रासायनिक आक्रमणमा परेकी युलिया अस्पतालबाट फिर्ता

रासायनिक आक्रमणमा परेकी युलिया अस्पतालबाट फिर्ता


रासायनिक आक्रमणबाट घाइते भएकी रुसका पूर्व गुप्तचरकी छोरी युलिया स्कृपाल सोमबार अस्पतालबाट घर फिर्ता भएकी छिन् । घाइते हुनेबित्तिकै अस्पताल भर्ना गरिएकी उनको स्वास्थ्य अवस्थामा सन्तोषजनक सुधार आएपछि घर फिर्ता गरिएको अस्पतालका अधिकारीहरुले जनाएका छन् ।

उनीसहित उनका बुबा सेर्गेइ स्कृपाललाई गत महिना मार्च ४ तारिखका दिन सलिस्बुरीमा रासायनिक आक्रमण भएको थियो ।

बिबिसीले लेखेको समाचारअनुसार ३३ वर्षीया छोरीलाई अस्पतालबाट घर पठाइए पनि उनका ६६ वर्षीय बुबा सेर्गेइलाई भने अझै केही दिन अस्पतालमै राखेर उपचार गरिनेभएको छ ।

घटनाको अनुसन्धान गरिरहेको मेट्रोपोलिसले भने यस विषयमा केही प्रतिक्रिया नदिएको समाचारमा जनाइएको छ ।

यसअघि गत हप्ता युलियाको तर्फबाट जारी गरिएको विज्ञप्तिमा आफ्नो स्वास्थ्यमा सुधार आइरहेको र त्यसले आफूलाई खुशी बनाएको उल्लेख गरिएको थियो । उनले आफू एक हप्ताअघि मात्र होसमा आएको विज्ञप्तिमा उल्लेख गर्नुभएको थियो ।

रासायनिक पदार्थ प्रयोग गरी आक्रमण गरिएको उक्त घटनाले अन्तर्राष्ट्रिय कूटनीतिक संकट निम्त्याएको छ । उनीहरुमाथि भएको आक्रमणमा रुस जिम्मेवार रहेको बेलायतले आरोप लगाएपछि कूटनीतिक संकट फैलिएको हो । रुसले भने बेलायतको आरोपको पटक पटक खण्डन गर्दै आइरहेको छ ।

यही आरोप प्रत्यारोपका बीचमा रुसका कैयौँ कूटनीतिज्ञहरु विभिन्न देशबाट निकालिएका छन् भने रुसले पनि विभिन्न देशका कूटनीतिज्ञहरुलाई आफ्नो देशबाट निकाला गरेको छ ।