कलेजोका कोषमा थुप्रिँदै छन् कि बोसो ?

जानौँ के हो ‘फ्याटीलिभर’



– डा. दिलिप शर्मा

कलेजोका कोषहरूमा ट्राइग्लीसाइड तथा अन्य वोसोजन्य पदार्थ थुप्रिनुलाई चिकित्सकीय भाषामा ‘फ्याटीलिभर’ भनिन्छ । कलेजोमा बोसोपनाको निर्धारण बोसो आउने र हट्ने प्रक्रियाको समीकरणले गर्छ । केही बिरामीमा फ्याटीलिभर सँगसँगै कलेजो सुन्निने तथा कलेजोका कोषको मृत्यु हुने अवस्था पनि देखिन्छ । यसलाई स्टिएटोहेपाटाइटिस भनिन्छ ।

कलेजोमा बोसोपना बढ्नु पछिल्लो समयमा शहरीकरणसँगै बढेको समस्या हो । यसले भविष्यमा विकराल रूप नै लिने खतरा देखिन्छ । कलेजोमा बोसोपना बढ्नु विभिन्न शारीरिक प्रक्रियाको उपज हो । फ्याटिलिभरले विशेषतः मेटावोलिक सिन्ड्रमसँग सरोकार राख्छ । मेटावोलिक सिन्ड्रम भन्नाले मधुमेह, अत्याधिक मोटोपना र ट्राइग्लिसिराइड बढ्नुलाई बुझाउँछ । केही औषधिको सेवन पनि फ्याटिलिभरको कारक बनेको हुनसक्छ । मेथोट्रेक्सट, एमियोडारोन आदि औषधिले फ्याटिलिभरलाई सहयोग गर्छन् । फ्याटिलिभर प्रायः सबै उमेर समूहमा देखिन्छ । आजभोलि ननअल्कोहलिक फ्याटिलिभर डिजिजले संसारभर नै चर्चा पाएको छ ।

फ्याटीलिभरका कारण :

फ्याटीलिभरलाई यहाँ दुई प्रकारले वर्णन गर्ने प्रयास गरिएको छ । एउटा, रक्सीजन्य पदार्थले हुने फ्याटीलिभर अर्थात् अल्कोहलिक फ्याटीलिभर । अर्को, रक्सी सेवन नगर्ने व्यक्तिमा देखिने फ्याटीलिभर अर्थात् ननअल्कोहलिक फ्याटीलिभर ।

ननअल्कोहोलिक फ्याटिलिभर डिजिज :

ननअलकोहोलिक फ्याटीलिभर शहरीया जनसंख्याको करिब २० प्रतिशतमा पाइन्छ । मोटोपना, मधुमेह, उच्च रक्तचाप, नियमित रुपमा प्रयोग गरिने केही औषधि (जस्तै स्टेरोइड, एमीयोडारोन तथा केही केमोथेरापीमा प्रयोग हुने औषधि)का कारण ननअलकोहोलिक फ्याटीलिभर देखापर्छ । जंकफुड तथा कार्वोनेटेड सफ्ट डिं«क पनि यो समस्या बढ्नुका कारण हुन् । मेटावोलिक सिन्ड्रम अर्थात् अत्याधिक मोटोपना, इम्पेरडग्लुकोज टोलरेन्स र हाइपर ट्राइग्रिलीसीरेडिमिया भएका व्यक्तिमा फ्याटीलिभर ४ देखि ११ गुणा बढी देखिन्छ ।

लक्षण :

ननअल्कोहलिक फ्याटीलिभरका बिरामीमा प्रायः लक्षण देखिँदैन । केही व्यक्तिमा पेटको दाहिने माथिल्लो भागमा अप्ठ्यारो महसुस हुनु यसको मुख्य लक्षण हो । करिब ७५ प्रतिशत जति व्यक्तिमा कलेजो ठूलो हुने लक्षण देखिन्छ । ल्याब परीक्षण गर्दा लिभर इनजाइम एएलटी र एएसटी बढेको देखिन्छ । रोग बढ्दै गएर फाइब्रोसिस हुने र केहीलाई लिभर सिरोसिस हुन लागेको भए एएलटी र एएसटी कम हुन्छ ।

