आयो विवादास्पद अभिव्यक्ति, तेक्वान्दो विवाद चुलिने पक्का

आयो विवादास्पद अभिव्यक्ति, तेक्वान्दो विवाद चुलिने पक्का


श्रीविक्रम भण्डारी

आगामी सेप्टेबरमा इन्डोनेसियाको राजधानी जकार्तामा आयोजना हुन गइरहेको १८औँ एसियाली खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै गत साता मन्त्रीस्तरीय निर्णयअनुसार उच्चस्तरीय समिति गठन गरिएको थियो । राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पाको संयोजकत्वमा गठित नौ सदस्यीय समितिलाई एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने खेल, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको सङ्ख्या निर्धारण गर्ने जिम्मेवारी दिइएको थियो । चैत मसान्तसम्म एसियाडमा सहभागी सङ्ख्या दर्ता गराइसक्नुपर्ने नियमका कारण लामाको समितिलाई यथ्राशीघ्र कार्य सम्पादन गर्न निर्देशन दिएको थियो । सोहीअनुरूप लामाले आफूले फास्टट्र्याकबाट काम गर्ने र समयमै कार्यसम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

एसियाली खेलकुदमा कुन खेलका लागि कति खेलाडी समावेश गर्ने त्यो पहिले नै आयोजकले तय गरिसकेको हुन्छ । त्यसैअनुरूप एसियाडमा सहभागिता जनाउने राष्ट्रले आफ्नो तयारी गरेका हुन्छन् । कुन खेल, कति तौल समूह, कति महिला, कति पुरुष, कति प्रशिक्षक र कति खेलकुद पदाधिकारीले ती खेलमा सहभागिता जनाउने त्यसको छिनाफानो भने सहभागी राष्ट्रले गर्नुपर्छ । सायद त्यो सहभागिता जनाउने राष्ट्रका लागि गाह्रो पनि होइन । किनकि एसियाडमा कति खेल समावेश गरिएको छ त्यो सहभागी राष्ट्रलाई राम्रोसँग ज्ञात हुन्छ । मात्र उक्त राष्ट्रले खेल र खेल सङ्ख्याको छनोट गरेर पठाउने मात्रै हो । यही जिम्मेवारी गत साता मन्त्रीस्तरीय निर्णयवाट उपाध्यक्ष लामा टेन्डी शेर्पालाई दिइएको हो ।

यतिबेला नेपाली खेलकुदका सर्वाधिक चर्चित र एसियाली खेलकुदमा सम्भावित पदक जित्ने खेलको सूचीमा रहेका कराते खेल र कराते खेलका खेलाडी आफ्नै कारणले विवादमा छन् । विगत ६ वर्षदेखि करातेमा चलेको विवाद अहिलेसम्म साम्य भएको छैन । यो जुँगाको लडाइँ आगामी इन्डोनेसियामा आयोजना हुने एसियाडमा पनि देखिने प्रायः निश्चित छ । करातेमा देखिएको राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताको कारण अफिसियल गेम्समा जहिले विवाद आउने गरेको छ । गत इन्चोन एसियाडमा यही विवादका कारण राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीका तर्फबाट खेलाडीले सहभागिता जनाएका थिए । यसरी राष्ट्रियस्तरमा देखिएको करातेको विवाद अन्तर्राष्ट्रियस्तरमा समेत छताछुल्ल भएको थियो । वर्षौंदेखि प्रशिक्षण गरेका करातेका खेलाडीले त्यहाँ खेल्नबाट वञ्चित हुनुपरेको थियो ।

दुई तेक्वान्दो सङ्घ राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएपछि तेक्वान्दो पनि विवादमा परेको छ । यतिबेला राखेपले दुवै सङ्घका खेलाडीलाई आगामी इन्डोनिसियामा आयोजना हुने एसियाडका लागि बन्द प्रशिक्षणमा राखेको छ । दुवै सङ्घले एसियाडका लागि खेलाडी छनोटसमेत गरिसकेका छन् । तर, एसियाडमा कुन सङ्घका खेलाडीले सहभागिता जनाउने भन्नेबारे अहिले विवाद उत्पन्न भएको छ ।

अहिलेको अवस्था पनि त्यस्तै छ, यसमा कुनै सुधार आएको छैन । यही कुरालाई मध्यनजर गर्दै पुनः यो घटना नदोहरियोस् भनेर करातेका मुख्य प्रशिक्षक शोभितराज प्रसार्इंले विवाद समाधान गर्न सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र करातेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यताप्राप्त पदाधिकारीहरूको ध्यानाकर्षण गरिसकेका छन् । साथै प्रसाईंले यो कुरालाई सामान्य रूपमा लिए त्यसको परिणाम नराम्रो हुने चेतावनीसमेत दिएका छन् । इन्चोनमा सम्पन्न एसियाली खेलकुदमा कराते खेलाडीमा आएको विवाद खेलकुदकै लागि लज्जाजनक भएको ठोकुवा गर्दै प्रसार्इंले यस्तो घटना पुनः दोहोरिए आफू चुप लागेर नबस्ने चेतावनी पनि दिएका छन् । साथै दुईवटा कराते टोलीको सहभागिताले आमकराते खेलाडीमा नकारात्मक प्रभाव पारेको भन्दै यो कुरा सदाका लागि समाप्त हुनुपर्ने बताएका छन् । यदि सचेत गराउँदागराउँदै पनि आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न करातेलाई मोहरा बनाए त्यसको खेलकुद पदाधिकारीले ठूलो मूल्य चुकाउनुपर्ने जानकारी गराइसकेका छन् । त्यस्तै करातेका खेलाडीको भविष्यमाथि खेलवाड गरे सातै प्रदेशका खेलाडी दशरथ रंगशाला र सातदोबाटो परिसरमा उतार्नेसमेत प्रशिक्षक प्रसाईंले बताएका छन् ।

