सडक सवारीविहीन भएपछि आन्दोलनको तयारीमा स्थानीय

सडक सवारीविहीन भएपछि आन्दोलनको तयारीमा स्थानीय


मुक्तिनाथ भुसाल

शीतगंगा नगरपालिका (अर्घाखाँची)को चाक्ला गल्दा मोटरबाटोमा सवारी साधनको माग गर्दै स्थानीयवासी आन्दोलनमा उत्रिने तयारीमा लागेका छन् । पटक पटक गरी करिव १३ करोड रुपैयाँ खर्च भइसकेको साढे नौ किमी कच्ची सडकमा विगत ४ वर्षदेखि यातायातका साधन सञ्चालनमा नआएको स्थानीयको गुनासो छ ।

झन्डै ३ सय १५ घरधुरीलाई पायक पर्ने उक्त क्षेत्रमा बस, जिपलगायतका सवारीसाधन सञ्चालनका लागि सरोकारवाला निकायसँग बारम्बार माग गर्दा सुुनुवाई नभएकोले स्थानीय वासिन्दाको मागका पक्षमा आफू आन्दोलनमा उत्रिने वडासदस्य ठगिश्वर भुसालले बताए । मोटरबाटो भएर पनि सवारी साधनको अभावका कारण समयमा अस्पताल पुग्न नसक्दा धेरैले अकालमा ज्यान गुमाउनुको अलावा आफुहरुले उत्पादन गरेको समान बजारसम्म पुर्याउन नसकेको पीडा स्थानीय सीता अधिकारीले व्यक्त गरिन् ।

चाक्ला गल्दा मोटरबाटो तुलनात्मक रुपमा ४ किलोमिटर मात्रै घुमाउरो मानिए पनि यो सडकलाई विवेकसम्मत ढंगले उपयोग गर्ने हो भने लामो दुरीका लागि कोसेढुङ्गा सावित हुने देखिन्छ । यो सडकबाट धनचौर, डेभा, ढिकुरा हुँदै जिल्लाको सदरमुकाम पुग्न सकिनुको अलावा प्युठान जिल्लाका लागि समेत सडक उपयोग गर्न सकिन्छ । तत्कालिन अवस्थामा कपिलवस्तुको बनगाई डोहोटेदेखि जिल्लाको माझीदमारका लागि छुट्ने गरेको दैनिक एउटा बस चाक्लादेखि गल्दाबाट सञ्चालन गर्ने हो भने दुवै पक्ष लाभान्वित हुने देखिन्छ ।

प्रशस्त सम्भावना बोकेको यो सडकमा यातायातका साधन सञ्चालनका लागि आफुले हालसम्म गरेको प्रयास असफल बनेको सम्बन्धित वडाका अध्यक्ष कमल पौडेल दुःखेसो गर्छन् । यसै प्रसंगमा शितगंगा नगरपालिकाका नगरप्रमुख सूर्यप्रसाद अधिकारीसँग जिज्ञाशा राख्दा आफ्नो टोलमा मोटरबाटो भएर पनि सवारी साधन उपयोग गर्ने बन्चित बनेका गल्दावासीहरुको पक्षमा आफु रहेको भन्दै चाँडोभन्दा चाँडो बस तथा जिप व्यवसायीसँग सम्वाद गरी समस्या समधान गर्ने जानकारी मिल्यो ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले गल्दावासीको समस्याले आफू अत्यन्तै दुःखी बनेको भन्दै यसभन्दा अगाडि पनि आफुले सकारात्मक पहल गरेको तर सफलता हासिल नभएको बताए । पुनः एकपटक यातायात व्यवसायीहरुसँग सम्वाद गरी लामो दूरीको रुट बनाएर भए पनि गल्दावासीको समस्या समधानका लागि आफूले प्रयत्न गर्ने उनको भनाई छ ।