परियोजना लिने, फर्जी बिल बनाएर रकम खाने उनको प्रवृत्ति छ । हालै राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र टेकुबाट तत्कालीन निर्देशक बद्रीबहादुर खड्कासँग मिलेर सामुदायिक सचेतनासम्बन्धी ठूलो रकम फर्जी बिल बनाएर उनले लिएका छन् । केही समयअघि धनुषामा सचेतना कार्यक्रम गरेर प्रदेशभेलाको नाम दिइयो । प्रदेश २ का साथीहरूले सरुवा–बढुवामा जथाभावी पैसा खाएको भनेर देवराज लामिछाने, रामजी घिमिरेलगायतको कडा विरोध गरेका थिए ।

नेपाल स्वास्थ्यकर्मी सङ्घ काठमाडौंको विधानविपरीत उनले अधिवेशन गराएका छन् । नेपाल ट्रेड युनियन काङ्ग्रेसबाट लाखौँ लिएर सिद्धार्थ फूडल्यान्ड पुरानो बानेश्वरमा भोजभतेरसहित बाहिरी अनधिकृत मानिस बोलाएर नाम मात्रको अधिवेशन सम्पन्न गरिएको छ । निर्वाचनको विधि र प्रक्रियामा प्रवेश नै नगरी गणेश केसीलाई अध्यक्ष घोषणा गरेका छन् । हालसम्म सङ्घको विधान पारित भएको छैन तर टीका लगाएर अध्यक्षको छनोट गरिएको छ ।

आफूलाई श्रमजीवीको नेता भन्ने घिमिरेले जनस्वास्थ्य विकास केन्द्रको नाममा सञ्चालित परियोजनमा विनोद जोशीलगायत कर्मचारीहरूको एक वर्षको तलब हालसम्म दिएका छैनन् । हालै फ्रान्समा भएको पिएसआइको सामाजिक सुरक्षासम्बन्धी कार्यशालामा मीरा नेपाल अथवा भगवती घिमिरेलाई पठाउने महिला कोटामा आफै सहभागी भएर जान उनले अप्ठ्यारो मानेनन् ।

आफूलाई बीपीका अनुयायी भन्छन् तर काठमाडौंमा भएको अधिवेशनमा बीपीको फोटो समेत राखिएन । महाधिवेशन प्रतिनिधि बनाउने भन्दै प्रतिव्यक्ति पच्चीस सयका दरले रकम उठाएर त्यसमा समेत पारदर्शिता नअपनाएको अभियोग उनीमाथि लागेको छ ।