तपाईंको दृष्टिमा

तपाईंको दृष्टिमा


your-visionराजेन्द्र थापा, साहित्यकार, लेखक तथा स्तम्भकार
धेरै परिचय हुनु नै राजेन्द्र थापाको परिचय ठानिन्छ । १६ सालमा ८ वर्षको उमेरमा वीरगन्जबाट पहिलो कविताबाट साहित्य–यात्रा सुरु गरेका राजेन्द्र थापाको २६ सालमा पहिलो गीत रेकर्ड भयो । यिनका असङ्ख्य हिट गीतले गर्दा गीतकारको परिचयले बढी प्रचार पाए पनि कथा र कवितामा किशोर अवस्थामै सिद्धहस्त भइसकेका थिए । ३३ र ३६ सालमा एकेडेमीबाट कवितामा क्रमश: कास्य र स्वर्ण पदक पाए पनि प्रचलित कविता शैलीप्रति नै असन्तुष्ट हुन पुगेकाले कवितामा लामो समय छायामा बसे पनि गत तीन वर्ष अगाडि अचानक डेढ वर्ष लगाएर नयाँ शैलीको, कथामा जस्तो प्लट भएको छोटा कविता करिब डेढ सयजति लेखेर ‘तेस्रो व्यक्ति’ नामक बजारमा ल्याउने कार्यमा छन् । साथै २९ सालमा उपन्यास लेखे पनि पान्डुलिपि प्रकाशकले हराइदिएका कारणसमेतले ३७ सालपछि कथालेखन छोडेका राजेन्द्रले हाल मङ्सिर १३ देखि कुनै एक चर्चित ग्ल्यामर महिलाका जीवन, प्रेम र यौन मनोविज्ञानमा आधारित बहुचर्चित हुन सक्ने आशा बोकेको ‘खेलौना’ नामक उपन्यासको तीन चौथाइ लेखिसकेको र चाँडै प्रकाशनमा आउने बताउँछन् राजेन्द्र ।
आफ्नो ज्ञान र प्रतिभाको पूर्ण प्रयोग गरेका सर्जक थापा हाल दैनिक करिब सोह्र–सत्र घन्टा उक्त उपन्यासमा व्यस्त छन् । राजेन्द्र थापाका गीतसङ्ग्रह एक, गजलसङ्ग्रह तीन र मुक्तकसङ्ग्रह दुई प्रकाशित छन् । यस्तै चारवटा गजलसङ्ग्रह र एक मुक्तकसङ्ग्रहको पान्डुलिपि तयार छन् उनका । कैयौँ हजार गीत लेखिइसकिएको भए पनि गीतको सङ्ग्रह निकाल्ने मन नरहेको बताउने उनका करिब तीन सयभन्दा बढी स्तम्भलेखन र डेढ सयभन्दा बढी लेखहरू विभिन्न दैनिक र साप्ताहिकमा प्रकाशित छन् । विगतमा … यसपालि त मनै फाट्यो, पर लैजाऊ फूलहरू, झिरमा उनिनु, दिलमाया, आँखा बस्र्यो, मेरो खुकुरीको नौलो कथा, यो मन त तलाऊ होजस्ता गीत लेखेका राजेन्द्र थापा अहिलेका पनि चर्चित गीतकार हुन् । नयाँ पुस्ता–शैलीका दर्शन नमस्ते, क्या दामी भो, याद गर्न पनि, मन चङ्गा भो, बद्मास भैराछन् लगायत दर्जनौँ गीत अहिलेको पनि टप लिस्टमा रहेर उनका गीतियात्राले ४४ वर्ष लगातार शिखरमा पुग्न सफल हुनु उदेकलाग्दो ठान्छन् समालोचकहरू । यिनै सर्जक ‘तपाईंको दृष्टि’का लागि नवीन उप्रेतीसँग यसरी प्रस्तुत भए ।

० जीवन के हो ?
– राजमार्गको एक गाडी : हातमा स्टेरिङ, एक्सिलेटरमा खुट्टा, तर साँचो कोसँग थाहा नहुने ।
० प्रेम के हो ?
