नेता खुमबहादुरसँगका केही रोचक सम्झना

– देवप्रकाश त्रिपाठी

परिचित कतिपय मानिस नेपाली काङ्ग्रेसका नेता खुमबहादुर खड्का र मेरोबीचको सम्बन्धलाई ‘विशेष’ मान्दथे–मान्दछन् । कतिसम्म भने मेरो पत्रकारिता जीवनसमेत खुमबहादुरको सहयोगमा चलिरहेको छ भनी ठान्नेहरू पनि थिए । वास्तवमा उहाँसँग मेरो सम्बन्ध पूर्ण रूपले राजनीतिक थियो, तर मानिसहरू अलिक बेग्लै रूपमा बुझ्दथे । हाम्रो सम्बन्धको पवित्रतालाई जस्ताको त्यस्तै बुझ्नेमा खुमबहादुर खड्काको पारिवारिक सदस्यका रूपमा समेत रहेका कमल घिमिरेजी मात्र हुनुहुन्छ कि जस्तो महसुस मलाई हुन्छ । धेरै मित्र तथा शुभचिन्तकलाई हाम्रो सम्बन्धको कडीबारे मैले कैयनपटक स्पष्टीकरण दिनुपरेको थियो । त्यसरी स्पष्टीकरण दिनुपरेकाहरूमा नेपाली राष्ट्रिय सेनाका तात्कालिक सेनापति रुक्मांगद कटवाल पनि हुनुहुन्छ ।

०६६ को कुरा हो, उहाँ प्रधानसेनापतिको हैसियतमा शशिभवनस्थित निवासमा रहनुहुन्थ्यो र, कहिलेकाहीँ रात्रिभोजका निम्ति आमन्त्रण गर्ने गर्नुहुन्थ्यो । त्यसैक्रममा एक साँझ अर्का एक पत्रकारसहित मलाई रात्रिखानाको निम्ति बोलाइएको थियो । हामी भोजनसहितको गफमा रमाउँदै थियौँ, एउटा सन्दर्भमा कुरा हुँदै गर्दा कटवालले अचानक भन्नुभयो, ‘देवजीलाई त धेरै सजिलो छ, लेख्यो–लेख्यो–लेख्यो, पैसा चाहियो भने खुमबहादुरजीलाई भन्दा भइहाल्यो ।’ सेनापतिको मुखारबिन्दबाट प्रकट वाक्यावलीले मलाई स्तब्ध बनायो । अलिकति खुसी मानेँ, कटवालजी मार्फत खुमबहादुर खड्कासँगको सम्बन्धलाई कसरी लिइएको रहेछ भन्ने जानकारी पाएकोले । सम्बन्धलाई गलत रूपमा बुझिएको कुराले चाहिँ निकै दुःखी तुल्यायो र भनेँ, ‘खुमबहादुरजीबाट आर्थिक या कुनै पनि प्रकारको सहयोग लिएको रहेछु भने मेरा आमाबाबु र छोराछोरीसँग मेरो साथ छुटोस् ।’ मेरो कुराले कटवालजीको अनुहारको रङ्ग नै बदल्यो । उहाँले भन्नुभयो, ‘यस्तो होला भन्ने मैले सोचेकै थिइनँ ।’

वास्तवमा खुमबहादुर खड्कासँग मेरो सम्बन्ध विशुद्ध राजनीतिक प्रकृतिको थियो र, अनेकौँ राजनीतिक घटनाक्रमको अन्तर्यमा हामी जोडिएका थियौँ । समयाक्रममा ती कुराहरू पनि सार्वजनिक जानकारीको विषय अवश्य बन्नेछ ।

