‘महानायक’लाई नयाँदिल्लीमा किन बनाइयो ‘जोकर’ ?

‘महानायक’लाई नयाँदिल्लीमा किन बनाइयो ‘जोकर’ ?



– कुसुम भट्टराई

प्रधानमन्त्री केपी ओलीले यसपालिको आफ्नो भारत भ्रमणमा फिल्मी रङ्ग पनि पोते । बलिउडका कलाकारसँग अन्तरक्रिया गर्ने भन्दै उनले नायक राजेश हमाल र दिनेश डिसीलाई भारत भ्रमणमा लगे । हास्य कलाकार दिपकराज गिरीले आफ्नो फेसबुक स्टाटसमा लेखे, ‘कलाकारले कलाकारलाई सम्मान गरेको पाउँदा खुशी लागेको छ ।’

दिपकराजको स्पष्ट ब्यङ्ग्य थियो कि प्रधानमन्त्री ओली नेता कम कलाकार बढी हुन् । तर, त्यो ब्यङ्ग्यका पछाडि राजेश हमाललाई कलाकारको प्रतिनिधित्व गरेर भारत लैजानुप्रतिको हल्का विमति पनि हुनसक्छ ।

जुन प्रयोजनका लागि हमाललाई भारत लगियो, त्यो केही पनि देख्न पाइएन । भ्रमण–तालिकामा बलिउडका कलाकारसँग हमालको अन्तरक्रियाको कुनै कार्यक्रम रहेनछ । हमालको त्यहाँ कुनै काम देखिएन । हमाल दिल्लीमा ‘फाल्तु जोकर’जस्ता पो देखिए । उनलाई ‘जोकर’ बनाएर प्रधानमन्त्री ओलीले नेपाली चलचित्र क्षेत्रको सम्मान गरे कि उपहास ? प्रश्न खडा भएको छ ।

‘महानायक’को सम्मानमा दिइएको भोजमा भारतका सुपरस्टारहरू अमिताभ बच्चन या शाहरूख खान आउनुपर्ने थियो, हमाल साँच्चै महानायक भएको भए । तर, आए राजपाल यादव । सायद उनीहरूलाई पनि हमालको ‘महानायकी’को वजनबारे हेक्का थियो होला ।

दिल्लीमा नेपाली कलाकारहरूको सम्मानमा होटल इम्पेरियलमा भोजको आयोजना गरिएको थियो । त्यही भोजमा भारतका कलाकार पनि आउने होलान् भन्ने नेपाली पत्रकारहरूको अनुमान थियो । तर, भोजमा एकजना राजपाल यादवलाई मात्र देखियो । अर्थात्, यादव एकजनालाई उपस्थित गराएपछि नेपाली कलाकारहरूका लागि ‘प्रोटोकल मिट’ गरिहाल्छ भन्ने भारतीयले ठानेको देखियो ।

‘महानायक’ हमालजीको सम्मानमा दिइएको भोजमा हुन त भारतका सुपर स्टारहरू अमिताभ बच्चन या शाहरूख खान आउनुपर्ने थियो, हमाल साँच्चै महानायक भएको भए । तर, आए राजपाल यादव । सायद उनीहरूलाई पनि हमालको ‘महानायकी’को वजनबारे हेक्का थियो होला ।

हुन त यादव भारतका विख्यात कलाकार हुन्, तर प्रोटोकलको कुरा गर्दा नेपाली कलाकारको सम्मानमा आयोजित भोजमा कम्तीमा गोविन्दा त आउनुपथ्र्यो, नभए आफुजस्तै हेयर स्टाइल भएका मिथुन’दालाई नै पठाएको भए हुन्थ्यो । तर, हमालजीको त्यहाँ कसैले ‘बाल मतलब’ दिएनन् रे ।

को महानायक ?

राजेश हमाललाई ‘महानायक’ भन्ने गरिएको छ । तर, यो आफैमा विवादास्पद छ । पुराना अनुभवी चलचित्रकर्मीहरू महानायकको पगरी दिने हो भने भुवन केसीलाई दिनुपर्ने बताउँछन् । यसका केही आधार पनि छन् ।

भुवन केसीले अभिनय गरेका ‘सम्झना’, ‘कुुुसुमे रुमाल’जस्ता चलचित्र नेपाली मौलिकपनमा आधारित थिए । ती चलचित्रले नेपाली दर्शकको मन जितेका थिए ।

