‘वैशाख ९’मा एकता घोषणा हुनेमा आशङ्का

‘वैशाख ९’मा एकता घोषणा हुनेमा आशङ्का


यही वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापनाको अवसर पारेर हुने भनिएको एमाले–माओवादी केन्द्रबीचको एकता उक्त दिन पनि घोषणा हुन नसक्ने सङ्केत एमालेका वरिष्ट नेता झलनाथ खनालले गरेका छन् । सञ्चारमाध्यममार्फत अभिव्यक्ति सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले ‘९ गते एकता गर्ने भनिएको हो, तर प्रक्रिया मिलाउँदै जाँदा समय अपुग भए पछि सर्न पनि सक्ने’ बताए । खनालले यसअघि ९ गतेको मिति नसर्ने दाबी गर्दै आएका थिए ।

आफूलाई एमाले–माओवादी एकताको कट्टर समर्थक पात्रका रूपमा चित्रित गर्दै आएका नेता खनालको अभिव्यक्तिबाट वैशाख ९ गते एकता घोषणा हुन सक्ने सम्भावना टरिसकेको स्पष्ट सङ्केत मिलेको छ ।

यसअघि नेता खनालले नेकपा (माओवादी केन्द्र) सँग ५०–५० प्रतिशत भागबण्डामा पार्टी एकता गर्ने कुनै सहमति नभएको पनि बताएका थिए । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले दुवै पार्टीका अध्यक्षबीच आपसी समानता र सहमतिका आधारमा पार्टी एकता हुने हो अरू बाँकी सबै सञ्चारमाध्यमको हल्ला मात्र भएको बताएका हुन् ।

दुवै पार्टीबीच एकता अगाडि र पछाडि कुनै लिखित सम्झौता नभएको र नहुने बताउँदै एकतापछि पार्टीका हालका लागि दुई अध्यक्ष हुने अरू संगठनमा आपसी समझदारी चयन गर्ने उनको भनाई थियो ।