इतिहासले सबैलाई स्मरण गरिरहन आवश्यक नठान्ला र, खुमबहादुर खड्का पनि चिरस्मरणीयहरूको कोटिमा नपर्न सक्नुहुन्छ । जीवित रहँदै पाखा लगाइएका पात्रलाई स्मरण गरिरहन इतिहासले आवश्यक ठान्दैन भने त्यसलाई अरूचिकर मान्नुपर्ने ठानिएको पनि छैन । खुमबहादुरले नेपालमा बहुलवादमा आधारित संसदीय प्रजातन्त्र स्थापनामा विशेष योगदान पुऱ्याएको र, यसक्रममा अनेकौँ यातनासहित आठ वर्ष लामो काराबासको सजाय पाएको पक्ष नै छोपिने गरी उहाँलाई जीवित रहँदै बदनाम गरिएको थियो । प्रजातन्त्र र त्यागको प्रतिमूर्ति बनेका कृष्णप्रसाद भट्टराईलाई विस्मृत पात्र बनाउन खोज्ने नेपालको इतिहासले खुमबहादुर खड्काको योगदानमा न्यायिक स्मरण गर्ने अपेक्षा नराख्नु उचित हुन सक्छ । तथापि लामो समयको मेरो सम्पर्क र त्यसक्रममा स्मरणीय बन्न पुगेका केही सन्दर्भहरू प्रस्तुत गर्नु उपयुक्त ठानिएको छ ।

सन्दर्भ–१,

वि.सं. २०५८ साउनमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बनेपछि म बधाई ज्ञापन गर्न सानेपास्थित खुमबहादुर खड्काको निवासस्थानमा पुगेका थिएँ । बधाई दिने क्रममा मैले उहाँलाई भनेँ, ‘दाज्यू, तपाईं पटक–पटक मन्त्री बन्नुभयो, अब नेता बन्नुपऱ्यो ।’

मेरा कुरा सुनेर उहाँ छक्क पर्नुभयो । एकैछिन मेरो अनुहारमा एकटक हेरिरहनुभयो र, आश्चर्यजनित लवजमा प्रश्न गर्नुभयो, ‘के भनेको यो ? के गर्नुपर्छ त नेता बन्नलाई ?’

जवाफमा मैले भनेको थिएँ, ‘बाहिर तपाईंलाई सकारात्मक रूपमा लिइँदैन, सीधै भन्ने हो भने बद्नाम हुनुहुन्छ । पार्टीभित्रैका तपाईंका सहकर्मीहरू मौका पाउनासाथ तपाईंलाई भ्रष्टाचारीका रूपमा चित्रण गर्ने गर्दछन् । यस्तो छविमा परिवर्तन नल्याईकन नेताका रूपमा स्थापित हुन सम्भव हुँदैन ।’

जवाफमा उहाँले भन्नुभयो, ‘हो, मलाई थाहा छ, पार्टीकै साथीहरूसमेत मलाई बद्नाम गर्नतिर लागेका छन्, अरूले त भन्ने नै भए । पार्टीका साथीहरूबाट नियोजित रूपमै मेरो बद्नाम गर्ने काम भएको छ । यस्तो भएपछि कसरी छवि सुधार्न सकिएला र ?’

मैले भनेँ, ‘सकिन्छ, तपाईंले अनुचित ढङ्गले आर्जन नगर्नुभएको भए पनि मानिसको दृष्टिमा तपाईंको यही (सानेपाको) निवासस्थानलाई मानिसहरू भ्रष्टाचारको कमाइका रूपमा लिन्छन् । त्यसैले यो घर राज्यलाई सुम्पने घोषणा गरौँ । आफूले अहिलेसम्म अनुचित कमाइ नगरेको स्पष्ट गर्दै देशवासीलाई भन्नुहोस्– मैले गल्ती नगरेकोे भए पनि गल्ती गरेको भन्ने भ्रम पैदा भएको छ र, यो भ्रम मेरो घरले पनि पैदा गरेकोजस्तो लाग्छ । भ्रम निवारणका लागि म यो घर राज्यलाई सुम्पन्छु र भविष्यमा यसप्रकारका भ्रम उत्पन्न हुने कुनै प्रकारको आचार–व्यवहार हुनेछैन भनी प्रतिबद्धता जाहेर गर्नुहोस् । यति गर्न सक्नुभयो भने तपाईंको छवि बदलिने सम्भावना हुन सक्छ । हुन त गौतम बुद्धले आफ्नो सम्पत्ति, सान, राज्य, परिवार त्यागेर सत्यको खोजीमा निस्कँदा पनि उनलाई आलोचना गर्ने मानिसको कमी थिएन । त्यसैले आलोचनामुक्त होइने आशाचाहिँ नराखौँ, तर केही न केही सकारात्मक परिवर्तन ल्याउन सकिन्छ ।’

