युवा स्वदेशमै ठगिन्छन्, विदेशको के कुरा गर्ने ?

युवा स्वदेशमै ठगिन्छन्, विदेशको के कुरा गर्ने ?


– रसना ढकाल

घटना नम्बर १

कौशलटारबाट एक महिला रत्नपार्कको लागि माइक्रोमा चढिन् । सिंहदरबारनजिक पुग्दा सहचालकले भाडा माग्यो, उनले ५० रुपियाँको नोट दिइन् । सहचालकले पैसा फिर्ता गरेन उल्टै यति नै भाडा हो भनेर टार्न खोज्यो । गाडीमा रहेका अरु कोेहि पनि बोलेनन् । ती महिलालाई भाडा दर कती हो भन्ने थाहा थिएन ।

घटना नम्बर २

कोटेश्वरबाट तीनजना युवा सिनामंगलको लागि गाडी चढे । तीनजनाको भाडा उनीहरूले रु. १५० तीरे । सहचालकले फिर्ता गर्नुपर्ने रकम फिर्ता गरेनन्, झन् त्यसमाथि पैसा थोरै भयो भन्दै सहचालक कराइरहेका थिए । ती युवाहरूले हामीसँग यति नै छ भन्दै सहचालकलाई पैसा दिन मानेनन् । केहिबेर सहचालक र ती युवाहरूको बीचमा भनाभन भयो । गाडीका चालक केही बोलेनन् । वास्तवमा ती युवाहरूले पहिले नै धेरै पैसा दिइसकेका रहेछन् । उनीहरूलाई भाडा दर थाहा छैन भन्ने कुराको आभास सहचालकले थाहा पाइसकेका थिए त्यसैले त अझै पैसा मागिरहेका थिए ।

घटना नम्बर ३ :

यस्तैगरि यात्रामै ठगिएका अर्का प्रत्यक्ष प्रमाण हुन्, सिन्धुपाल्चोकका १७ वर्षीय रमेश विक । रमेशलाई गोर्खा घर बताउने लक्ष्मण भट्टले पैसा दिएको ४ दिनमै ओमनको भिसाको साथै ओमनको निजी कम्पनीमा काम लगाइदिने भन्दै ५ लाख रुपियाँ ठगेका रहेछन् । रमेशलाई अलिकती पनि भान भएन ती युवाको झुठो खेलमा परेको छु भनेर । रमेशसँग न त ती एजेन्ट बताउनेको कुनै मेनपावरको ठेगाना छ न त फोन नम्बर छ । प्रहरीमा उजुरी लिएर जाने हो भने प्रमाण अपुग त्यसमाथि लेनदेन जस्तो देखिने यस्तो प्रकारको घटनाको प्रहरीले उजुरी लिदैन । बैदेशिक रोजगार विभागमा उजुरी दिन जाउ भने मेनपावर कुन हो थाहा छैन । सिधै अदालतमा गई फिराद दिने हो भने रमेशसँग लक्ष्मणको वास्तविक ठेगाना पनि थाहा छैन । रमेशले ती युवालाई काठमाडौ आउने क्रममा यातायातमा भेटेका थिए ।

नेपाल सरकार यातायात व्यवस्था विभागले दुरी अनुसारको सार्वजनिक भाडा दर तोकेको छ । गाडीमा यात्रुले कम्तिमा पनि १३ रुपिया भन्दा धेरै तीर्नु पर्दैन । यदि लामो दुरी छ भने २४ रुपिया तीर्नु पर्ने हुन्छ । तर अधिकांश यात्रुहरूलाई वास्विक भाडा दर थाहा नहुँदा सजिलैसँग ठगिन पुग्छन् ।

