कोरियन लेखक र साँझमा ठोक्किएका काँचका गिलासहरू

कोरियन लेखक र साँझमा ठोक्किएका काँचका गिलासहरू


-दीपक मणी दाजुभाइ
हामीले उसलाई दुवै हात जोडेर मुठ्ठी पार्न भन्यौँ ।
उसले त्यसै गरी । हामीले उसको दुवै हात नजिकै ल्याएर हेर्दै भन्यौँ, ‘त्रि्रो व्यायफ्रेन्ड त्रि्रो अन्डरमा रहेछ ।’
‘के भनेको’ उसले बुझिनँ ।
‘त्रि्रो व्यायफ्रेन्डले तिमीले भनेको सबै मान्दोरहेछ ।’ हामीले अङ्ग्रेजीमा भनेको कुरालाई उसले मुस्किलले बुझी र कोरियन भाषामा नै खोई के के हो बोली । हामीसँगै रहेका दोभाषे राम गुरुङले त्यसको नेपाली अनुवाद गरिदिए, ‘मसँग जोडिएपछि त्यति पनि नगरोस् त । मैले जे भन्यो त्यही मान्नु परिहाल्यो नि । तर तिमीले कसरी थाहा पायौ ?’ उसले भनेकी रहिछ ।
‘त्रि्रो हातको बुनोट हेर्दा त्यस्तो लाग्छ ।’
‘अरू के-के हेरेर बोल्न सक्छौ तिमी ?’ ऊ हाँसी । हामी पनि हाँस्यौँ । मधु त मूर्छा नै पर्‍यो । गौरी नेपाली नाम भएकी उसको कोरियन नाम ली गुम ही हो । दक्षिण कोरियाकी नाम चलेकी लेखिका । मुस्किले ३५ वर्ष भएकी उसले अहिलेसम्म बिहे गरेकी छैन । भन्छे, ‘विवाह भनेको फुर्सदमा गर्ने हो ।’
‘प्रेम गर्न मात्र हतार गर्नुपर्छ होइन ?’ हामीले भनेपछि ऊ हाँसी ।
‘चेयर्स ।’ हाँस्दै उसले भनी । हामीले गिलास ठोक्यौँ । लगभग सबैले एक-अर्कासँग गिलास ठोक्यौँ । अनामनगरको यो नयाँ-नयाँ रेस्टुरेन्ट गुञ्जायमान भयो- काँचका गिलासका आवाजले ।
यतिखेर हामी नेपाली र कोरियन लेखकहरू गरेर २८ जना छौँ । दुईदिने सिन्धुपाल्चोक यात्रा सकेर हामीहरू भर्खरै काठमाडौंको अनामनगर ओर्लिएका । यी कोरियनहरू त भोलि नै कोरिया फर्किंदै छन् । नेपालमा रहँदा यिनीहरूले धेरै गाउँपाखा घुमे । दुर्गम र पिछडिएका वर्गका बालबालिका पढ्ने विद्यालयहरूलाई सहयोग पनि प्रदान गरे । यसै क्रममा कोरियन लेखकहरूले सिन्धुपाल्चोकको मानेस्वारा गाविसमा रहेको महाकाली निम्नमाध्यमिक विद्यालयलाई सहयोग सामग्री हस्तान्तरण गरे ।
त्यही कार्यक्रममा नेपाली स्रष्टाहरूले हिमाललाई साक्षी राखेर कोरियन लेखकहरूका कथाहरूको नेपाली अनुवाद समेटिएका तीन कृति पनि विमोचन गरे ।
‘कहाँ हरायौ ?’ हाम्रो छेउमा मम प्लेट राखिदिँदै गुम हीले भनी, ‘किन स्याड भयौ नि ?’