मेरा कुरा धैर्यपूर्वक सुनिसकेपछि उहाँले भन्नुभयो, ‘यो घर वीरेन्द्र कनौडियासँग मैले लिएको हो, नब्बे लाखमा किनेको, तीस लाख रूपैयाँ दिन बाँकी नै छ र मेरा नाममा आइसकेको पनि छैन । फेरि मैले कहाँ कतिबेला कसरी भ्रष्टाचार गरेँ भनेर कसैले भन्न सक्ने स्थिति पनि छैन । किन सक्ने छैनन् भने मैले त्यस्तो गल्ती गरेकै छैन ।’ उहाँले आफ्नो स्थिति स्पष्ट पारेपछि मैले भनेको थिएँ, ‘ठीकै छ, मैले आफूलाई लागेको कुरा भनेको हुँ, के गर्ने भन्ने निर्णय तपाईंकै हो । कहिलेकाहीँ सार्वजनिक जिम्मेवारीमा बस्ने मानिसले आफूबाट नभएको गल्ती पनि ‘सच्याएर देखाइदिनुपर्ने’ हुन्छ ।’

सन्दर्भ २

वि.सं. २०५६ सालमा सन्त नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनुहुुन्थ्यो । ०५६ वैशाखमा सम्पन्न निर्वाचनमा काङ्ग्रेसको विजयका कारण प्रधानमन्त्रीका रूपमा किशुनजीलाई अघि सारिएकोले हो भन्ने विश्वास गरिन्थ्यो । निर्वाचनमा विजयको कारण जे भए पनि गिरिजाप्रसादको भित्री इच्छाविपरीत कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बन्नुभएको थियो र, उहाँको मन्त्रिमण्डलमा खुमबहादुर खड्कालाई पनि समेटिएको थियो । तर, किशुनजी प्रधानमन्त्री बनेकै सातादेखि गिरिजाप्रसाद उहाँको विस्थापनका निमित्त भित्रभित्रै क्रियाशील हुनुहुन्थ्यो । सतहमुनि रचिएका कपटको परिणाम नआएपछि मङ्सिर (०५६) मा गिरिजाप्रसाद आफैँ सार्वजनिक रूपमा किशुनजीको राजीनामा माग्न अग्रसर हुनुभएको थियो । गिरिजाप्रसादले राजीनामा माग्दैमा किशुनजीले राजीनामा दिनुपर्ने स्थिति थिएन, दिनुभएन । बरु उहाँले विमान खरिदको प्रक्रिया अघि बढाउन खोजिएकोले राजीनामा मागिएको हुन सक्ने ठानेर हुन सक्छ, राजीनामा मागेको भोलिपल्ट नै पर्यटन मन्त्रालयको अवलोकनमा जानुभयो र विमान खरिद गर्दा प्राप्त हुने कमिसन पारदर्शी तुल्याइने र राज्यकोषमा दाखिला गरिने घोषणा गर्नुभयो ।

