‘तेल भिसा’ लाग्यो रे नि…

‘तेल भिसा’ लाग्यो रे नि…


– बबिता बस्नेत

तेल भिसाबारे सुन्नुभएको छ ? कार्यालयमा काम गरिरहेका बेला सहकर्मी पत्रकार साथी श्रीविक्रम भण्डारीजीले मुस्कुराउँदै सोध्नुभो र आफँै फेरि खित्का छोडेर हाँस्नुभो । तेल भिसा ? साथीहरूले प्रश्न गरे । खाडीमा काम गर्न जाने भिसा होला नि, देवप्रकाशजीको अनुमान रह्यो । मैले धेरैपटक सुनिसकेको हुनाले सामान्य रूपमा लिएँ । हेर्नु न हाम्रो एक छिमेकीको छोराले बाबुआमालाई अमेरिका बोलाएको, भिसा लागेपछि तिनका आफन्तले उहाँहरूको पनि तेल भिसा लागेछ, ल बधाई छ भने । मैले त सुरुमा बुझिनँ, छोराको बच्चा जन्मिन लागेको रहेछ, बच्चालाई तेल लाउन जाने भएकाले तेल भिसा रे…हा…हा…।

तेल भिसाका बारेमा साथीहरूले गरेको विश्लेषण सुन्दै गर्दा लाग्यो, ओहो…हामी कहाँबाट कहाँ पुग्यौँ ? हाम्रा मूल्य–मान्यता, हाम्रो संस्कार, हाम्रो पृष्ठभूमि…हेर्दाहेर्दै आँखैअगाडि के भयो ? कता जाँदै छ ? सन्तानले बाबुआमालाई विदेश घुम्न बोलाए… देशबाहिर कहिल्यै नगएका, अन्तर्राष्ट्रिय त के डोमेस्टिक एयरपोर्ट नै नदेखेका आमाबाबु आफ्ना सन्तान भेट्न विदेश यात्रा गर्न लागे भनेर गौरव गर्नुको साटो हाँसोको पात्र बन्दै छन् । आफ्ना जन्मदातालाई सन्तानले आफूसँग बोलाउँदा पनि व्यङ्ग्यात्मक हाँसो हाँस्ने यस्तो परिस्थितिको सिर्जना कसरी भयो त ?

मानिसले सन्तान किन जन्माउँछन् ? जब कि सन्तान नजन्माउनका लागि वैकल्पिक उपायहरू प्रसस्त छन । सन्तान नहुँदा मान्छेले भोग्ने पीडा कति र कस्तो छ भनेर बुझ्नका लागि निःसन्तान केन्द्र या सोही प्रकारका क्लिनिकहरूमा सन्तान जन्माउने अपेक्षासहित डाक्टर भेट्न लाइन बसेकाहरूको मुहारमा हेर्नुपर्ने हुन्छ । सन्तान नहुँदा एउटा दुःख, हुँदाका अनेकथरी दुःख र तनाव सन्तान हुनेहरूलाई थाहा छ । तथापि सन्तान हुनु आफैँमा एउटा सुखद अनुभूति हो । त्यसैले त मानिसमा सन्तान हुनुको खुसी फरक प्रकारको हुन्छ । शास्त्रले भन्छ, ‘दश वर्षसम्म एउटै कुवाको पानी पिउने छोरा काम लाग्दैन ।’

छोरीहरूलाई विवाह गरेर दिने परम्पराका कारण तत्कालीन अवस्थामा छोरा भनिए पनि अहिलेको अवस्थामा यसलाई सन्तान भनेर बुझ्नुपर्ने हुन्छ । दश वर्षसम्म एउटै कुवाको पानी नखानु भन्नुको अर्थ पढे–बढेपछि घरबाहिर गएर तरक्की गर्नुपर्छ भनिएको हो । शास्त्रमा लेखिएको यो कुरा नपढीकनै सानोतिनो तरक्की गर्न हामी गाउँ छोडेर परदेसिएका थियौँ । अहिले धेरैका सन्तान अध्ययनका क्रममा बिदेसिएका छन । यता रोजगारीको सिलसिलामा बिदेसिनेको सङ्ख्या दैनिक १५ सय जति छ । अध्ययनका क्रममा युरोप अमेरिका गएर उतै आफ्नो कर्मथलो बनाउनेहरूको सङ्ख्या ठूलो छ ।