– उही जीवनको गाडीमा कुनै स्टपमा भेटिने, नजिकिने र कुनै स्टपमा छुट्टिने पेसेन्जरको साथ ।
० सुन्दरता के हो ?
– हेर्दा हेरूँहेरूँ, बोल्दा बोलुँबोलुँ, छुँदा छोऊँछोउँm लाग्ने अस्थायी भाव र प्रभाव ।
० मन के हो ?
– नचाहिएसम्म केही होइन, चाहिएपछि यही सबथोक हो । सुखको आधार पनि यही र दुखको कारण पनि यही ।
० भावना के हो ?
– कहिले तनबाट आउने, मनबाट जाने, कैले मनबाट आउने, तनबाट जाने, बतास हो भावना । कहिले सिरसिर मात्र कहिले सुनामी ।
० विवाह के हो ?
– नभएसम्म नभइनहुने भएपछि नभए पनि हुने, फेरि नभए फेरि नभइनहुने काउसो ।
० बन्धन के हो ?
– जोडिँदा छुट्टिने मन छुट्टिँदा जोडिने मन ।
० अपमान के हो ?
– नपचाएसम्म पखाला हो, पचाएपछि हजमोला हो । सम्मान लिनसक्ने गरी दह्रो र खरो बनाउने पाचक ।
० इज्जत के हो ?
– पाउँदा मह गुमाउँदा आसुको दह ।
० बेइज्जती के हो ?
– उही अपमानजस्तै हो पचाउनेलाई हजमोला र नपचाउनेलाई पखाला ।
० मिलन के हो ?
– टाढाटाढाबाट धाएर आएर दशैँमा भइने जमघट हो मिलन । खानपिन र टीकाटालोपछि छुट्टिन हतार ।
० विछोड के हो ?
– हतारहतार छुट्टिनु, छुट्टिनेबित्तिकै फेरि भेट्ने चाहनाले सताउने मनस्थिति ।
० जवानी के हो ?
– बिहान उर्लेर आउने, दिउँसो कुर्लेर बस्ने, राती निहुरेर झ्यालबाट खस्ने पाहुना ।
० बालापन के हो ?
– बेलामा नभइनहुने, बेलामा नगइनहुने, रंग हो बालापन : तरङ्ग ।
० तृष्णा के हो ?
– काउसो हो काउसो तृष्णा ।
० रिस के हो ?
– रिस आफैंसँग भएको यस्तो सम्पत्ति हो जुन खर्च गर्ने मौका र ठाउँ छान्न सकेन भने आपँैmलाई बैंकरप्ट घोषणा गराइदिन्छ ।
० जोस के हो ?
– आफैंमा जन्मने यस्तो शक्ति जसमा होस भएन भने आपँैmलाई विष बनाउने सञ्जीवनीको काम गर्छ ।
० नसा के हो ?
– नलागेसम्म लिइरहुँ–लिइरहुँ लाग्ने नसा हो नसा, लागेपछि दशा हो नसा ।
० यौन के हो ?
– ब्रह्माण्ड खुम्चिएर मान्छेभित्र बनेको ब्ल्याकहोल हो यौन, जसमा वरिपरिका आकाशगंगाहरू सदैव चक्कर काटेर हुर्रिएका हुन्छन्, विलीन हुन अनि फेरि विस्फोटित भएर पैmलिन ।
० सन्तुष्टि के हो ?
– भोकाएको बेला खाएको टन्न भात हो सन्तुष्टि । जुन तत्कालै पच्न थाल्छ र पच्ने क्रममै फेरि भोक लागेर असन्तुष्टि जन्माउन थाल्छ ।
० कर्तव्य के हो ?
– सबैले भन्छन्– गर्नैपर्छ, तर गर्न कोही नचाहने कर्मको नाम ।
० विश्वास के हो ?
– छ भने अङ्गालो हो छैन भने भंगालो ।
० असल के हो ?
– अरूलाई देखाउन हुने कुरो ।
० खराब के हो ?
– अरूलाई देखाउनै नहुने कुरो ।
० सबैभन्दा ठूलो धोका के हो ?
– अरूलाई ढाँट्दा–ढाँट्दा, ढाँटेको कुरा आफैंलाई साँचो लाग्दै आफैंले आफैंलाई दिइने धोका नै सबैभन्दा ठूलो धोका हो ।
० प्राप्ति के हो ?