किशुनजीको यस्तो घोषणाले गिरिजाप्रसादलाई कुन स्तरको धक्का पुग्यो बुझ्न सकिएन, तर सरकारले चाहिँ निरन्तरता पाइरह्यो । यसरी किशुनजीको सरकार अघि बढेपछि गिरिजाप्रसाद कोइराला भित्रभित्रै सरकार ढाल्ने योजनामा पहिलेभन्दा सक्रियतापूर्वक लाग्नुभएको थियो । त्यसक्रममा उहाँ खुमबहादुर खड्कालाई साथमा नलिईकन सरकार ढाल्न नसकिने निष्कर्षमा पुग्नुभएको थियो र, फागुन (२०५६) को अन्तिम सातातिर कोइराला खड्कासँग विशेष समझदारी बनाउन सफल हुनुभएको भन्ने चर्चा–परिचर्चा शुरु भयो । यस किसिमको चर्चा शुरु भएको केही दिनमै एक साँझ समय मिलाएर म हरिहर भवनस्थित मन्त्री निवासस्थानमा पुगँे । खुमबहादुर खड्काको निवासस्थानमा म पुग्दा उहाँ आईएल प्रधान नामक एक व्यापारीसँग गफिइरहनुभएको थियो । म पुगेपछि पनि उहाँले ती व्यापारीलाई बाहिर जान इसारा गर्नुभएन र मलाई अर्को कक्षमा जाऊँ पनि भन्नुभएन । अनि संवादको शृङ्खला तिनै व्यापारीको अगाडि शुरु भयो । सोधँे, ‘तपाईं किशुनजीको सरकार छोडेर गिरिजाप्रसाद कोइरालासँग जान लाग्नुभएको भन्ने सुनेँ, के यो सत्य हो दाज्यू ?

जवाफमा उहाँले भन्नुभयो, ‘हो, मलाई अत्यन्तै ‘ह्युमिलिएसन’ भयो । बारम्बार अपमान भएपछि मैले किशुनजीलाई छोड्ने निर्णय लिएको हुँ ।’

तपाईंलाई ‘ह्युमिलिएसन’चाहिँ कसरी भयो ? मैले जिज्ञाशा राखेँ । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीलाई मैले चाहेको बेला भेट्न नपाइने । बालुवाटारस्थित प्रधानमन्त्री निवासस्थानमा प्रदीप गिरीदेखि लिएर दुनियाँथरी मानिस फटाफट किशुनजीको बैठक र बेडरुमसम्म पुग्छन्, तर म भऱ्याङको तल नै रोकिन्छु । मन्त्रालय पनि काम देखाउन पाइने किसिमको राम्रो दिइएको होइन । योगप्रसाद उपाध्यायले शिक्षामन्त्रीबाट राजीनामा दिनुभएपछि त्यो मन्त्रालयसमेत मलाई दिइएको भए ‘लोड’ पुग्ने थियो, त्यो पनि दिइएन । त्यसैले मैले किशुनजीलाई छोड्ने निर्णय गरेको हुँ ।’

उहाँको जवाफ सुनेपछि मैले भनेँ, ‘किशुनजीको साथ छोडेर गिरिजाप्रसादलाई साथ दिन यति मात्र कारण पर्याप्त हुँदैन । जतिसुकै ‘ह्युमिलिएसन’ भए पनि तपाईंको भलाइ किशुनजीसँग रहनुमै देख्छु म । यदि प्रधानमन्त्री भेट्न जाँदा ‘ह्युमिलिएट’ भएको अनुभूति हुन्छ भने उहाँले बोलाएपछि मात्र भेट्न जाँदा भइहाल्यो । आखिर गिरिजाप्रसाद पनि तपाईंको हितैषी होइनन्, बरु गिरिजाको वास्तविक प्रतिनिधिझैँ बनेर किशुनजीको मन्त्रिमण्डलमा बसिरहँदा तपाईंलाई पनि राम्रो, पार्टी र देशलाई पनि राम्रै होला ।’

मेरो कुरामा खड्काले सहमति जनाउनुभएन । भन्नुभयो, ‘मलाई गिरिजाबाबुले पार्टीको महामन्त्री बनाउँछु भन्नुभएको छ । अब बन्ने मन्त्रिमण्डलमा गृह मन्त्रालयको जिम्मेवारी दिने वचन दिनुभएको छ । मन्त्रिमण्डलमा चालीस प्रतिशत मेरो सिफारिसका मानिसलाई सामेल गर्ने बताउनुभएको छ र, आउँदो संसदीय निर्वाचनमा पनि मेरो सिफारिसमा चालीस प्रतिशत मानिसलाई उम्मेदवार बनाइदिने प्रतिबद्धता जाहेर गर्नुभएको छ । यति भएपछि पार्टीमा म राम्रैसँग स्थापित हुन्न र ? यो अवसर छोड्नुहुन्न भन्ने लाग्यो, अनि मैले किशुनजीलाई छोडेर गिरिजाबाबुलाई साथ दिने निर्णय लिएको हुँ ।’

