राष्ट्रिय खेल डण्डी बियोलाई संरक्षण गर्न चलचित्र ‘डमरुको डण्डीबियो’

राष्ट्रिय खेल डण्डी बियोलाई संरक्षण गर्न चलचित्र ‘डमरुको डण्डीबियो’


डण्डीबियो नेपालको पुरानो अनि राष्ट्रिय खेल हो । तर हिजोआज यो बिस्तारै लोप हुने अवस्थामा पुगेको छ । कुनैबेला बच्चादेखि बृद्धसम्मका सबैले मन पराउने खेल डण्डीबियोलाई संरक्षण गर्न नसकेका कारण यो विस्तारै लोप हुने अवस्थामा पुगेको हो ।

सिधा काठको सानो एउटा टुक्रालाई दुबैतिर तिखो बनाएर तयार पारिने डण्डी र झण्डै डेढ मिटर लामो लोरौलाई बियो बनाएर यो खेल खेलिनेछ । तर पछिल्लो समय नयाँ नयाँ खेल तथा इलेक्ट्रोनिक खेलका कारण राष्ट्रिय खेल डण्डीबियो खेल लोप हुने अवस्थामा पुगेको छ ।

नेपालबाट लोप हुँदै गएको यो खेललाई पुर्नताजगी गर्नको लागि ‘डण्डीबियो’ फिल्म बनेर नेपाली जनतामाझ आएको छ । कुनैबेला नेपाल को राष्ट्रिय खेल समेत रहेको तर अहिले भने बिस्तारै लोप हुँदै गएको डण्डीबियोको कथालाई मुख्य बिषय बस्तु बनाएर चलचित्र निर्माण गरिएको हो ।

छेतेन गुरुङको निर्देशन रहेको ‘डमरुको डण्डीबियो’ मा खगेन्द्र लामिछाने, मेनुका प्रधान, अनुप बराल, बुद्धि तामाङ र लक्ष्मी बर्देवाको सशक्त अभिनय देख्न सकिनेछ ।

चलचित्र आगामी बैशाख २१ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । चलचित्रमा लोप हुने अवस्थामा पुगेको डण्डीबियोको महिमा र यसले समाजमा पार्ने सकरात्मक प्रभावका बारेमा उजागर गर्न खोजिएको छ ।
चलचित्रमा खगेन्द्रका साथमा मेनुका प्रधान, अनुप बराल, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का, नमिता घिसिङ लगायतका कलाकारको मुख्य भूमिका छ ।

समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा विनोद गुरुङ र सुमी श्रेष्ठ घलेको लगानी छ । मनाङका सफल पर्यटन व्यवसायी, समाजसेवी, कलाकार तथा संचारकर्मी समेत रहेका विनोद गुरुङले नेपाली समाजमा जरो गाडेर बसेको र सबैको मन मुटुमा टाँसिएर बसेको पुरानो खेल डण्डीबियोलाई ग्रामिण पर्यटनसँग जोड्न आवश्यक रहेको बताए ।

‘चलचित्रको ७५ प्रतिशत छायांकन लमजुङस्थित सार्क राष्ट्रकै नमुना पर्यटकिय गाउँको रुपमा विख्यात घलेगाउँमा नै गरिएको छ ।’ लगानीकर्ता गुरुङले भने, ‘चलचित्रले नेपालमा रहेका ग्रामिण पर्यटन प्रवद्र्धनका लागि पनि सहयोगी भुमिका निर्बाह गरेको छ ।’

छेतन गुरुङले निर्देशन गरेको चलचित्रको कथा खगेन्द्रले नै लेखेका हुन् । चलचित्रमा प्रितम पाण्डेको सम्पादन, कालिप्रसाद बाँस्कोटाको संगीत, हरि हुमागाँइको छायांकन छ । आगामी बैशाख २१ गते प्रदर्शन गर्न लागिएको यो चलचित्र अन्यभन्दा फरक शैलीमा निर्माण भएको चलचित्र निर्माण पक्षले जानकारी दिएको छ ।