‘तिमी अब केहीबेरमा गइहाल्छ्यौ, यो गिलास ठोकेको आवाज मात्र रहन्छ हामीसँग ।’ हाम्रो कुराले ऊ गम्भीर भइन । बरु ऊसँगै धित मारेर हाँस्न थाले हये युन र उसकी छोरी । त्यसो त हामीसँगै हाँसिरहेका थिए ली म्यो चिङ, किम युङ सिङ र ह्याङ सुङ योल । ह्याङ सुङ योल कोरियाली बाल तथा किशोर लेखक समाजको संयोजक पनि हो । नेपालसम्मको यात्राको संयोजन उसैले गरेको हो ।
हाँस्दै उनीहरूले फेरि गिलास ठोक्न ल्याइपुर्‍याए, ‘ग्याम्बे’
हामीलाई लाग्यो यो पहिलो र अन्तिम साँझ हुनसक्छ उनीहरूसँग रमाइलो गरेको । त्यसो त हिजो साँझ पनि हामी सँगै थियौँ । यही अनामनगरबाट गाडी चढेका हामी सिन्धुपाल्चोकको मानेस्वारासँगै एकसाथ नै थियौँ ।
बलेफीभन्दा अलि उता सुकुटेमा पुगेपछि नै हामीले परिचयलाई अगाडि बढाएका थियौँ । थोरै टुटेफुटेका कोरियन भाषा बोलेपछि उनीहरू हामीसँग अलि बढी झ्याम्मिएका थिए ।
त्यसो त गाडीमा हामीले सर्वाधिक श्रद्धा गरेका श्रीओम श्रेष्ठ रोदन, कृष्ण प्रर्साईं, डा. खगेन्द्रप्रसाद लुइँटेल, होम भट्टराई, साथीहरू छविरमण सिलवाल, विजयराज आचार्य, मधु पाठक, चंकी श्रेष्ठ, सङ्गीतकार प्रदीप बम्जनलगायत हुनुहुन्छ ।
बाह्रबिसेबाट हिँड्दै र गुड्दै साँझमा हामी मानेस्वारा पुगेका । थकाइ र पसिनाका बीच हामीले तामाङ गाउँ र त्यहाँका सुन्दर तामाङ्नीहरूको मीठो आतिथ्य पायौँ । अझ छिरिङ, रूपक, रोजी र टीकामायाले हामीलाई गरेको सम्मान र माया सम्झनायोग्य नै रह्यो । स्थानीय चिनबहादुर र रेशबहादुर लामाहरूको सहयोग पनि कम रहेन ।
साँझ कोरियन लेखकहरू यति थाके कि हामीसँगै पिउने र रमाइलो गर्न पनि पाएनन् । तर, पछि हामीहरू स्थानीयवासीहरूसँग नाच्न र गाउन थालेपछि उनीहरू पनि कम्मर मर्काउन आइपुगे । नेपाली शैलीको अनुशरण गर्दै उनीहरूले कम्मर मर्काएको हेर्न लायक थियो । स्थानीयवासीहरू मूर्छा परी-परी हाँस्थे ।
रात हामी छरिएर सुत्यौँ । हाम्रो भागमा मधु पाठक र डा. खगेन्द्रप्रसाद लुइँटेल पर्नुभयो । हामीले होम स्टे गरेको घर थियो रोजीको । उसले सक्दो मानमनितो पनि गरी । कहाँसम्म भने ओच्छ्यान र सिरानी छानी-छानी दिई । ७० वर्षकी हजुरआमा रहिछिन् घरमा । उनको कुरा कम मार्मिक थिएन । उनलाई के लाग्दो हो कुन्नि । उनले रोजीलाई देखाउँदै हामीलाई भनिन्, ‘मेरी यो एउटी नातिनी छे, क्याम्पस पढ्छे, जसरी पनि यसलाई राम्रो काम मिलाइदिनुपर्‍यो । अझ सकिन्छ भने त कोरिया नै छिराइदिनुपर्‍यो ।’
हामीले बुढीआमाको संवेदनालाई बुझ्न त सक्यौँ तर सम्बोधन गर्न सकेनौँ ।
बिहान रोजी र उसका साथीहरू टीका र छिरिङलाई जिस्क्याउँदै उठाइयो र कफी पिएर देवीथानतिर उक्लियौँ । चढ्नेक्रममा डा. लुइँटेल, सङ्गीतकार प्रदीप बम्जन, श्रीओम दाजु, छवि, होम र मधु सँगै हुनुहुन्थ्यो ।
उक्लिरहँदा हामीलाई लाग्यो, जीवनको सौर्न्दर्य अग्लाइहरूमा रहेछ । जसरी देखियो सुन्दर बस्ती, जसरी देखियो अनुपम हिमाल र जसरी देखियो नीलो आकाश त्यो कहाँ गहिराइहरूबाट देखिनु ?
स्थानीय रोटी र काठमाडौंबाट बोकेर लगेको पाउरोटी नास्ता खाएर हामी सबै महाकाली निमाविको प्राङ्गणमा ओर्लियौँ । डेढ घन्टामा औपचारिक कार्यक्रम सकियो । यो सब कार्यक्रमको चाँजोपाँचो मिलाउनुभएको थियो- कृष्ण प्रर्साईं दाजुले । उहाँकै संयोजनमा यो यात्रा र कार्यक्रम तय भएको हो ।
साहित्य र सद्भाव विस्तारका लागि यो यात्रा फलदायी भयो भन्ने हाम्रो विश्वास छ । त्यसो त यस किसिमका साहित्य सद्भाव यात्राको संयोजन कृष्ण दाइले पटकपटक गरिसक्नुभएको छ । अझ दुई वर्षअघि गरेको भारतको दार्जिलिङ, सिक्किम र सिलगुढीको यात्रा अत्यन्त उपलब्धिपूर्ण रहेको यतिखेर सम्झना आइरहेको छ ।
कार्यक्रम सकिएपछि चिनबहादुरको घरमा हामीले खाना खायौँ- अपराह्नतिर । कोरियनहरू बाह्रबिसेसम्म हिँडेर आए । हामीहरूचाहिँ गाडीमा नै आयौँ । बाह्रबिसेबाट गुडेका हामी एकैचोटि अनामनगर आएर रोकिएका हौँ ।
र यो नै अन्तिम साँझ रह्यो कोरियन लेखकहरूसँग ।