यसो भनिरहँदा खुमबहादुर खड्काको मुहारमा प्रसन्नताको चमक देखिन्थ्यो, गिरिजाप्रसादले आफूलाई उत्तराधिकारी नै बनाउने भए भन्नेस्तरको खुसी उहाँमा छचल्किएको महसुस हुन्थ्यो । तथापि मैले उहाँलाई सचेत गराउन आवश्यक देखेँ र भनेँ, ‘दाज्यू तपाईंले गिरिजाप्रसाद कोइरालासँग २८ वर्ष लामो सङ्गत गर्नुभएको होला, मेरो त जम्मा सातै वर्षको मात्र सङ्गत हो । तर, उहाँलाई तपाईंले भन्दा राम्रोसँग मैले नै चिनेँ कि जस्तो लाग्छ । पहिले मैले गाउँतिर भाषण गर्दा कम्युनिस्ट र सर्पलाई विश्वास गर्ने मानिसले एकै प्रकारको धोखा व्यहोर्नुपर्छ भन्ने गर्थेँ, गिरिजाप्रसादलाई चिनिसकेपछि भन्ने गरेको छु– कम्युनिस्ट, गिरिजा र सर्पलाई विश्वास गर्ने मान्छेले धोखा पाउँछ । तपाईंलाई गिरिजाप्रसादले जे–जस्ता वचन दिएका भए पनि त्यो पूरा गरिनेछैन, कृपया तपाईं किशुनजीसँग नै रहनुहोस् ।’

खुमबहादुर खड्का ‘एक्सन ओरिएन्टेड’ र वचनको पक्का मान्छे । मैले भनेकै भरमा उहाँले लिएको निर्णय फिर्ता हुने स्थिति थिएन । तथापि एक हितैषीका रूपमा मैले उहाँलाई देखेको कुरा राखिदिनुपथ्र्यो, राखेँ । मेरा कठोर कुराहरू सुनिसकेपछि उहाँले भन्नुभयो, ‘हेर्नुस्, गिरिजाबाबुले दिनुभएको वचन आधा मात्र पूरा गर्नुभयो भने पनि पार्टीमा मेरो स्थिति अहिलेको भन्दा राम्रो हुनेछ । फेरि मैले गिरिजाबाबुलाई वचन दिइसकेको छु । उहाँ आफ््नो वचनमा अड्ने–नअड्ने उहाँको कुरा हो, मैले त आफूले दिएको वचनबाट पछि हट्ने कुरा भएन, भोलि दिउँसो म मन्त्री पदबाट राजीनामा दिँदै छु । अरू केही साथीहरूले पनि राजीनामा देलान् ।’

त्यसपछि म उठेँ र हात जोडेर बिदा माग्दै भनेँ, ‘मैले भन्ने कुरा भनेँ, निर्णय तपाईंको हो । फेरि पनि भन्छु, ‘तपाईंलाई गिरिजाप्रसादबाट धोखा हुन्छ । अरू त टाढाको कुरा तपाईंलाई उहाँले गृहमन्त्री बनाउने सम्भावना पनि म देख्दिनँ ।’ मेरा कुरा सुनेर सँगै रहेका व्यापारी आईएल प्रधान मुस्कुराइरहेका थिए । म त्यहाँबाट बिदा भएँ ।

भोलिपल्ट खुमबहादुर खड्काले मन्त्री पदबाट राजीनामा दिएर प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई अप्ठ्यारोमा पारिदिनुभयो । त्यसको केही दिनमै किशुनजीले पदबाट राजीनामा दिनुभयो र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभयो ।

