दिल्लीभ्रमणपछि प्रशन्न प्रधानमन्त्री !

दिल्लीभ्रमणपछि प्रशन्न प्रधानमन्त्री !


राजकीय भ्रमणको क्रममा मित्रराष्ट्र भारतबाट पाएको स्वागत–सत्कारको गह्रौँ भारी बोकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । छिमेकी भारतले उच्चतहका पाहुनाको रूपमा गरेको खातिरदारीका कारण प्रधानमन्त्रीको भारत भ्रमण उत्तिकै चर्चामा छ, जति चासो र चर्चा भ्रमणअघि भएको थियो । प्रधानमन्त्री ओलीलाई फकाउने रणनीति भारतले अख्तियार गरेको टिप्पणी भ्रमणअगावै सचेत तहबाट जो गरिएको थियो, त्यो केही हदसम्म प्रस्टियो भ्रमणका क्रममा दिल्लीले दर्शाएको व्यवहारबाट । तर, प्रधानमन्त्रीको यो भ्रमण–सन्दर्भलाई कुनै व्यक्तिविशेषलाई फकाइएको र फकिएको रूपमा मात्र सीमित गर्न भने सकिँदैन । नेपाल–भारतबीच रहँदै आएको सदियौँको सम्बन्धमा यसपटकको भ्रमणले विशेष अर्थ र महत्व बोकेको छ भन्दा अत्युक्ति ठहरिने छैन । किनकि, भारतले आफ्नो विदेशनीतिमाथि नै पुनरावलोकन गर्ने, छिमेकीहरूप्रतिको नीति र खासगरी नेपालसँगको सम्बन्धलाई नयाँ ढङ्गबाट अघि बढाउने सोच बनाएको उच्च कूटनीतिक तहमा यतिबेला यत्तिकै चर्चा शुरु भएको होइन ।

प्रधानमन्त्री ओलीको स्वभावसँग परिचित मोदीले द्विपक्षीय छलफलको आरम्भमै ओलीलाई अनौपचारिक तवरले आफ्ना धारणा राख्न आग्रह गर्नुका पछाडि भारतीय प्रधानमन्त्रीको ‘सेन्स अफ ह्युमर्स’ले मात्र काम गरेको नभई उनको उच्च कूटनीतिक क्षमता दर्शिन पुगेको छ । मोदीको उक्त खुलस्त प्रस्तावले ओलीलाई निकै सहज तुल्याइदियो । भ्रमणका क्रममा भारतीय पक्षससँग प्रधानमन्त्री ओलीले पटक–पटक आफू ‘कूटनीतिमा कमजोर तर प्रस्टवक्ता’ रहेको भन्दै सोझै कुरा राख्ने बताएका सन्दर्भ यहाँनेर उल्लेखनीय छ । मोदीले ‘अनौपचारिक’ रूपमा कुरा राख्न आग्रह गर्नुको तात्पर्यसँग ओलीको सोही अभिव्यक्ति जोडिन आउँछ । जे होस्, भारतसमक्ष निर्धक्क अडान प्रस्तुत गर्न सक्ने ‘हक्की’ पात्रको छवि बनाएका केपी ओलीलाई आफ्नो सो छवि जोगाउन निकै सहज तुल्याइदियो मोदीको उक्त आग्रहले ।

नयाँ सहमति नगर्ने तथा सहमति भएर पनि समयमै शुरु हुन नसकेका आयोजनाबारे सवाल उठाउने त प्रधानमन्त्री ओलीको घोषित एजेण्डा नै थियो । त्यसमा उनी चुक्नु नपरेको दाबी यतिबेला गरिँदै छ । ‘नसक्ने काम–कुरा सक्छौँ या गर्छौँ नभनौँ, गर्छु भनेर काम पूरा नगर्दा भारतलाई नेपाल र नेपालीले कसरी बुझ्लान् ?’– प्रधानमन्त्री ओली भारतीय पक्षसँगको वार्तामा यसरी प्रस्तुत भए भनिएको छ । संयुक्त पत्रकार सम्मेलनका क्रममा भारतका प्रधानमन्त्री मोदीबाट ‘आपसी सम्बन्ध र भारतीय सहयोगका विभिन्न परियोजनाबारे म पनि गम्भीर भएको छु’ भन्ने अभिव्यक्ति आउनु ओलीको उक्त बोलीकै उपज नहोला भन्न सकिन्न । भ्रमणको आखिरी दिन जारी १२ बुँदे संयुक्त वक्तव्यभित्र समेटिएका जलमार्ग, रेलमार्ग र कृषिका काम आरम्भ गर्नेसम्बन्धी सहमतिमा समय–सीमा तोकिनुलाई प्रधानमन्त्री ओलीको विशेष सफलता नै मान्न सकिन्छ । यसपटकको आफ्नो भारत भ्रमण अत्यन्त सार्थक, सफल र महत्वपूर्ण रहेको तथा भारतसँग नेपालको सम्बन्धमा नयाँ आयाम आएको ओली–अभिव्यक्तिलाई पक्कै पनि नजरअन्दाज गर्न सकिँदैन ।

यसका बाबजुद भारतीय पक्षसमक्ष नउठाई नहुने केही विषय छुटाएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरिएको छ । बोआओ सम्मेलनकै अवसर पारेर तोकिएको भ्रमणको मिति अनजानवश स्वीकार गरिएको कि जानाजान यस्तै रणनीति अवलम्बन गरिएको भनी सत्ता–सहयात्री माओवादी केन्द्रका नेताहरूले ओलीसमक्ष सवाल तेस्र्याएका छन् । ओलीबाट भारतलाई खुसी पार्दै चीन चिढ्याउने कार्य भएको भन्ने अतिरञ्जनापूर्ण प्रचार पनि शुरु गरिएको छ । निकट भविष्यमै पार्टी एकीकरण गर्न तत्पर रहेको भनिएका सहयात्री पक्षबाटै यसरी सङ्गीन सवाल उठाइनु, सचिवहरूको सरुवामा माओवादी केन्द्रका मन्त्रीहरूलाई समेत सुइँको नदिएको भन्दै बखेडा शुरु गरिनु प्रधानमन्त्री ओलीका लागि शुभसङ्केत होइनन् । व्यक्तिगत स्वार्थसिद्धि एवम् रणनीतिक लाभका लागि पार्टी एकता र सत्ता–साझेदारी गरेका प्रचण्ड यसै पनि ओलीको शिरमाथि झुण्डिएको तरबारसरह हुन् भन्ने ठानिएको छ । यस्तोमा थोरै मात्र चुक हुनु ओलीका निम्ति प्रत्युत्पादक हुन सक्छ, जसको नकारात्मक असर सिङ्गो मुलुकर मुलुकवासीमा पर्न सक्छ ।

अन्तमा, वि.सं. २०७४ को बिदाइ तथा नयाँ वर्षको स्वागतमा उल्लसित समस्त नेपालीलाई मुलुकको राजनीतिले अब पीडा होइन सुन्दर र समृद्ध भविष्यको नवीन आशा जागृत गराउन सकोस्, हाम्रा पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक एवम् समस्त दाजुभाइ–दिदीबहिनीमा नयाँ वर्षको शुभकामना ।