माथिका यी उदाहरण सामान्य लाग्छ, किनकि हामी अक्सर यस्तो व्यवहार सार्वजनिक यातायातमा देखिरहेका हुन्छौँ । अनेकथरिका व्यक्ति यात्रा गरिरहेका हुन्छन् । कती व्यक्ति आँखाको अगाडि ठगिएका हुन्छन् तर कोही पनि खासै चासो देखाउँदैनौँ । एक त अर्काको कुरामा किन चासो लिने भन्ने हुन्छ भने ‘आ.. जेसुकै होस्’ भन्ने तर्क पनि सबैको मनमा आउँछ ।
तर यहाँ कुरा यातायातको होइन ज्ञानको हो । त्यसमाथि पनि आफनो देशभित्र चल्ने यातायातको हो । यसरी जो–कोहि पनि ठगिन सकिन्छ । सामान्यतया यति कुरा त थाहा होला भन्ने जस्तो लाग्छ । तर ती व्यक्तिहरूलाई केहि पनि थाहा भएको हुँदैन । यस्तै थाहा नहुँदा अधिकांश युवा ठगिन पुग्छन् । यही प्रकृया वैदेशिक रोजगारमा जाने युवाहरूमाथि हुन्छ ।

तिनीहरू यसैगरि ठगिको शिकार भएर डुबेको देख्छौँ । व्यक्तिले वैदेशिक रोजगारको लागि ठग्ने प्रकृया यहि हो केवल भिन्नता छ, बाह्य र भित्री यातायातको मात्र। जसले जति भन्यो त्यतिकै पैसा दिने पछि ठगिए भन्दै प्रहरी र बैदेशिक रोजगार विभाग जाने । यस्ता घटना निम्तिनुको पछाडि अज्ञानताको परिकाष्टा हो भन्न्नेमा दुइमत नहोला । सामान्य तया आफनो देश भित्रको कुन रुटमा कति पैसा लाग्छ भन्ने सामान्य जानकारी समेत नभएका यी ब्यक्तिहरूलाई वैदेशिक रोजगारमा पठाई दिन्छु भन्ने जो कोहि एजेन्टको कार्य गरिरहेका व्यक्तिले सजिलै सँग ठग्न सक्छ । त्यसमाथि त झनै दुर्गम स्थानका युवाहरू त काठमाडौ पनि नआई एजेन्टको भरमा एकैपटक विमानस्थल पुगेका पनि उदाहरण हामीसँग छन् ।

राम्रो जीवन सुखि जीवन सबै ब्यक्तिको चाहना हो । यसैको प्राप्तीको लागि जो कोहि पनि विदेशिन्छन् । तर विदेशको माटोमा टेक्नुभन्दा पहिले उनीहरू आफनै देशमा ठगिन्छन् । मेनपावर कम्पनिहरूले एजेन्टहरूलाई किरा–फट्याङ्ग्राको जस्तो छोडेका हुन्छन् । एजेन्टहरू आफनो तरिकाले युवायुवतीलाई ठग्दै मेनपावरसम्म ल्याएर विदेशमा राम्रो जागिर लगाइदिने भन्दै प्रलोभनमा पार्छन् । कति मेनपावरहरूले आफ्नो एजेन्टलाई कार्यालयको लागि चाहिने यति हो त्यसपछि तिमी तिनीहरूसँग आफनो तरिकाले पैसा लेउ भन्ने गरेको पनि उदाहरण प्रशस्त पाइन्छ ।

बैदेशिक रोजगारको लागि नेपाल सरकारको प्रयास :

नेपाल सरकारले २०७२ साल अषाढमा तत्कालीन श्रम राज्यमन्त्री टेकबाहादुर गुरुङले असुरक्षित बन्दै गइरहेको बैदेशिक रोजगार र चौतर्फी मारमा परिरहेका कामदारहरूको ख्याल राख्ने भन्दै कामदार जाने देशअनुसारको खर्च लाग्ने सरकारी नियम बनाए । हुन त राज्यमनत्री गुरुङको यस कदमभित्र पनि कुनै व्यक्तिगत लाभको चाल छुपेको भनी आलोचना नभएको होइन । तर ‘फ्रि भिसा फ्रि टिकट’को व्यवस्थालाई सिद्धान्ततः नराम्रो भन्न सकिन्न ।