चैत (२०५६) पहिलो साताभित्रै यी सब घटना भए । गिरिजाप्रसाद कोइराला सम्भवतः चैत ६ गते प्रधानमन्त्री बन्नुभएको थियो र उहाँले त्यसपछिको मंगलबार मन्त्रिमण्डल गठन गर्नुभएको थियो । राति एघार बजे रेडियो नेपालको समाचारबाट मन्त्रिमण्डल गठन भएको व्यहोरा सार्वजनिक हुँदै थियो । रेडियो नेपालले गृहमन्त्रीमा गोविन्दराज जोशीको नाम लियो, यसरी मन्त्रिमण्डलका सबै सदस्यहरूको नाम सार्वजनिक गरिनसक्दै मेरो ल्यान्डलाइनमा टेलिफोनको घन्टी बज्यो, रिसिभर उठाएँ । फोन गर्नेले ‘हेलो’ भन्ने औपचारिकता पनि पूरा नगरीकन एउटा मोटो आवाजमा बोले, ‘गिरिजाप्रसाद र सर्प ।’ यति बोलेर ती व्यक्तिले फोन राखिदिए । स्वयम् खुमबहादुर खड्काको आवाज त्यो थिएन, त्यसैले व्यापारी आईएल प्रधानकै आवाज भएको बुझ्न मलाई गाह्रो भएन ।

गिरिजाप्रसादले जलस्रोत र सायद स्थानीय विकास मन्त्रालयको जिम्मेवारी खड्कालाई दिएका थिए । मन्त्री बनाएको करिब चार महिनापछि साउन २३ गते (२०५७) भारत भ्रमणबाट फर्किनेबित्तिकै खड्कालाई गिरिजाले अपमानजनक किसिमबाट मन्त्रिमण्डलबाट हटाइदिए । यस घटनापछि खुमबहादुर खड्का आफ्ना शुभचिन्तकहरूसँग बारम्बार भन्ने गर्नुहुन्थ्यो, ‘मलाई किशुनजीको पाप लागेको हो, गिरिजाबाबुलाई विश्वास गर्नुको परिणाम मैले धेरै नराम्रोसँग भोगेँ ।’

सन्दर्भ–३

२०५९ को असोज १८ गते तात्कालिक राजा ज्ञानेन्द्रबाट सर्वदलीय बैठकद्वारा गरिएको निर्णयमुताबिक संविधानको धारा १२७ (बाधा अड्काउ फुकाउने) प्रयोग गरी शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बर्खास्त गरिएको थियो । यस घटनाको भोलिपल्ट बिहान साढे आठ बजे म हरिहरभवनस्थित खुमबहादुर खड्काको निवासस्थान पुगेको थिएँ । दुई दिनअघि नै निर्धारण गरिएको समय थियो त्यो । मन्त्रीनिवासमा मानिसको उपस्थिति पनि निकै पातलो थियो । खुमबहादुरजीलाई भेटेपछि मैले भनेँ, ‘दाज्यू तपाईंलाई अब भ्रष्टाचारको आरोप लगाएर थुन्न सक्छन् र भ्रष्टाचारी प्रमाणित गर्ने प्रयास हुन सक्छ । त्यसैले एउटा काम गर्नुपऱ्यो ।’

मेरो कुरा सुनेर खुमबहादुरजी फिस्स हाँस्नुभयो र, भन्नुभयो, ‘मैले भ्रष्टाचार गरेकै छैन, नगरेको गल्तीमा मलाई कसरी कारबाही गर्न मिल्छ ?’