दुई तेक्वान्दो सङ्घ राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएपछि तेक्वान्दो पनि विवादमा परेको छ । यतिबेला राखेपले दुवै सङ्घका खेलाडीलाई आगामी इन्डोनिसियामा आयोजना हुने एसियाडका लागि बन्द प्रशिक्षणमा राखेको छ । दुवै सङ्घले एसियाडका लागि खेलाडी छनोटसमेत गरिसकेका छन् । तर, एसियाडमा कुन सङ्घका खेलाडीले सहभागिता जनाउने भन्नेबारे अहिले विवाद उत्पन्न भएको छ । नेपाल तेक्वान्दो सङ्घले आफूलाई विश्व तेक्वान्दो महासङ्घ, कुकिवान र ओलम्पिक कमिटीको मान्यताका आधारमा आफ्ना खेलाडीले मात्रै एसियाडमा सहभागिता गर्न पाउनुपर्छ भन्ने दाबी गर्दै आएको छ । अर्कोतर्फ राष्ट्रिय तेक्वान्दो सङ्घ नेपाल पनि पछि हट्ने अवस्थामा देखिएको छैन । उसले पनि राखेपमा दर्ता भएको राष्ट्रिय सङ्घको समान हैसियतको रूपमा आफूलाई प्रस्तुत गरेको छ । जसले गर्दा तेक्वान्दो विवाद एसियाड खेलकुदको छनोट क्रममा देखिने प्रायः निश्चित भएको छ ।

त्यस्तै, संयोजक शेर्पाले सार्वजनिक रूपमै ‘नेपाल ओलम्पिक कमिटीले तेक्वान्दोको एउटा सङ्घलाई मात्र चिन्छ, त्यो नेपाल तेक्वान्दो सङ्घ हो, ओलम्पिक कमिटीबाट हुने छनोट अन्तर्राष्ट्रिय सहभागिता पनि त्यही सङ्घबाट हुन्छ’ भनेपछि अहिले आगोमा घ्यू थप्ने काम भएको छ । उनको यो विवादास्पद अभिव्यक्तिले तेक्वान्दोको विवादलाई अझ उत्कर्षमा पुऱ्याएको छ । लामा जिम्मेवार पदाधिकारीको रूपमा प्रस्तुत नहुनु अहिले तेक्वान्दो विवादको नौलो पाटो बनेको छ । सर्वप्रथम दुवै सङ्घलाई मिलाएर कार्य गर्नुपर्नेमा संयोजक लामाले किन सार्वजनिक रूपमा यस्तो वक्तव्य दिए त्यो अहिले चर्चाको विषय बनेको छ । एसियाली खेलकुदमा कुनै तेक्वान्दो सङ्घका खेलाडी सहभागिता दिने नभई नेपालका तेक्वान्दो खेलाडीले सहभागिता दिने हुन् । यसमा कुनै आपत्ति गर्नुपर्ने कुरा पनि देखिँदैन । यसर्थमा कि एसियाडका लागि दुवै सङ्घका खेलाडीबीच हुने प्रतिस्पर्धाबाट जुुन खेलाडी विजय हुन्छ त्यही खेलाडीले सहभागिता जनाउने हो । यसमा ओलम्पिक मान्यताको सवाल कहाँबाट आयो ? लामाले यस्तो वक्तव्य किन सार्वजनिक गरे यसमा समेत षड्यन्त्रको गन्ध आएको छ । अन्यथा उनी संयोजक हुन् भने निष्पक्ष रूपमा खेलाडीको छनोट गर्ने प्रक्रियालाई अगाडि बढाउनुपथ्र्यो, तर उनी एकोहोरो नेपाल तेक्वान्दो सङ्घको पक्षमा किन बोले त्यसको चिरफार गर्नुपर्नेछ ।

लामाले एकतर्फी रूपमा नेपाल तेक्वान्दो सङ्घको पक्षमा वकालत गरेपछि राष्ट्रिय तेक्वान्दो सङ्घका अध्यक्ष शिव कोइरालाले लामालाई चुनौती दिएका छन् । यदि आफ्नो सङ्घका खेलाडीलाई पूर्वाग्रह राखेर बाइपास गर्न खोजे या छनोट प्रक्रियालाई अन्योलमा पारे त्यसको परिणाम सम्बन्धित सबैले भोग्नुपर्ने चेतावनी दिएका छन् । कोइरालाले भने, ‘हामी कुनै विवाद गर्न चाहँदैनौँ, हाम्रो चाहना स्पष्ट छ, राखेपले एसियाडका लागि छनोटको मिति तोकोस्, प्रतिभाबीच प्रतिभाको प्रतिस्पर्धा हुने भिडन्तमा जसले जित्छ त्यही एसियाडका लागि छनोट हुन्छ ।’ कुरा मात्र यति हो, यदि यसमा राखेपलगायत अन्य खेलकुदका निकायले षड्यन्त्र गरे त्यो आफूलाई सह्य नहुने उनले बताए । त्यसपछि खेलकुदमा घट्ने घटनाको जिम्मेवारी तिनै निकायले लिनुपर्ने दाबी उनको छ । त्यसपछि हामी खेलकुदमा कस्तो शक्ति प्रदर्शन गर्छौँ त्यो खेलकुदका पदाधिकारीहरू लागि भारी पर्ने उनको गर्जन थियो ।