०४६ सालको परिवर्तनपछि नेपाली राजनीतिमा बिहारी शैली भित्रिएझैँ नेपाली चलचित्रमा ‘बम्बइया फर्मुला’ हाबी भयो । मिथुन चक्रवर्ती र हेमन्त ब्रिजेको स्टाइलमा पछिल्तिर कपाल पालेका नायक राजेश हमालको उदय भयो । न अभिनय, न नौलोपन । बस, बम्बइया कपी क्याटका रुपमा हमालले दर्शकमाझ बर्चस्व जमाए । उनको कालखण्डमा नेपाली चलचित्रले कुनै नयाँ धार पनि स्थापित गरेन, नया ट्रेण्ड पनि सेट गरेन । बरु फिल्म नचलेर निर्माताहरूले धमाधम आत्महत्या गरेको कालखण्ड पो थियो त्यो ।

कुनै पनि कलाकारको खुबीभित्र अभिनय, चलचित्रको ट्रेन्ड सेटिङ र उद्योगको उन्नति पनि पर्छ । राजेशको कालखण्डमा उद्योग धराशायी नै भयो । बरु, सोही कालखण्डमा भुवन केसीले खेलेका ‘कन्यादान’, ‘नेपाली बाबु’, ‘सुपर स्टार’, ‘चिनो’, ‘तँ त बिग्रीस नि बद्री’, ‘करोडपति’, ‘साइनो’जस्ता चलचित्र सुपर–डुपर हिट भए ।

भारतीय कलाकारहरू अमिताभ बच्चन, नसरुद्दीन शाह, शाहरूख खान, नाना पाटेकर, नवाजुद्दीन सिद्दीकी, इरफान खानजस्ता कलाकारमा अभिनयको एउटा विशिष्ट आफ्नै मौलिकपन देख्न पाइन्छ । नेपालमा नीर शाह, टिका पहाडी, मिथिला शर्मा, गौरी मल्ल, सिद्धान्तराम जोशी, सुरवीर पण्डितजस्ता कलाकारमा म त्यो विशिष्ट पारा पाइन्छ । तर, राजेश हमालको अभिनय नाटकीय र सम्वाद उच्चारण पनि घोकन्ते पाराको सुनिन्छ ।

अभिनयका हिसाबले भुवनमा जीवन्तता छ । राजेश हमालमा अभिनयको विशिष्ट गुण खासै देखिँदैन, चिच्याउने र फाइट गर्ने बाहेक । भारतीय कलाकारहरू अमिताभ बच्चन, नसरुद्दीन शाह, शाहरूख खान, नाना पाटेकर, नवाजुद्दीन सिद्दीकी, इरफान खानजस्ता कलाकारमा अभिनयको एउटा विशिष्ट आफ्नै मौलिकपन देख्न पाइन्छ । नेपालमा नीर शाह, टिका पहाडी, मिथिला शर्मा, गौरी मल्ल, सिद्धान्तराम जोशी, सुरवीर पण्डितजस्ता कलाकारमा म त्यो विशिष्ट पारा पाउँछु । तर, राजेश हमालको अभिनय नाटकीय र सम्वाद उच्चारण पनि घोकन्ते पाराको सुनिन्छ । जीवन्त अभिनय क्षमता उनमा मैले पाइनँ । सायद यही कारण त्यो कालखण्डमा राजेशका चलचित्र धेरै बने, तर उद्योग फस्टाएन, नेपाली चलचित्रले दर्शकको मन जितेन ।

बरु, तुलसी घिमिरेले भुवन केसी, श्रवण घिमिरे आदि कलाकारलाई लिएर त्योबेला बनाएका केही चलचित्र बरु हेर्नलायक थिए । भुवन केसी खासमा नेपाली हिरो हुन् । रुप, रङ्ग, जीवनशैली, अभिनय, गायन, फिल्म मेकिङ, अभिनयको विरासत अर्को पुस्तामा हस्तान्तरणलगायत धेरै ‘अनमोल’ गुणहरू भुवन केसीमा पाइन्छ । भुवनले इतिहासमा उल्लेखनीय र हिट चलचित्र दिएका छन् । तर, राजेश हमालको चलचित्र कुन हो भनेर सम्झन लायक कुनै छैनन् ।

यसबीच मित्र नवीन सुब्बाले ‘नुमाफुङ’ नामक सुन्दर फूल लिएर आए र अलप भए । नवीनले नेपाली चलचित्र कस्तो हुनुपर्छ भनेर देखाएका थिए । उनले बनाउने भनेको अर्को चलचित्र ‘गृुडबाइ काठमाडौं’ कहाँ पुग्यो ? त्यो अन्योलमै छ ।

