उदाहरणीय नियम बसाउँदै छैटौँ अधिवेशन सम्पन्न

उदाहरणीय नियम बसाउँदै छैटौँ अधिवेशन सम्पन्न


लन्डन । क्षेत्री समाजमा बेलायतको छैटौँ अधिवेशन सम्पन्न भएको छ । बेलायतमा बसोवास गर्दै आएका क्षेत्रीहरुले संगठित हुने अभिप्रायले ११ वर्षअगाडि अर्थात् सन् २००७ मा समाजको स्थापना गरेका थिए । यही अप्रिल ८ का दिन सम्पन्न अधिवेशनले राजनकुमार क्षेत्रीको नेतृत्वमा सर्वसम्मत रुपमा दुई वर्षका लागि नयाँ कार्य समिति चयन गरेको छ ।

नेपाली दूतावास लण्डनका उपनियोग प्रमुख शरदराज आरणको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा क्षेत्री समाज नेपालका पूर्वअध्यक्ष प्रा.डा. दिलबहादुर क्षेत्री विशेष अतिथिको रुपमा उपस्थित थिए ।

राजनकुमार क्षेत्रीको नेतृत्वमा चयन गरिएको नयाँ कार्यसमितिअन्तर्गत पहिलोपटक एक महिलासहित तीनजना उपाध्यक्ष्यको ब्यवस्था गरेको छ । समाजमा महिलाहरुको सहभागितालगायत सामाजिक हकहितका विभिन्न विषयमा विशिष्ट किसिमले योगदान दिइरहेको तथ्यांकलार्इ ध्यानमा दिर्इ अबदेखि एक उपाध्यक्ष पदमा महिलाको स्थायी उपस्थिति राखिने भएको छ । जसअनुसार महिलाको प्रतिनिधित्व गराउँदै प्रतिमा केसीका अलावा टेक जीसी र यज्ञ क्षेत्री उपाध्यक्ष्य चयन भएका छन् । महासचिवमा कुमार केसी, सचिवमा उत्तम खत्री, कोषाध्यक्षमा सेविका जिसी र सहकोषाध्यक्षमा महेन्द्र केसी पनि निर्विरोध छानिएका छन् ।

त्यस्तै, जनसम्पर्क सचिव दिलबहादुर जीसी, महिला संयोजक श्रद्धा थापा, सांस्कृतिक सचिव गीता रायमाझी र मिडिया संयोजक नरेन्द्र बस्नेत चयन भएका छन् ।

कार्यसमितिका सदस्यहरुमा टोपबहादुर राउत, दुर्गा बानियाँ, सुनील खड्का, सरोजकुमार थापा, मनिषकुमार थापा, मनिष खड्का र इन्द्र क्षेत्री चुनिएका छन् ।

नयां कार्यसमिति चयनको निमित्त भीम बानियाँ, रामशरण सिंखडा र धन क्षेत्री सम्मिलित निर्वाचन समितिको गठन गरिएको थियो । संस्थाका अध्यक्ष धन बहादुर कुँवरको अध्यक्षता सम्पन्न उक्त अधिवेशनको प्रमुख अतिथि शरदराज आरण, अध्यक्ष धन कुँवर, संस्थापक अध्यक्ष्य कृष्णबहादुर थापा क्षेत्री र प्रमुख संरक्षक ध्रुव केसीद्वारा पानसमा बत्ती बालेर उद्घाटन गरिएको थियो ।

क्षेत्री समाज नेपालका पूर्वअध्यक्ष्य प्राडा, दिलबहादुर क्षेत्रीद्वारा लिखित “खस समुदाय आन्दोलन र उपलब्धि”नामक पुस्तकको विमोचन समेत गरिएको उक्त कार्यक्रममा नेपाली दूतावासका उपप्रमुख शरदराज आरण, क्षेत्री समाज नेपालका पूर्वअध्यक्ष डा. दिलबहादुर जिसी, क्षेत्री समाज यूकेका संस्थापक अध्यक्ष कृष्णबहादुर क्षेत्री, समाजका प्रमुख संरक्षक ध्रुव केसी, एनआरएन केन्द्रीय उपाध्यक्ष कुल आचार्य, पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि शरदराज आरणनले समाजको सफलताको कामना गर्दै समाज सेवामा लागिरहन र नेपालको राजनैतिक अवस्थामा सुधार भैसकेकोले नेपालमा पनि लगानी गर्नको लागि अनुरोध गरेका थिए । राजनकुमार क्षेत्रीले संस्थाको प्रगति विवरण पेश गरेका थिए भने निवर्तमान सहकोषाध्यक्ष्य सेविका जीसीले आयव्यय प्रस्तुत गरेकी थिइन् । संस्थाको आपतकालीन कोषको आयव्ययको बारेमा पनि संयोजक प्रतिमा केसीले प्रकाश पारेकी थिइन् ।

अन्तमा संस्थाका सल्लाहकार एवं पूर्वअध्यक्ष भीम बानियाँले नवनिर्वाचित कार्यसमितीलाई सपथ गराएका थिए । कार्यक्रमलाई ब्यवस्थापन गर्नको लागि रामशरण सिम्खडा, कुमार केसी, राजन क्षेत्री, बलबहादुर रायमाझी नरेन्द्र बस्नेत, हेमराज बिष्ट, शम्भुकुमार केसी, रोजन भण्डारी, गीता रायमाझी र अनिता सिम्खड़ाको एक टोली गठन गरिएको थियो ।

यसपालिबाट शुरुवात गरिएको नयाँ व्यवस्थाअनुसार तीनजना उपाध्यक्षहरुबाट एकजनालार्इ सर्वसम्मत रुपले वरिष्ठ उपाध्यक्ष बनाउने र सोही वरिष्ठ व्यक्ति स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ । उपाध्यक्षले समाजको लागि गरेको कार्यशैलीलगायतका योग्यतालार्इ आधार बनाएर समाजले वरिष्ठता चयन गर्ने शैली गत ९ तारिख भएको छैटौं अधिवेशनले सर्वसम्मतले पारित गरेको हो । समाजको संविधानको विविध धाराहरुलार्इ समाजको हक र हितको लागि अधिवेशनमा खारेज गर्ने तथा वदर गर्न सकिने प्रावधान पनि यसपालिदेखि बसाइएको छ ।

क्षेत्री समाज बेलायतभित्र वैचारिक विविधता रहे पनि संस्थाको सांगठनिक एकतामा खलल नपार्ने किसिमले यसलार्इ सशक्त पार्नको लागि बेलायती क्षेत्रीहरुको यो कदम उदाहरणीय रहेको छ ।