ब्यवसायमा जम्दै किसन केसी

ब्यवसायमा जम्दै किसन केसी


डिल्लीराम अम्माई (बेल्जियम)

बेल्जियममा बसोबास गर्ने जापानिज खानको पारखीहरुको लागि किसन केसी कुनै नौलो नाम होइन तर उनलाई युरोपको नेपाली डायस्पोरामा ब्यवसायीको रुपमा कम र खेलाडीको रुपमा बढी चिन्छन्। ब्यवसायीको रुपमा चिनुन् पनि कसरी ? नेपालको राष्ट्रिय तथा अन्तरास्ट्रिय संचार माध्यमले अहिलेसम्म संसारभर छरिएर रहेका नेपाली ब्यवसायीका बारेमा खोजी गर्ने जमर्को गरेको छैन ।

१० वर्ष बेल्जियममा अथक लगनशीलता, पेशागत इमान्दारिता र सृजनशील उद्यमताले सम्मानित भइसकेका किसन केसी युरोपको नेपाली डायस्पोराका एक सफल व्यवसायी मात्र नभएर नेपालका प्रख्यात राष्ट्रिय कराँते खेलाडी पनि हुन्। अहिले उनी बेल्जियममा नेपाली खेलाडी संघका अध्यक्ष समेत छन्।

उनले बेल्जियममा नेपाली खेलाडीहरुको क्षमता बिस्तारमा नयाँ पुस्तालाई सघाइरहेका छन्। तर पनि उनी आफूलाई व्यवसायीको रुपमै परिचय दिन मन पराउँछन् ।

सरल स्वभाव र मिजासिला केसी समाजसेवा र सामाजिक कार्यमा पनि औधी रुचि राख्दछन् । उनी एक्लैले मात्रै नेपालमा भूकुम्प जाँदा मात्र नभएर सबै प्रकारका राहतको लागि सहयोग गरिरहेका हुन्छन्। बेल्जियम निवासी केसीसंग हाल केही जापानिज सुसी रेस्टुरेन्ट संचालनमा छन् भने भर्खरै आफ्नै भवनमा मिटिङ्ग कक्ष र मनोरञ्जनको लागि ग्याम मेसिनसहितको एउटा नेपाली क्याफे शुरु गरेका छन् ।

खेलकुदमा पटकपटक राष्ट्रिय तथा अन्तर्रास्ट्रिय अवार्ड पाएका खेलाडी केसी सुसी रेस्टुरेन्टअन्तर्गत सृजनशील व्यवसायी विधाको सेवा तथा सफाइमा समेत उत्कृष्ट छानिएका छन् । उनले भर्खरै संचालनमा ल्याएको क्याफे नेपाली स्वादको खाना, नेपाली स्वादका मासुका प्रकार र स्वादिष्ट ममको लागि छोटो समयमा नै सबै नेपालीको रोजाइमा परेको देखिन्छ। आन्त्वेर्पेनको सेन्ट्रल स्टेशननजिक भान स्ट्रालेनस्त्रातमा रहेको सो क्याफेमा बैठक हल र सम्मेलन कक्षसमेत रहेको छ।

त्यस्तै बेल्जियमका सफल शुशी ब्यावशायी तथा गैरआवासीय संघका अध्यक्ष लोक दाहालको टिमले पनि यही सहरमा ब्यवशायिक रुपमा नेपाल घर संचालनको लागि सुबवधासम्पन्न घर किनिसकेको जनाइएको छ। बेल्जियममा नेपालीहरुले अधिकांश रुपमा शुशी ब्यवसाय गरेका छन्। जसमा सफल ब्यवसायी राम घले, आरबी घले, सिपी भट्ट, सहदेव गौतम, विमल सुब्बा, नारायण चित्रकार, चिजकुमार श्रेष्ठ, पदम गुरुङ, चित्र गुरुङ लगायत छन्।

अन्य प्रकारका ब्यवसायीमा चिजकुमार श्रेष्ठ (शिलु), सरु चापागाईं ,हरि कार्की, तेजेन्द्र कँडेल, कृष्ण खतिवडा, कमल पन्थी, अर्जुन तिवारी, कृष्ण तिवारी, राजु घिमिरे, श्रीप्रसाद सापकोटा, लोक राना लगायत रहेका छन्। बेल्जियममा हालसम्म १५० भन्दा बढी स्थापित ब्यवसायी रहेको जानकारी नेपाली ब्यवसायी संघका अध्यक्ष सीपी भट्टले जानकारी दिएका छन् ।