मैले भनेँ, ‘आरोप लगाएर थुनेपछि यहाँ सत्य–तथ्य बुझ्नतिर कोही लाग्ने छैनन् । यहाँको मानसिकता नै नकारात्मक छ । त्यसैले सकिन्छ भने थुनामा नपर्ने उपाय निकाल्नुपऱ्यो, सकिँदैन भने आजै तपाईंको नेतृत्वमा राजाको कदमविरुद्ध कालो झण्डासहित सिंहदरबारभित्र प्रवेश गर्ने प्रयास गर्नुपऱ्यो । दुई–चार सय मानिस तपाईंको नेतृत्वमा कालो झण्डासहित प्रदर्शनमा उत्रिए भने सम्भवतः तपाईंलाई पक्राउ गर्नेछ । त्यसपछि भविष्यमा तपाईंलाई भ्रष्टाचारकै आरोप लगाइएछ भने पनि त्यसलाई ‘विरोध प्रदर्शन गरेका कारण पूर्वाग्रह राखिएको’ घटनाका रूपमा लिइनेछ । त्यसैले अहिले नै प्रदर्शनमा उत्रने तयारी गर्नुपऱ्यो ।’

मेरा कुरा सुनिसकेपछि उहाँले भन्नुभयो, ‘म आज घर सर्ने तयारीमा छु । आजै मैले मन्त्रीनिवास छोड्नुपर्छ, त्यसैले विरोध प्रदर्शनको तयारी गर्न सक्ने स्थितिमा म यतिबेला छैन । फेरि मलाई भ्रष्टाचारको मुद्दा लगाउन पनि सकिँदैन । मैले गरेका हरेक निर्णय पारदर्शी छन्, नियमसम्मत छन् । कसैले चाहेको या भनेकै भरमा भ्रष्टाचारको मुद्दा लाग्ने भन्ने पनि हुँदैन ।’

उहाँले कुनै हालतमा आफ्नाविरुद्ध भ्रष्टाचारको मुद्दा लाग्न नसक्ने भनेर जिद्दी गरिरहेपछि मैले थप बहस–छलफल गर्न उचित ठानिनँ । र, उहाँसँग बिदा भएर बाहिर निस्किएँ । तर, यस घटनाको केही दिनमै उहाँलाई पक्राउ गरिएको थियो । धेरैपछि मसँग भेट हुँदा भन्ने गर्नुहुन्थ्यो, ‘वास्तवमा म कालो झण्डासहित त्यस दिन सडकमा उत्रनुपर्ने रहेछ, गल्ती भयो । यतिसम्म गर्लान् भन्ने मलाई लागेकै थिएन ।’

सन्दर्भ–४

‘म्यान अफ एक्सन’, वास्तवमा खुमबहादुर खड्काको छवि यस्तो मात्र बन्नुपर्थ्यो । उहाँ हो नै ‘म्यान अफ एक्सन’ । तर, पार्टीभित्रका कतिपय नेताहरूको समेत अग्रसरतामा उहाँको छवि धमिल्याउने निरन्तर प्रयास भयो र, भ्रष्टाचारीको विशेषण लगाएर मानिसहरूले सम्बोधन गर्न थाले । २०६३ को परिवर्तनपछि एक साँझ खुमबहादुरजीलाई भेट गर्न म उहाँको निवासस्थान पुगेको थिएँ । समयको सीमा थिएन, कुराकानी हुँदै जाँदा मैले उहाँको छवि धमिलिएको सन्दर्भ कोट्याउँदै जिज्ञाशा राखेँ, ‘तपाईं बद्नाम हुनुभयो, छवि नराम्रोसँग धमिल्याइएको छ । तपाईंमार्फत नगद उठाउन लगाउने पनि गिरिजा र तपाईंलाई बद्नाम गराउने पनि गिरिजा नै हुन् भन्ने मेरो विश्वास छ । नगद उठाउने सन्दर्भको थालनी कसरी भएको थियो, तपाईंलाई पहिलो घटना याद होला ?’

