बेल्जियममा नेपाली महोत्सव हुँदै

बेल्जियममा नेपाली महोत्सव हुँदै



– डिल्लीराम अम्माई (बेल्जियम)

यहि १४ अप्रिल २०१८ का दिन नेपाली नयाँ वर्ष तथा नेपाल महोत्सव बेल्जियमको लुभेनमा सम्पन्न हुन गैरहेको छ। नेपाली कला सांस्कृतिक र पर्यटन प्रवर्द्र्धनको लागि हुन गैरहेको सो कार्यक्रम प्रत्येक वर्ष जस्तै यो वर्ष पनि नेपाली राजदुतावासको संरक्षकत्व, नेपाली पर्यटन बोर्ड, सम्पूर्ण नेपाली संघसँस्था र एनआरएनए बेल्जियमको संयुक्त आयोजनामा हुने बताइएको छ।

पर्यटन प्रबर्धनको लागि गरिएको सो महोत्सवमा लुभेन लगायत नगरपालिकाका उच्चपदस्थहरुको समेत उपस्थिति रहने जानकारी अध्यक्ष दाहालले दिएका छन्। उनका अनुसार आवश्यक तयारि लगभग पुरा भएको र केहि प्राविधिक पक्षमा सम्बन्धित टिमसँग छलफल भैरहेको छ।

अध्यक्ष दाहाल, कार्यक्रमका संयोजक खड्कबहादुर केसी तथा नेपाली दुतावास परिवारले सम्पूर्ण गैरआवासीय नेपाली संघका भूपु नेतृत्व र अन्य संघ संस्थाहरुलाई हरतरहले महोत्सव सफल पार्न सहयोगको अपिल समेत गरेको छन ।

एनआरएनए बेल्जियमका अध्यक्ष लोक दाहालले दिएको जानकारी अनुसार कार्यक्रममा आतिथ्यता ग्रहण गर्न सोही संघका केन्द्रिय उपाध्यक्षद्वय कुल आचार्य र सपिला राज भण्डारी बेल्जियम आउने छन्। नेपाली गैह्र आवासीय संघ युरोपका संयोजक शिव बरुवाल, महिला फोरमकी ग्लोबल संयोजक रजनी प्रधान, बेनेलक्सका राजदुत लोकबहादुर थापा, पत्रकार महासंघका युरोप प्रतिनिधि, पत्रकार तथा प्रसिद्ध क्यामराम्यान राजेन्द्र रसाइली, सम्पूर्ण नेपाली संघसंस्थाका नेतृत्वहरु लगायत युरोपभरिका अधिकांश एनआरएनए नेतृत्वहरुको उपस्थिति रहने भनिएको उक्त महोत्सव भब्य हुने बताइएको छ। दिउँसो १४ बजेबाट शुरु हुने उक्त कार्यक्रमको औपचारिक सत्र ४५ मिनेटको रहने छ। त्यसपछि नेपाली खानाको स्वाद, मनोरन्जनात्मक चिट्ठा, संगीत, स्लाइड शो लगायतका कार्यक्रम रहने छन्।

लगत्तै नेपालका पर्यटकीय क्षेत्रहरु लक्षित वृत्त चित्र प्रस्तुत गरिने छ भने प्रोत्साहनस्वरुप दुई जोडीलाई निःशुल्क उडान टिकट र केही पर्यटकलाई होटल वा खानाको निःशुल्क कुपन चिठ्ठा प्रणालीमार्फत उपलब्ध गराइने जनाइएको छ।

प्राप्त पछिल्लो जानकारी अनुसार त्यहाँ उपलब्ध दश प्रदर्शनी कक्षमध्ये आठ बुकिङ भैसकेको र एकमा दुतावास, पर्यटन बोर्ड र एनआरएनएको कक्ष रहने छ।

स्मरण रहोस्, लक्जम्बर्गमा आगामी जुलाई २९ र ३० मा ११औँ एनआरएनए युरोप सम्मेलन समेत हुँदै छ। जसको लागि नेपाली गैरआवासीय संघ युरोप संयोजक शिव बरुवालसहितको टिमले तयारि शुरु गरिसकेको जानकारी आएको छ। जसमा नेपालका परराष्ट्र मन्त्रि सहित लग्जेम्बर्गका प्रधानमन्त्री र अन्य विशिष्ट व्याक्तिहरुको उपस्थिति रहने जनाइएको छ।