गिरिजाप्रसादबाट भएको एउटा धोखा

गिरिजाप्रसादबाट भएको एउटा धोखा


हरमद कोइराला

पहिलोपटक प्रधानमन्त्री बनेका (०६५) बेला माओवादी अध्यक्ष प्रचण्ड आफ्नो विकल्प बन्न सक्ने हैसियतमा कसैलाई देख्दैनथे र आफूलाई बाहिर राखेर यो मुलुकमा कसैले सरकार सञ्चालन गर्न सक्ने कल्पनासम्म उनी गर्दैनथे । सेनापतिसँग निहुँ खोज्दा प्रचण्ड आफैँ पद त्याग गरेर सत्ताबाट बाहिरिनुपरेको घटना नेपालको इतिहासमा अङ्कित भइसकेको छ । ०६६ वैशाखमा प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नयाँ सरकारको नेतृत्व काङ्ग्रेस या एमालेमध्ये एउटाले लिनुपर्ने स्थिति उत्पन्न भयो ।

काङ्ग्रेसको नेतृत्वमा सरकार गठन हुँदा कुनै पनि निहुँमा, कुनै पनि समय नेकपा एमाले सरकारबाट बाहिरिन सक्छ भन्ने अनुमान काङ्ग्रेसका नेताहरूले गरेकोले काङ्ग्रेसबाट सरकारको नेतृत्वमा दाबी भएन । बरु एमालेका नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन तात्कालिक काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाबाट अग्रसरता लिइयो । त्यसबेला एमालेको अध्यक्ष तथा संसदीय दलको नेता पदमा झलनाथ खनाल भएकोले उनलाई ‘बाइपास’ गरेर माधव नेपाललाई प्रधानमन्त्री बनाउनु सहज र सरल कार्य थिएन । तथापि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको सक्रियतामा उक्त कठिन कार्यलाई सहज तुल्याउँदै माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाइएको थियो ।

०६६ को जेठमा माधव नेपाललाई प्रधानमन्त्री बनाउन सक्नु गिरिजाप्रसाद कोइरालाको निम्ति तात्कालिक राजनीतिक सफलता थियो । नेपाल प्रधानमन्त्री बनेलगत्तै विमलेन्द्र निधिलगायतलाई समावेश गरेर गिरिजाप्रसाद कोइरालाले मन्त्रिमण्डल गठनका विषयमा संवाद गरी सहमति गर्न एउटा कार्यदल बनाएका थिए र उक्त कार्यदलले सरकारमा सहभागिताको आधार, स्वरूप तथा सङ्ख्यालगायतका विषयमा एमालेसँग संवाद गरिरहेको थियो । त्यसबेला एमालेका तर्फबाट वर्तमान राष्ट्रपति विद्या भण्डारी गृहमन्त्री बन्ने भन्ने चर्चा व्यापक रूपमा चलिरहेको थियो ।

त्यस्तैमा एक दिन गिरिजाप्रसाद कोइरालाले खुमबहादुर खड्कालाई महाराजगञ्जस्थित संसदीय दलको कार्यालयमा बोलाए । त्यसताक खुमबहादुर खड्का गिरिजाप्रसादको रोजाइमा थिएनन्, ०५९ मा काङ्ग्रेस विभाजन हुँदा खड्काले देउवालाई साथ दिएको घटनापछि कोइराला चिसिएका थिए । तथापि कोइरालाप्रति खड्काको सम्मान र आस्थामा कमी देखिँदैनथ्यो । त्यसैले गिरिजाको बोलावट भएपछि तत्काल खड्का उनको निवासस्थान पुगेका थिए । खुमबहादुर कोठामा प्रवेश गर्नेबित्तिकै गिरिजाले भने, ‘खुमबहादुर मलाई तिमीले सहयोग गर्नुपऱ्यो ।’

