सिंहदरबारको अधिकार गाउँमा नआएको सुनचाँदी व्यवसायीको गुनासो

सिंहदरबारको अधिकार गाउँमा नआएको सुनचाँदी व्यवसायीको गुनासो


पुनहरि बेल्बासे/रुपन्देही

राज्यले सिंहदरबारको अधिकार गाउँ गाउँमा भनेता पनि अधिकार गाउँकेन्द्रित नभएको नेपाल सुनचाँदी व्यवसायीले बताएका छन् । अधिकारको कुरा नारामा मात्रै सीमित भएको बताउँदै व्यवसायमैत्री अधिकार नभएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

रुपन्देही सुनचाँदी व्यवसायी संघको प्रथम अधिवेशन तथा तेस्रो वार्षिक साधारण सभाको अवसरमा बोल्ने वक्ताहरुले राज्यको अस्पष्ट नीतिले व्यवसायी समस्यामा परेको बताएका हुन् । देशभरी सुनचाँदी व्यवसायी महासंघका ५५ ओटा शाखा रहेको र सिजनमा दैनिक ४५ किलो सुन खपत हुने केन्द्रिय अध्यक्ष मोहन कुमार विश्वकर्माले बताए । व्यवसायीको माग अनुसार राज्यले सुन दिन नसकेको र ग्राहकको सन्तुष्टिको लागि अन्य निकायसँग सुन किनेर भएपनि व्यवसाय गर्न बाध्य रहेको गुनासो गर्दै अध्यक्ष विकले प्रदेशअनुसार सुनचाँदी व्यवसायीले पनि प्रमुख तोकेको र प्रदेशमार्फत सुन तथा चाँदी वितरण हुने बताए ।

नेपाल कृषिप्रधान देश भएको र व्यवसायिक कृषि भने नभएकोले पहिलो प्राथमिकता कृषि र दोस्रो व्यवसायमा हुने प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीको भनाई थियो । मन्त्री गिरीले नेपालमा सुनका खानी पहिचान नहुँदा अन्य मुलुकबाट आयात गर्दा नेपालको पैसा विदेशमा गरेको बताउँदै नेपाल आउने पर्यटकले नेपालका सामाग्री खरिद गर्ने गरी राज्यले नीति बनाउनुपर्ने बताए ।

राज्यको नीति स्पष्ट नहुँदा पुरानो सुन खरिद गर्दा चोरीको आरोप लाग्ने गरेको महासंघका केन्द्रिय उपाध्यक्ष दिपेन्द्र रामदामले बताए । सुनचाँदी व्यवसायीको हकहितका लागि सदैव लाग्ने बताउँदै रुपन्देहीको जिल्ला अधिवेशन प्रथम भएता पनि संस्था २०५६ सालमा स्थापना भएको केन्द्रिय उपाध्यक्ष प्रेमकुमार सेन्चुरीले बताए । राज्यले कोटा सिस्टमबाट सुन खरिद गर्दा व्यवसायीको मागअनुसार सुन नपाएको केन्द्रिय सदस्य बाबुराम विश्वकर्माले बताए । नेपाल सुनचाँदी व्यवसायी महासंघले देशमा छरिएर रहेका सबै व्यवसायीलाई केन्द्रित गर्नु पर्ने अर्का उपाध्यक्ष अर्जुन रसायलीको कथन थियो ।

सिंहदरबारको अधिकार गाउँगाउँमा भनेता पनि अहिले सम्म अधिकार नआएको बताउँदै नगरपालिकाले कालिगढ तयार गर्न योजना लिएर आएमा नगरपालिकाले सहयोग गर्ने सिद्धार्थनगर पालिकाका प्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिए । सरकारदेखि चोरडाँकासम्मको नजर सुनचाँदी व्यवसायीमा परेको बताउँदै सुनको अभावले कालोबजारी मार्फत महंगोमा सुन किनेर राज्यले तोकेको मूल्यमा बेच्न बाध्य रहेको बुटवल उपमहानगरपालिकाका अध्यक्ष दिपक विश्वकर्माले बताए ।

कार्यक्रममा रुपन्देही जिल्ला द्वितीय उपाध्यक्ष हरि विश्वकर्माको स्वागत मन्तव्य र सचिव रामकिसन विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।