– जुन पाइया छैन त्यो नपाएसम्मको चाहना हो प्राप्ति । जो पाउने क्षणदेखि नै जसको प्राप्ति सकिन्छ ।
० दु:ख के हो ?
– सुखको चाहना ।
० सुख के हो ?
– नपाएसम्मको पाउने कल्पना, जुन पाउनेबित्तिकै दु:खमा परिवर्तित हुने प्रक्रिया सुरु हुन्छ ।
० खुसी के हो ?
– पलभरको घाम बादल लागेको हिउँदमा ।
० आनन्द केमा छ ?
– जुन रहेसम्म विष्मात भुलिन्छ ।
० मित्र को हो ?
– जसको भर छैन, जोसँग डर लाग्छ किनभने नाङ्गोलाई ऊ नाङ्गै भनिदिन्छ, बाङ्गोलाई बाङ्गो ।
० शत्रु को हो ?
– अङ्गालो मारेर छुरा धस्ने मित्रहरू ।
० सङ्घर्ष के हो ?
– जनमको ढोकादेखि मरणको कोठासम्म पुग्न गरिने प्रत्येक कोसिस र कर्म हो सङ्घर्ष ।
० आस्था के हो ?
– आफूले पत्याएको कुरा ।
० धर्म के हो ?
– जुन गरेर पछुताउनुपर्दैन । (कर्मकाण्ड भने पटक्कै होइन धर्म)
० नैतिकता के हो ?
– सही र गलतबीचको साँध छुट्याएपछि मात्र देखिने कित्ता जग्गा हो नैतिकता ।
० चरित्र के हो ?
– अरूलाई धाक दिन लगाइने नयाँ पोसाक
हो चरित्र ।
० ज्ञान के हो ?
– जसले अरू नयाँ अज्ञानता देखाउँछ ।
० बुद्धि के हो ?
– आफू खुव बाठो छु, अरूलाई मूर्ख बनाउन सकिन्छ भन्ने अचेतनताबाहेकका सबै चेत बुद्धि हो ।
० सम्झौता के हो ?
– हारलाई जितमा बदल्ने रणनीति हो सम्झौता ।
० सृष्टि के हो ?
– शून्यबाट अनन्तता ।
० गुरु को हो ?
– जो आफू गोबरै रहेर पनि चेलाचेलीलाई मीठो सख्खर बनाएर गर्व गर्छ ।
० राजनीति के हो ?
– नेपालको हकमा जनतालाई बेवकुफ बनाई, ब्रह्मलुट गरेर पनि राजनेताको इज्जत पाइने, नैतिकताको देहव्यापार ।
० देश के हो ?
– नेपालीका हकमा विदेशमा मर्न जाँदा नागरिकतामा लेखिने नाम हो देश । विदेशीका लागि नेपालमा पसेर सत्ता र भत्ता खाँदै नेपालीलाई नै प्रवाशी भन्ने हक लिन नयाँ नागरिकतामा लेखिने नाम हो देश ।
० समाज के हो ?
– स: सद्भाव, मा: मानवता, ज: जवाफदेही केही पनि नरहेको संस्था हो समाज ।
० पद के हो ?
– भएसम्म उन्मत्त भैरव, नभएपछि स्वाट्टै लुत्रुक्क हुने पुरुषको (लिङ्ग) जस्तो
० विकास के हो ?
– सरकारको उत्पाते घोषणा, योजना आयोगको रातो किताब, एनजीओको गुड फर पेमेन्ट चेक ।
० व्यापार के हो ?
– सरकारको संरक्षणमा, कर्मचारीको भक्षणमा, नाफाखोर र फौबन्जारेहरूका हकहितका लागि सिन्डिकेट बनाएर उत्पादक र उपभोक्तालाई गरिने वैध बलात्कार हो व्यापार । (तर आजको यो विश्वमा नेपालका हकमा मात्र लागू हुन्छ यो परिभाषा)
० अनुशासन के हो ?
– आफैंले आफैंमाथि लागू नगरी नहुने विधि हो अनुशासन ।