गिरिजाको वाक्य पूरा हुन नपाउँदै खुमबहादुरले जवाफ फर्काए, ‘भइहाल्छ नि गिरिजाबाबु, बाबु समान हुनुहुन्छ, मैले बीपीपछि सधैँ तपाईंलाई नै नेता मान्दै आएको छु, तपाईंको हरेक आदेशको पालना पनि गरेकै हुँ । कसले के सुनाएर हो तपाईं आफैँ मबाट टाढिनुभएको हो । अहिले पनि भन्नुहोस् न के गर्नुप¥यो म तयार छु ।’

खुमबहादुरका कुरा सुनिसकेपछि गिरिजाप्रसाद बोले, ‘तिमी गृहमन्त्री भइदिनुपऱ्यो।’ गृहमन्त्रीको जिम्मेवारी पाउनु खुमबहादुर खड्काका लागि वास्तवमा त्यसबेला राजनीतिमा पुनर्जीवन पाउनुजस्तै थियो । उनले खुसी हुँदै भनेका थिए, ‘भइहाल्छ नि, तपाईंले भनेको मैले केचाहिँ नाइँ भनेको छु र ?’

यसरी खड्काले गृहमन्त्री बन्न खुसीसाथ स्वीकार गरेपछि कोइरालाले थपे, ‘तर सरकारको नेतृत्वचाहिँ उपप्रधानमन्त्री भएर सुजाताले गर्छे ।’

सुजाताको नेतृत्वमा सरकारमा जाने कुरालाई खुमबहादुरले सहज मान्न सकेनन् र भने, ‘म सुजाताजीलाई पनि सहयोग गरिहाल्छु, मलाई मन्त्री बनाइरहनुपरेन, बरु पार्टीको महामन्त्री बनाइदिनुहोस् ।’ खुमबहादुरले असजिलो मानेको गिरिजाप्रसादले बुझे र भने, ‘तिमीलाई महामन्त्री पनि बनाउँछु, सुजातालाई कुनै अनुभव छैन, तिमीले नै चलाउने हो, ऊ परराष्ट्र मन्त्रालय लिएर जान्छे ।’

गिरिजाप्रसादले महामन्त्री बनाइदिने वचन दिएपछि खुमबहादुर सुजाताको नेतृत्वमा सरकारमा सहभागी हुन मञ्जुर भए । उनले मञ्जुरी दिनेबित्तिकै कोइरालाले सुपुत्री सुजाता कोइरालालाई त्यहीँ बोलाए र, ‘अर्को कोठामा बसी खुमबहादुर र तिमी मिलेर मन्त्रिमण्डलमा सामेल गर्ने व्यक्तिहरूको नाम टुङ्गो लगाउनु’ भने । कोइरालाको आदेशअनुसार खुमबहादुर र सुजाताले मन्त्रिमण्डलमा समावेश गर्नुपर्ने व्यक्तिहरूको नाम टुङ्गो लगाए र, गिरिजाप्रसाद कोइरालासमक्ष पेस गरेपछि नामहरू पढ्दै गिरिजाले प्रतिक्रिया जनाएका थिए, ‘यो श्रममन्त्रीमा आफताव आलमलाई राख्दा छिमेकी देश असन्तुष्ट हुने हो कि ? ठीकै छ, यो म मिलाउँछु । ल तिमीहरू दुवैलाई बधाई छ राम्ररी काम गर्नू ।’

यसरी त्यस दिन गृहमन्त्री बन्ने निश्चित भएर खड्का घर फर्किएका थिए । मन्त्रिमण्डलमा सहभागी हुनेहरूको सूची तयार भइसकेपछि गिरिजाप्रसादले प्रधानमन्त्री माधवकुमार नेपाललाई यससम्बन्धी जानकारी पनि गराइसकेका थिए । तर, काङ्ग्रेसतर्फको नाम टुङ्गो लागिसकेपछि पनि कैयन दिनसम्म मन्त्रिमण्डललाई पूर्णता दिइएन । दिनहुँ विमलेन्द्र निधिको कार्यदल एमालेसँग संवादमा बस्थ्यो र फर्कन्थ्यो । सुजाता र खुमबहादुर खड्काहरू तत्काल मन्त्रिमण्डल घोषणा हुने विश्वासमा प्रतीक्षारत थिए । धेरै दिनसम्म मन्त्रिमण्डललाई पूर्णता नदिइएपछि एक दिन खुमबहादुर खड्काले विमलेन्द्र निधिलाई सोधे, ‘होइन विमल, सरकार गठनमा किन ढिलाइ भएको हो ? हाम्रोबाट त नाम दिइसकेकै छ क्यारे, केले रोकिएको हो ?’

