मुगुकी थिल्नेलाई प्रधानमन्त्रीबाट अभिभावकत्व प्रदान

मुगुकी थिल्नेलाई प्रधानमन्त्रीबाट अभिभावकत्व प्रदान


दुई वर्षभित्र मुलुकबाट निरक्षरता हटाउने अभियानको घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सो अभियानको शुरुवात बालबालिकालाई आफैले हात समाई विद्यालय भर्ना गराएर गर्ने उदघोष निकै अघि गरेका थिए । उक्त प्रतिबद्धता प्रम ओलीले मुगु पुगेर पूरा गरेका छन् । मुगुको मुगुम कार्मारोंग गाउँपालिका–८ निवासी ६ वर्षीया छात्रा थिल्ने साङ तामाङले प्रधानमन्त्रीको हातबाट विद्यालय भर्ना हुने अवसर पाएकी छिन् ।

नयाँ वर्षको शुभकामना सन्देश राराबाट गर्ने योजना लिएर मुगु पुगेका प्रधानमन्त्रीले विद्यार्थीलाई विद्यालय भर्ना गराउने अभियानको आरम्भ त्यहीँबाट गरेका हुन् ।

मुगुम कार्मारोंगका छिजु तामाङ र कार्मा टोन्डु लामाका छोरी थिल्ने साङलाई स्थानीय बुद्ध मावि मांग्रीमा भर्ना गराउँदा प्रधानमन्त्री ओली प्रफुल्ल देखिन्थे भने उनले काखमा लिएर स्नेह दर्शाउँदा अबोध बालिका चकित र थोरै डराएजस्तै देखिन्थिन् ।

विसं २०६८ चैत १९ गते जन्मेकी तामाङले आफूलाई देशकै प्रधानमन्त्रीको अभिभावकत्व मिलिरहेको छ र यसले आफ्नो जीवनमा कति ठूलो महत्व राख्छ भन्ने त अहिले केही बुझेकी छैनन् । तर, छात्राको अभिभावकत्व ग्रहणको पुस्तिकामा हस्ताक्षर गर्दै उनलाई विद्यालय पोशाक र पुस्तक प्रदान गर्दै गर्दा प्रधानमन्त्री ओली भने एउटा ठूलै जिम्मेवारी निर्वाह गरिरहेको भावमा देखिए ।

सोही अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि छेरिङ छोन्तोम लामालाई बुद्ध माविमा भर्ना गरिन् । स्थानीय कार्मा नाम्ग्याल लामा र टोमा लामाको कोखबाट २०६७ माघ १७ गते जन्मिएकी छेरिङको अभिभावकत्व पनि प्रमपत्नी शाक्यले ग्रहण गरेकी छन् ।

ज्ञातव्य छ, प्रधानमन्त्रीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गर्दै एक व्यक्तिले कम्तीमा एकजना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना अभियानमा सघाउन अपिल गरेका छन् ।

तस्बिर रासस