मेरो जिज्ञाशा मेट्दै खुमबहादुर खड्काले भन्नुभएको थियो, ‘म गिरिजाबाबुको मन्त्रिमण्डल (२०४८) मा निर्माण तथा यातायातमन्त्री बनाइएको थिएँ । मन्त्री बनेको महिना दिन पनि पूरा भएको थिएन, म कसरी, के–के काम गर्ने भनेर योजना बनाउँदै थिएँ । एक दिन दिउँसो गिरिजाबाबुको टेलिफोन आयो, उहाँले ‘खुमबहादुर मलाई भोलि बेलुकासम्ममा सात लाख रूपैयाँको व्यवस्था गर’ भन्नुभयो । हुन्नँ भनौँ भने मन्त्रिमण्डलबाट हटाइदिने हुन् कि भन्ने लागेर मैले ‘हवस’ भनेँ, लगत्तै उहाँले फोन राखिदिनुभयो । हुन्छ भन्ने जवाफ त दिएँ अब यो सात लाख रूपैयाँ मैले कहाँबाट जुटाउने भन्ने चिन्ता पऱ्यो। पचास हजार रूपैयाँ खर्च गरी दाङबाट चुनाव जितेर आएको मानिस । उहाँलाई दिनका निमित्त सात लाख रूपैयाँ मसँग थिएन, गहिरो सोचमा परेँ । मन्त्रालयमा बसेर काम गर्न मन लागेन र घर फर्किएँ । सकिनँ भन्ने जवाफ फर्काउँ भने मन्त्रिमण्डलबाट बिदा दिइहाल्छन् जस्तो लाग्यो र त्यसो भन्न पनि सकिनँ ।

बेलुकातिर मन्त्रालयको सचिवलाई बोलाएर आफूलाई आइपरेको सङ्कटबारे जानकारी गराएँ । भोलि बेलुकासम्ममा प्रधानमन्त्रीज्यूलाई सात लाख रूपैयाँ उपलब्ध गराउन नसके आफूलाई अप्ठ्यारो पर्न सक्ने सम्भावनाबारे पनि उनलाई अवगत गराएँ । मेरो सकस बुझिसकेपछि सचिवज्यूले भन्नुभयो, ‘ठीकै छ, मन्त्रीज्यू म भोलिसम्म केही उपाय निकालौँला ।’ सचिवले यति भनेपछि मैले निकै ठूलो राहत महसुस गरँे । भोलिपल्ट बिहानै म मन्त्रालय पुगेँ । म पुगेको केही बेरपछि सचिवजी मेरो च्याम्बरमा आउनुभयो र एउटा ब्रिफकेस मेरो टेबुलमा छोडेर जानुभयो । मैले खोलेर हेरेँ, दश लाख रूपैयाँ थियो । त्यसबाट सात लाख रूपैयाँ गिरिजाबाबुकहाँ पठाइदिएँ र तीन लाख रूपैयाँ अरू कुन नेताकहाँ पुऱ्याएँ, त्योचाहिँ अहिले नभनौँ । यस घटनापछि गिरिजाबाबुले केही साताको अन्तरालमा निश्चित रकम मागिरहने र मैले जसरी भए पनि व्यवस्थापन गरिरहनुपर्ने क्रम चलिरह्यो । आखिर बद्नामी जति मैले कमाएँ ।’

यसो भनिरहँदा उहाँ केही भावुकझैँ देखिनुभयो, केहीबेर अडिएर उहाँले भन्नुभएको थियो, ‘हामी त प्रजातन्त्र र देशको लागि लडेको मान्छे । मन्त्री बनिसकेपछि हामीबाट कुनै गलत कार्य नहोस् भनेर सचेत गराउनुपर्ने मान्छेले नै पैसा मागेर हैरानी दिने गरे । मैले पिताजस्तै मानेको हो गिरिजाबाबुलाई, तर उहाँले सत्तामा पुगिसकेपछि हामीलाई इमानदारीपूर्वक निर्भयका साथ देश र जनताको पक्षमा काम गर्ने वातावरण बनाइदिनुभएन । आफ्नै नेताबाट धेरै ठूलो धोखा भएको महसुस यतिबेला गरिरहेछु ।’

यो पनि हेर्नुहोस्-
गिरिजाप्रसादबाट भएको एउटा धोखा

http://www.ghatanarabichar.com/96742

प्रतिक्रिया






734 Shares
Share734
Tweet
+1
Share