घरेलु मदिरा पिउँदा ६० जनाको मृत्यु

घरेलु मदिरा पिउँदा ६० जनाको मृत्यु


गैरकानूनी रूपमा बनाइएको घरेलु मदिरा सेवन गर्दा इन्डोनेसियामा कम्तिमा ६० जनाको मृत्यु भएको र दर्जनौँ नागरिकलाई अस्पताल भर्ना गरी उपचार भैरहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । मदिरा सेवनबाट विरामी परेका केही अन्य व्यक्तिको स्वास्थ्यस्थिति अझै गम्भीर रहेकोले मृतकको सङ्ख्यामा केही वृद्धि हुन सक्ने बताइएको छ ।

यस घटनापछि प्रहरीले विश्वको सबैभन्दा ठूलो मुस्लिम राष्ट्र इन्डोनेसियाका विभिन्न शहरमा गैरकानूनी रूपमा बनाइएको घरेलु मदिरा छापा मार्ने र यसमा संलग्न व्यक्तिलाई पक्राउ गर्न व्यापक खानतलासी शुरु गरिएको छ ।

धेरैजसो इन्डोनेसियाली नागरिकले इस्लामको नरम नीतिलाई अवलम्बन गर्दै मुलुकका ठूला शहरमा मदिरा विक्रीलाई अभ्यास गर्दै आएका छन् । तर चर्को करले ब्रान्डेड मदिराको मूल्य बढी हुन जाँदा न्यून आम्दानी भएका नागरिकले भने घरमा बनाइएको असुरक्षित मदिराको सेवन गर्ने गर्छन् ।

असुरक्षित मदिरा सेवन गरेर भएको पछिल्लो घटनामा विगत एक हप्ताको अवधिमा पपुवामा आठसहित पश्चिमी जाभा क्षेत्रमा ६२ जनाको मृत्यु भएको इन्डोनेसियाको प्रहरी र स्वास्थ्यकर्मीले दिएको तथ्याङ्कमा छ ।

खोकीको औषधि, लामखुट्टे मार्न प्रयोग गरिने कीटनासक रसायनलगायतका रसायनको मिश्रण गरी बनाइएका घरेलु मदिरा बजारमा जाँदा यसको सेवनबाट धेरै नागरिकको ज्यान गुमेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै एजेन्सीहरुले जनाएका छन् ।

असुरक्षित मदिरा बजारमा आपुर्ति गर्ने ठूला विक्रेता तथा डिस्ट्रब्युटर्स रहेका आशंकामा खोजी गरिरहेको र राजधानीकै कुनै भागमा दुई दर्जन मानिसको असुरक्षित मदिरा सेवनका कारण मृत्यु भएको भन्ने खबरप्रति सुरक्षाप्रशासन थप सम्वेदनशील बनेको इण्डोनेसियली प्रहरीले बताएको छ ।

असुरक्षित मदिरा सेवनका कारण सन् २०१६ मा पनि इन्डोनेसियाको मध्य जाभा क्षेत्रमा घरेलु मदिराको सेवनबाट ३६ जनाको मृत्यु भएको थियो ।