अमेरिकाद्वारा सिरियामाथि हमला

अमेरिकाद्वारा सिरियामाथि हमला


अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायत र फ्रान्सको साथ लिएर सिरियामाथि आक्रमणको अनुमति दिएका छन् । गत साता सिरियाको दुमामा भएको कथित रासायनिक हमलाको प्रतिक्रियास्वरुप सिरियामाथि आक्रमण गरिएको उनले बताएका छन् ।

राष्ट्रपति ट्रम्पले देशको नाममा दिएको सन्देशमा भनेका छन्– ‘फ्रान्स र युनाइटेड किङ्गडमका सशस्त्र सेनाहतको साथ एक सशस्त्र अपरेशन चलिरहेको छ ।’

सिरियाको राजधानी दमिस्कनजिक विष्फोटका आवाज सुनिएको एजेन्सीहरूले जनाएका छन् ।

बेलायती प्रधानमनत्री टेरिजा मेले यस आक्रमणमा बेलायत सामेल भएको पुष्टि गर्दै बल प्रयोगविना अरु कुनै व्यवहारिक विकल्प नदेखिएको अभिव्यक्ति दिएका छन् । उनले यस हमलाको उद्देश्य सिरियाको ‘सत्ता परिवर्तन’ नभएको पनि बताएका छन् ।

ट्रम्पले चाहिँ यो हमलाको आदेश सिरियाई सरकारको ‘रासायनिक हतियार बनाउने केन्द्रमाथि’ गर्न दिइएको बताएका छन् । उनले रासायनिक हतियारको प्रयोग, प्रसार र उत्पादनमाथि अंकुश लगाउनका निम्ति कोशिस गरिएको तर्क समेत दिएका छन् ।

सिरियाली राष्ट्रपति बसर अल असदका बारेमा टिप्पणी गर्दै ट्रम्पले ‘ असद कुनै मानव नभई शैतानको अवतार हो’ भनेका छन् ।

ज्ञातव्य छ, सिरियाले आफूले कुनै रासायनिक हमला नगरेको दाबी गर्दै आएको छ । सिरियामाथिको यस हमलापछि असदको पतन हुने अनुमान एकतिर गरिएको छ भने अर्कोतिर विश्वयुद्धको आरम्भकै रूपमा समेत यस घटनालाई चित्रित गर्न थालिएको छ ।