अल्ट्रासाउण्ड, सिटिस्क्यान, एमआरआईजस्ता रेडियो इमेजिङ टेक्नोलोजीबाट ननअल्कोहलिक फ्याटीलिभर पत्ता लगाउन सकिन्छ । आजभोलि फाइब्रोस्क्यान प्रविधिबाट कलेजोको कडापन मापन गरेर फाइब्रोसिसको अवस्था निर्धारण गर्ने गरिन्छ । हाम्रो देशमा पनि काठमाडौंको सेन्टर फर लिभर डिजिजमा यो सुबिधा उपलब्ध छ । जुन परीक्षणको मद्दतले ननअल्कोहोलिक लिभरका बिरामीलाई फाइब्रोसिस तथा सिरोसिस् हुनबाट समयमै बचाउन सकिन्छ ।

लिभर वायोस्पी गरेर कलेजोको सुजन तथा फाइब्रोसिसको अवस्था पत्ता लगाउन सकिन्छ । तर यो इन्भेसिभ प्रविधि भएकोले फाइब्रोस्क्यान भन्ने प्रविधिले आजभोलि यसलार्ई विस्थापित गरेको छ ।

उपचार :

फ्याटीलिभरको खास कुनै उपचार छैन । सर्वप्रथम के कारणले रोग शुरु भएको हो, त्यो नै बन्द गर्नेतिर लाग्नुपर्छ । जस्तै रक्सीले गर्दा हो भने रक्सी पिउनै बन्द गर्नुपर्ने हुन्छ । घरमा बसेर आराम बढी गर्नु हँुदैन । आफ्नो जीवनशैली परिवर्तन गर्नु नै यो रोगको मुख्य उपचार हो । चिकित्सकीय उपचारका क्रममा चाहिँ हामी उर्सोडेक्सिकलिक एसिड, ओमेगा ३, फ्याटीलिभर एसिड तथा स्टाटिनहरु प्रयोग गर्दा फ्याटीलिभरमा सुधार आउँछ । अल्कोहोलिक फ्याटीलिभरका बिरामीमा राम्रो र तागतिलो खाना सँगसँगै भिटामिन बीको प्रयोग, मिनरल्स तथा ट्रेस इलिमेन्ट्स्को प्रयोग गर्नाले फाइदा हुन्छ ।

रोकथाम :

– स्वस्थ जीवनशैली अपनाउने

– फ्याटीलिभरका बिरामीहरुले रक्सी सेवन विल्कुलै नगर्ने

– गुलियो, विशेषगरी सोडा तथा प्रिजरभेटीम भएका खाना नखाने

– नियमित रूपमा शारीरिक व्यायाम गर्ने

– ठिक मात्रामा मात्र खाना खाने

जीवनशैलीमा परिर्वतन गरियो र नियमित रूपमा स्वस्थकर खाना खाएमा फ्याटीलिभर ठीक हुन्छ । फ्याटीलिभरको शुरुमै पहिचान गरी यसलाई बढ्न नदिएमा यसले कलेजोमा दीर्घकालीन असर पुऱ्याउँदैन । तर शुरुमै सतर्कता अपनाइएन र सिभिएर फ्याटीलिभर भएका व्यक्तिले रक्सी सेवनलाई निरन्तरता दिए ज्यानसमेत जान सक्छ । यसर्थ कलेजोका गम्भीर रोग लिभर सिरोसिस र कलेजोको क्यान्सर हुन नदिनका लागि शुरुमा फ्याटीलिभर देखिएका व्यक्तिले सचेत भई चिकित्सकीय सहयोग र जीवनशैलीमा आमूल परिवर्तन गर्नु जरुरी देखिन्छ ।

फ्याटीलिभरका बिरामीले ध्यान दिनुपर्ने कुरा :

– दिनमा ३ किलोमिटर वा ३० मिनेट छिटोछिटो हिँड्ने
– तारेको, फ्राइ गरेको, बोसो र घिउ नखाने
– रक्सी, वियर र वाइन नखाने
– तौल कम गर्ने
– गुलियो कम गर्ने

(लेखक वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन् ।)

प्रतिक्रिया