संस्कृतिमन्त्रीको कामना- ‘नववर्ष सङ्कल्प र साधनाको साल बनोस्’

संस्कृतिमन्त्रीको कामना- ‘नववर्ष सङ्कल्प र साधनाको साल बनोस्’


नेपाल प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी सङ्गठनद्वारा प्रज्ञा भवन कमलादीमा नयाँ वर्ष २०७५ सालको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरियो । कार्यक्रमका प्रमुख अतिथि थिए संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी । समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नयाँ वर्ष क्यालेन्डरका पानाहरूको परिवर्तन मात्रै हुननहुने बरु साँच्चिकै नवीन हुनुपर्नेमा जोड दिए । उनले भने, ‘नववर्ष सङ्कल्प र साधनाको साल बनोस् ।’

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानको गौरवमय इतिहासको स्मरण गर्दै प्रज्ञाको समृद्धिको निमित्त नयाँ वर्ष फलदायी हुने विश्वास व्यक्त गरे भने राष्ट्रिय जनसांस्कृतिक महासङ्घका महासचिव प्रेमनाथ अधिकारी, सार्वजनिक संस्था कर्मचारी सङ्गठनका महासचिव भोलानाथ घिमिरे, पेशागत महासङ्द्ध नेपालका महासचिव विष्णु लामिछाने, नेपाल प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी सङ्गठनका पूर्व अध्यक्ष तथा सल्लाहकार विक्रम मैनाली, सल्लाहकार शशी चालिसे, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन प्रज्ञा–प्रतिष्ठान समितिका अध्यक्ष धनबहादुर कार्की र नेपाल प्रज्ञा–प्रतिष्ठान लोकतान्त्रिक कलाकार तथा कर्मचारी सङ्घका महासचिव अशोककुमार चौरसियाले पनि कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरी, प्राज्ञ प्रा.डा. हेमाङ्गराज अधिकारी, प्राज्ञ प्रा.डा. उषा ठाकुर, प्राज्ञ श्रवण मुकारुङ, प्राज्ञ नर्मदेश्वरी सत्याल, प्राज्ञ शशी लुमुम्बू, कलाकार हरिबहादुर थापाको आतिथ्य रहेको थियो ।

सङ्गठनका अध्यक्ष विश्वमोहन राजभण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको बारेमा सङ्गठनकी उपाध्यक्ष सविना ज्ञवाली घिमिरे र सुवर्ण रञ्जितले प्रकाश पारेकी थिइन् । प्रज्ञा–प्रतिष्ठानका कलाकार विकासनाथ योगी, केशव सुनाम, सुरेशराज बज्राचार्यलगायतले स्वागत धुन प्रस्तुत गरेका थिए ।