त्यसैगरि खाडी मुलुक र मलेसियाको हकमा ‘फ्रि भिसा फ्रि टिकट’ लागु गरिएको छ । त्यस नियमको नेपालमा सबै मेनपावरहरूले विरोध जनाए । फलस्वरुप व्यवहारमा यो अझै लागू हुन सकेको छैन । नेपाल सरकारले गरेको यस्तो निर्णय किन पूर्ण रुपमा कार्वन्यन हुन सकेको छैन भन्ने प्र्रश्नमा, बैदेशिक रोजगार प्रवद्र्धन बोर्डका शाखा अधिकृत ताराबहादुर कँुवर भन्छन्– ‘हतारको निर्णय र फुर्सदमा पछुताउने प्रवृत्तिबाट हामी मुक्त हुन सकेको छैनौँ । बैदेशिक रोजगारको हकमा मेनपावरहरू बलियो छन् र सरकार कमजोर छ, त्यसकारण समस्या छ । अर्कोतिर सबैलाई विदेश जान हतार छ, जसले जति पैसा भन्यो त्यति दिने प्रवृत्तिका कारण यस्तो समस्या निम्तने गर्छ ।’ उनका अनुसार सरकारी नियम यस्तो छ है, सरकारले तोकेको भन्दा रकम हामी दिँदैनौँ भनेर पनि कामदारहरूले नभन्ने प्रवृत्ति रहेकोले मेनपावर कम्पनीहतको मनोमानी रहेको छ ।

देशको आर्थिक भार रेमिटान्सले चलेको छ भन्दै सरकारले विगुल त फुक्छ तर जसको कारणले रेमिटान्स बढेको छ उनीहरूको अवस्था कस्तो छ भनेर सरकारले खासै चासो देखाएको हुँदैन । वैदेशिक रोजगारमा गएपछि त्याहाँ पाउने दुःख–सुख को कहानी छुट्टै छ । त्यसका लागि दोषी को भन्नेमा सबै अल्मलिएको देखिन्छ ।

कामदारको कमजोरी :
समुन्द्रपारिको देश, त्यहाँ त रुखमै पैसा फलेको हुन्छ भन्ने सबैले सोचेका हुन्छन् । हरेक व्यक्तिको सपना हुन्छ उसको भविष्य सुन्दर होस् । त्यसका लागि उ हदैसम्मको कार्य गर्न पनि पछि हट्दैन । उसले पछिको लागि आफ्नो वर्तमानलाई दाउमा राखेर विभिन्न कृयाकलाप गर्छ । त्यस कृयाकलापहरूभित्र पर्ने प्रमुख गन्त्व्य हो बैदेशिक रोजगार । नेपाल सरकार बैदेशी रोजगार विभागका सुचना अधिकृत मोहन अधिकारीले जानकारी दिएअनुसार गत २०७३ ७४ मा २४ सय उजुरी परेकोमा १५ सय व्यक्तिगत छ भने ९ सय मेनपावरहरूको छ । व्यक्तिगत कार्वाहीको दायरामा ल्याउन गाह्रो छ भने मेनपावरहरूलाई कारवाही गर्न सकिन्छ ।

देशको रेमिटान्स वैदेशिक रोजगारमा गएका नेपाली युवाहरूले पठाएको पैसाले चलेको छ । तर देशलाई रेमिटान्स दिएर अर्थतन्त्र बढाउने प्रकृयमा लागेका ती युवाहरूको वैदेशिक जीवनस्तर कसरी चलेको छ त्यस विषयमा सरकारले खासै चासो दिएको देखिँदैन ।

आफ्नो देशभित्र कुन ठाउँमा जाँदा कति पैसा लाग्छ भनेर नजान्ने व्यक्ति बैदेशिक रोजगारमा जानको लागि कुन देशमा जाँदा कति लाग्छ भन्ने कुरा कसरी जान्दछ ? फलतः दिनदिनै यस्ता घटना हामीले सुनिरहनुपर्छ ।