गृहमन्त्री बादललाई जब राजदूतले दिए तरबार उपहार !

गृहमन्त्री बादललाई जब राजदूतले दिए तरबार उपहार !


नेपालमा रहेका शिख समुदायको अधिकारको रक्षा र सुरक्षाको विषयमा सरकार गम्भीर रहेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । ललितपुरको कुपण्डोलस्थित गुरुद्वारामा शनिबार गुरु नानक सत्सङ व्यवस्थापन समितिले नयाँ वर्ष २०७५ तथा शिख गुरु खाल्साको जन्मजयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री थापाले सुरक्षाको मामलामा ढुक्क भएर आफ्ना गतिविधि गर्न शिख समुदायलाई आग्रह गरे ।

अंग्रेज विरुद्धको लडाइँमा भारतका रञ्जित सिंह र नेपालका तत्कालीन राजाबीच सहकार्य भएको इतिहास रहेको उलैेख गर्दै गृहमन्त्री थापाले नेपालको स्वाधीनताका लागि शिख समुदायले खेलेको भूमिका महत्वपूर्ण रहेको तर्क गरे ।

विगतमा नेपालमा ठूला सवारी साधन भित्र्याउने तथा व्यापार-व्यवसायमा शिख समुदायले अग्रणी भूमिका खेलेको समेत चर्चा गर्दै मन्त्री थापाले बालाजुमा शिख समुदायले पाउने भनिएको जग्गाको विषयमा आफूले पहल गर्नेसमेत स्पष्ट पारे ।

सोही कार्यक्रममा उपस्थित एमाओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले नेपालको विकासमा शिख समुदायले खेलेको भूमिका महत्वपूर्ण रहेको चर्चा गरिन् भने नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले नेपाल र भारतको सम्बन्धलाई थप मजबुत बनाउन शिख समुदायकोे पनि महत्वपूर्ण योगदान रहेको धारणा राखे । सो अवसरमा गृहमन्त्री रामबहादुर थापालाई राजदुत पुरीले शिखहरुको चिनो तरबार हस्तान्तरण गरेका थिए ।

आयोजक संस्थाका अध्यक्ष प्रितम सिंहले बालाजुमा शिख समुदायले पाउने भनिएका जग्गा अहिलेसम्म नपाएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । प्रितम सिंहको गुनासो सम्बोधन गर्दै गृहमन्त्री थापाले सो जमिन उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।

तस्बिर रासस