जीवित छँदा खड्कालाई पार्टीभित्र र बाहिरबाट रोकिएको दाबी

जीवित छँदा खड्कालाई पार्टीभित्र र बाहिरबाट रोकिएको दाबी


सिड्नी (अष्ट्रेलिया)

नेपाली काङ्ग्रेसका नेता दिवंगत खुमबहादुर खड्काको तेह्रौँ पुण्यतिथिको अवसरमा नेपाली काङ्ग्रेस जनसम्पर्क समिति अष्ट्रेलियाले आज (२ वैशाख) एक श्रद्धाञ्जली सभाको आयोजा गऱ्यो । स्थानीय एस्फिल्ड पार्कमा आयोजित सो श्रद्धाञ्जली सभामा प्रजातन्त्रप्रति आस्थावान नेपाली समुदायको उपस्थिति रहेको थियो ।

जनसम्पर्क समिति अष्ट्रेलियाका कार्यवाहक अध्यक्ष छिरिङ तेन्जी शेर्पाको सभापतित्वमा संचालित सो कार्यक्रमका वक्ताहरूले स्वर्गीय खड्काले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुऱ्याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा लेखक तथा पत्रकार डिल्ली ढकालले काङ्ग्रेसी कार्यकर्ताका माझ स्वर्गीय खड्काको लोकप्रियता नै उहाँ स्वयमका निम्ति अभिषाप भएको बताउँदै उहाँलाई सिध्याउन लाग्नेहरू नै अन्तिम अवस्थामा उहाँको शरणमा पुगेको तर्क गर्नुभयो । राजा ज्ञानेन्द्र र गिरिजाप्रसादको कोपभाजनमा परेको सङ्केत गर्दै खड्काको राजनीति समाप्त पार्ने र तेजोबध गर्ने कार्य भएको उहाँको भनाई थियो ।

कार्यक्रमका अर्का वक्ता नेपाली काङ्ग्रेसका महासमिति सदस्य कञ्चन पोख्रेलले बीपी कोइरालाको विचारसँग स्वर्गीय खड्काको सोचशैली मेल खाने भएकोले नै बीपी राष्ट्रिय मेलमिलापको नीति लिई स्वदेश फर्कंदा उहाँलाई साथमा लिई आउनुभएको सन्दर्भ उप्काउनुभयो । पत्रकार सुजित सिग्देलले स्वर्गीय खड्काको जुझारुपन र कार्यकर्ताबीच भिज्न सक्ने आदतको चर्चा गर्नुभयो ।

यसैगरी, संघीय समाजवादी पार्टीका गणेश तामाङले स्वर्गीय खड्काको बहुआयामिक व्यक्तित्वको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा गैरनेपाली आवासीय संघ अष्ट्रेलियाका निवर्तमान अध्यक्ष सुरेन्द्र सिग्देलले खड्काको असमायिक निधनले नेपाली काङ्ग्रेसमा मात्र अपुरणीय क्षति भएको नभइ सिङ्गो राष्ट्रले एउटा स्पष्ट जुझारु नेता गुमाएको बताउनुभयो ।

नेपाली काङ्ग्रेसका महासमिति सदस्य विश्वामित्र खनालले सञ्चालन गर्नुभएको सो शोकसभामा कार्यक्रमका सभापति छिरिङ तेन्जी शेर्पाले नेपाली काङ्ग्रेसले एउटा एक्सन ओरिएन्टेड तथा विचारका प्रवर्तक गुमाउनुका साथै उहाँ जिवित छँदा पार्टी तथा बाहिरवाटै रोक्ने कामले नेपालमा प्रजातन्त्र कमजोर भएको दाबी गर्नुभएको थियो ।