विदेशलाई कर्मथलो बनाएपछि अहिले कतिपय सन्तानले आफ्ना बाबुआमालाई आफू बस्ने देश घुमाउन लाने गरेका छन् । आफ्ना सन्तानको पौरख हरेक बाबुआमालाई प्रिय लाग्छ । छोराछोरी कस्तो ठाउँमा बसेका छन्, हेर्न मन लाग्नु स्वाभाविक हो । सन्तानले अमेरिका, युरोप या आफू बसेको अन्य कुनै पनि ठाउँमा बोलाउँदा बाबुआमाका पाइला मनसँगै अगाडि बढ्छन् । अहिले धेरै बाबुआमाले छोराछोरीका कारण विदेश देख्न पाएका छन् । प्लेन, ट्रान्जिट, पृथक् लवाइखवाइ, फरक मान्छेहरू, आफ्नो सानो संसारमा रमाइरहेका आमाबाबुहरूका लागि बिदेशको यात्रा रोमाञ्चकारी हुनुपर्ने हो ।

तर, कतिपय बाबुआमाका लागि विदेश जाँदाको उत्साह फर्कंदा ‘भइहाल्यो छोराछोरी हुन् ठिकै छ, उनीहरूलाई राम्रो होस्’ भनेर चित्त बुझाउनुपर्ने अवस्थामा पुगेको देखिन्छ । आमाबाबुलाई नदेखेको धेरै भयो देखिहालुँ, नभेटेको धेरै भयो भेटिहालुँ भन्ने चाहनाले भन्दा पनि बच्चा जन्मिन लाग्यो, अब स्याहारसुसारका लागि मान्छे राख्न सकिँदैन, यस्तो बेलामा बाबुआमालाई नबोलाए कसलाई बोलाउने ? भनेर बोलाइने हुँदा उनीहरूले सोचे या चाहेजस्तो भूमिका बाबुआमाले निर्वाह गर्न सकेनन् भने व्यवहार पनि सोहीअनुरूपको हुने रहेछ । त्यसैले विदेशमा छोराबुहारी या छोरीज्वाइँसँग बसेर निःशुल्क मजदुरी गरी फर्किएपछि ‘अब त नजाने’ भन्ने अभिभावकको सङ्ख्या बढ्दै गएको देखिन्छ । ‘अब फेरि कहिले जाने होला’ भनी दिन गनेर बस्नेहरू पनि छन् । सन्तानबाट माया र सम्मान पाउनेहरू पछिल्लो पङ्क्तिमा पर्छन् । आफ्ना बाबुआमालाई माया र सम्मान दिने श्रवणकुमार–कुमारीहरूको सङ्ख्या पनि ठूलो छ ।

बच्चा पाएपछि मात्रै बाबुआमालाई बोलाउने चलनका कारण अभिभावकले विदेश जानका लागि प्राप्त गर्ने गरेको भिसा बद्नाम भएको हो । बुढेसकालमा सँगै राख्नुपर्ने आफ्ना जन्मदातालाई केही समयका लागि बोलाउन पनि किन बच्चा पाइरहनुपर्ने ? बच्चा पाउनुअघि नै कम्तीमा एकपल्ट बोलाइदिने हो भने बाबुआमालाई सुसारे बनाइएको अनुभूति त हुने थिएन । साउँको भन्दा ब्याजको माया भन्ने नेपाली उखान छ । सन्तानको भन्दा नातिनातिनाको माया अगाध हुन्छ भनिन्छ । नाति–नातिनीको स्याहार गर्न पाउनु, उनीहरूलाई आफ्नो हातले तेल लाउन, खुवाउन र काखमा राखेर हुर्काउन पाउनु कुनै पनि अभिभावकका लागि सुखद अनुभूति हो । जुन अनुभूति जिन्दगीमा हरेक बाबुआमाले गर्न चाहन्छन् । अनुभूति नितान्त व्यक्तिगत हुने भएकाले यो ऐच्छिक हुनु राम्रो हो । पारिवारिक दायित्वको कुरा पनि आउँछ । परेकै बेला त हो सहयोग गर्ने । सन्तानलाई साह्रोगाह्रो परेका बेला नसघाउने बाबुआमा के काम ? पनि भन्न सकिएला । तर, जब कुनै कुरा मनबाट नभई जबर्जस्ती गर्नुपर्ने हुन्छ त्यो एकप्रकारको बोझझैँ हुन्छ ।