निधिलाई मन्त्रिमण्डलमा काङ्ग्रेसको तर्फबाट सामेल हुनेहरूको नाम टुङ्गो लागिसकेको भन्ने कुनै जानकारी थिएन । खुमबहादुरको प्रश्नको जवाफ विमलेन्द्र निधिले जे दिए, सुनेर खड्का स्तब्ध र चकित बनेका थिए । निधिको भनाइ थियो, ‘सबै कुरा मिलेको हो, गृह मन्त्रालय कसले लिने भन्नेमा कुरा अड्किएको छ । गिरिजाबाबुले हामीलाई कुनै हालतमा गृह मन्त्रालयचाहिँ नलिनू, एमालेलाई नै दिनु भन्नुभएको छ, माधव नेपालचाहिँ गृह मन्त्रालय काङ्ग्रेसले नै लैजानुपर्छ भन्नुहुन्छ ।’

यस दिनदेखि गिरिजाप्रसाद कोइराला कसरीसम्म षड्यन्त्र गर्न सक्छन् भन्ने कुराको थप तथ्यज्ञान खुमबहादुर खड्कालाई भएको थियो । पछि कुनै बेला खड्काले गिरिजासँग आफूलाई किन त्यसरी बेवकुफ बनाइएको भनेर प्रश्न गर्दा गिरिजाले भनेका थिए, ‘हेरन, कृष्ण सिटौला, शेखर कोइराला र गोकर्ण पौडेलहरूले तिमीलाई गृहमन्त्री बनाइनुहुँदैन भने, मेरो केही लागेन ।’

ज्ञातव्य छ, दुई पार्टीबीच लामो समयसम्म माथापच्ची भएपछि अन्ततः गृह मन्त्रालय आफ्नै भागमा राख्न प्रधानमन्त्री माधवकुमार नेपाल बाध्य भएका थिए । उनको मन्त्रिमण्डलमा गृह मन्त्रालयको जिम्मेवारी अछामी नेता भीमबहादुर रावललाई दिइएको थियो । गिरिजाप्रसादले खुमबहादुर खड्कालाई यस किसिमले धोखाधडी गर्नुभन्दा पहिले संसदीय दलको नेता चयन गर्ने बेला (०५१) मा, कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीबाट विस्थापित गराउने क्रम (०५६ चैत) मा, एमालेको विभाजनको समय (०५४) मा र जलस्रोतमन्त्रीबाट जिम्मेवारी मुक्त गर्ने क्रम (०५७ साउन) मा पनि धोखाधडी गरेका थिए । उल्लिखित चारवटै सन्दर्भमा भएको रोचक तर दुःखद् धोखाधडीबारे समयाक्रममा पाठकहरूसमक्ष प्रकाश पारिनेछ ।

नेकपा एमालेका नेताहरू २०५४ सालमा आफ्नो दल विभाजनमा मुख्य भूमिका निर्वाह गरेका कारण खुमबहादुर खड्काप्रति सकारात्मक थिएनन् । तर, एमालेका नेताहरूले खड्कालाई सिध्याउन भनेर कुनै बेग्लै अग्रसरता लिएको सङ्केतहरू कहिल्यै देखिएको थिएन ।

यो पनि हेर्नुहोस्-
नेता खुमबहादुरसँगका केही रोचक सम्झना

https://ghatanarabichar.com/97139