राजेश हमालका चलचित्रले नेपाली चलचित्रलाई पूरै रसातलमा जाकिरहेको बेला निखिल उप्रेतीले केही हदसम्म थेगे, तर उनी पनि बम्बइ फर्मुलाबाट मुक्त हुन सकेनन् । श्रीकृष्ण श्रेष्ठ, दिलिप रायमाझी, विराज बिष्ट, रमेश उप्रेतीको आगमनले उद्योगलाई निरन्तरता दिइरह्यो, तर नेपाली चलचित्रले फड्को मारेन । आर्यन सिग्देल आएपछि केही हदसम्म नेपाली चलचित्रले भुवन केसीजस्तै हयाण्डसम र चकलेटी हिरो पायो । भुवन केसीपछिको स्टारडमको कडी आर्यनमा आएर जोडियो । आर्यनपछि अहिले अनमोलमा त्यो स्टारडमको क्रेज छ ।

‘लुट’ चलचित्रमार्फत जब एकैचोटि निश्चल बस्नेत, दयाहाङ राई, सौगात मल्लहरू आए र दर्शकको मन लुटे, नेपाली चलचित्र माथि उकासीन थाल्यो । हो, नेपाली चलचित्रले भारतीय चलचित्रलाई च्यालेन्ज दिन थालेको ‘लुट’पछि नै हो ।

यसरी हेर्दा सुरुका ‘आमा’, ‘कुमारी’, ‘परालको आगो’, ‘वासुदेव’, ‘सिन्दूर’ ‘जीवनरेखा’, ‘सम्झना’, ‘कुसुमे रुमाल’ आदि नेपाली चलचित्र क्षेत्रको स्वर्णीम युग थियो । त्यसपछि राजेश हमाल इत्यादिको बम्बैया फर्मुलामा आधारित ‘झूर’ चलचित्रहरूको ‘धराशयी युग’ आयो । अनि एकैपटक ‘लुट’पछिको आजको गौरवमय युग । तर, आजका युवाहरू पनि सोचेजस्तो विषयवस्तुमा चलचित्र बनाउन अझै सकिरहेको अवस्था त हैन, तर कोशीस गरिरहेका छन् । जस्तो कि, विपिन कार्कीमा चरित्र अभिनेताको राम्रो सम्भावना छ ।

चलचित्रको महानायक यदि कसैलाइ मान्ने हो भने, भुवन केसीलाई नै मान्नुपर्छ । भुवन आज पनि चलचित्रमा उत्तिकै क्रियाशील छन्, मेकिङमार्फत । छोरा अनमोलमार्फत उनको एउटा ‘चलचित्र घराना’ नै बन्दैछ । आमा, बुबा, छोरा सबै कलाकार ।

यसरी मुल्याङ्कन गर्दा हामीले नेपाली चलचित्रको महानायक यदि कसैलाइ मान्ने हो भने, भुवन केसीलाई नै मान्नुपर्छ । भुवन आज पनि चलचित्रमा उत्तिकै क्रियाशील छन्, मेकिङमार्फत । छोरा अनमोलमार्फत उनको एउटा ‘चलचित्र घराना’ नै बन्दैछ । आमा, बुबा, छोरा सबै कलाकार ।

अचम्म लाग्छ, कसले कहिले, किन र कसरी राजेश हमाललाई के आधारमा महानायक भन्यो ? मिडियाले के आधारमा महानायक लेख्दै आए ? त्यसमा पुनर्विचार गरिनुपर्छ ।

राजेश हमाल एक असल मानिसचाहिँ हुन् । उनी भद्र छन् । भलादमी र प्रतिष्ठित घरानाका हुन् । तर, सायद चलचित्र क्षेत्रमा उनी झुक्किएर प्रवेश गरे र त्यसले उनलाई एकैचोटि माथि हुत्याइदियो । माथि त पुगे, तर त्यसमै अडिरहने कला उनमा भएन । भएको यत्ति हो ।

सुनिन्छ, भारत भ्रमणबाट फर्केर आएपछि उनको मनमा राजदूत हुने चाहना पलाएको छ रे । चलचित्रलाई बम्बइया फर्मुलामा ढालेका थिए, अब कुटनीतिलाई भने त्यस्तो नबनाउन्, कथम् कदाचित राजदूतको चिट्ठा परिहाल्यो भने ।