कतिपय सन्तानले अमेरिकामा बोलाएका अभिभावकलाई एकछिन बच्चा रुँदा ‘बच्चालाई यसरी रुवाउने भए तपाईंको के काम ? यही बच्चाको लागि त यत्रो पैसा खर्च गरेर बोलाएको’ भनेको पनि पाइयो । छोरा–बुहारीको यस्तो वचन खाएर फर्किएकी एक आमाले यो पंक्तिकारसँग ‘जति दुःख पाए पनि आफ्नै घरमा बस्छु, अब अमेरिका कहिल्यै जान्नँ’ भनेकी थिइन् । हामीले हाम्रा बच्चाहरूलाई आत्मविश्वास बढोस् भनेर त्यहीअनुरूपले हुर्कायौँ, तर आमाबाबुलाई केही दिन राख्दा आफूसँग भएको आत्मविश्वास उनीहरूले खस्काइदिए भन्नेहरू पनि छन् । जुन कुरा विदेश बस्ने मात्र नभएर यहीँ बस्नेहरूमा पनि लागू हुन्छ । यही विषयमा कुरा गर्दै जाँदा गत वर्ष अबुधाबी एयरपोर्टमा भेटिएकी एक आमाले भनेकी थिइन्, तेल लाएर पनि जस कहाँ छ र ? तिमीहरूका जस्ता हुन् हाम्रा बच्चा भनुँलाझैँ पो गर्छन् त ।

हाम्रो संस्कारमा बाबुआमालाई भगवान्को अर्को रूप मानिन्छ । महाभारतमा यक्षले गरेको पहिलो प्रश्नमा सोधिएको छ, पृथ्वीभन्दा भारी के हो ? जवाफमा युधिष्ठिर भन्छन्, आमा । दोस्रो प्रश्न सोधिन्छ, आकाशभन्दा अग्लो के छ ? जवाफ हुन्छ, बाबु । तर, यिनै आमाबाबुको भूमिका अहिले सुसारेमा परिणत हुँदै छ । विदेशमा मात्र होइन, नेपालमै पनि यो क्रमको सुरुवात भइसकेको छ । बाबुआमाले आफ्ना सन्तान भेट्न जाँदा व्यङ्ग्य गर्ने परिस्थिति बन्नु निश्चय नै राम्रो होइन । आफ्नो मनले दिन सक्ने ममतालाई ‘इरिटेट’ गर्ने गरेर परिवर्तित गर्न खोजिएको यो भूमिकालाई सन्तानहरूले पुनरावलोकन गरेनन् भने अभिभावक र सन्तानबीचको दूरी झन्झन् बढ्ने देखिन्छ । सकुशल रहियो भने सन्तानलाई दिनका लागि सम्पूर्ण जिन्दगी बाँकी रहे पनि आमाबाबुलाई आदर, सम्मान र माया गर्नलाई हुर्किएका हरेक सन्तानका लागि समय धेरै हुँदैन । त्यसैले यो प्रचलित तेल भिसाको छविलाई रद्द गरी ‘बाबुआमा भिसा’मै कायम राखिरहन विदेशमा बस्ने सन्तानले सोच्नुपर्ने देखिन्छ ।

यो पनि हेर्नुहोस्-

‘तेल भिषा’ होस् वा ‘थाङ्ने भिषा’ : सोचअनुसारको नामाकरण
https://ghatanarabichar.com/98250