हावाहुरीले लियो १५ जनाको ज्यान, ताजमहलमा पनि क्षति

हावाहुरीले लियो १५ जनाको ज्यान, ताजमहलमा पनि क्षति


भारतको उत्तर प्रदेशमा भारी वर्षासहित उच्च गतिको हावाका कारण कम्तिमा १५ जनाको मृत्यु भएको छ । प्रतिघण्टा १३० किलोमिटरको गतिमा हावा आएपछि यसरी मानवीय क्षति भएको एजेन्सीहरुले जनाएका छन् ।

उत्तर प्रदेशको ब्राजनजिकै बुधबार राति भीषण बर्षासहितको हावाहुरी चलेको र यसबाट मानवीय क्षतिसमेत हुन पुगेको भारतीय प्रहरीले बताएको छ ।

उत्तर प्रदेश राज्यको राजधानी लखनउमा पनि वर्षासहित तीव्र हावाहुरी आएको अधिकारीहरुले जानकारी दिएका छन् । आग्रामा आठ, मथुरामा चार र तीनजनाको फिरोजावादमा मृत्यु भएको बताइएको छ ।

विनाशकारी हावाहुरीले ताजमहलमा समेत क्षति पुऱ्याएको बताइन्छ । ताजमहलको शाही पोलहरु र दक्षिणी प्रदेशद्वारमा क्षति पुगेको अधिकारीहरूले बताएका छन् । ताजमहल भारतको ऐतिहासिक प्राचीन सम्पदा हो । योे विश्वकै सात आश्चर्यमध्येको एक सम्पदाको रुपमा पनि चिनिन्छ ।