प्रधानमन्त्री ओलीको भारत भ्रमण र अपेक्षा

प्रधानमन्त्री ओलीको भारत भ्रमण र अपेक्षा


‘दोस्रो प्रधानमन्त्रीय कार्यकालको पहिलो विदेश भ्रमण छिमेकी भारतबाट गर्ने कि नगर्ने, भ्रमण गर्न लागेको सन्दर्भ तत्कालका लागि लुकाउने कि खुलाउने ?’ यस सवालमा आडम्बरयुक्त दोधारे मानसिकता प्रदर्शन गरिआएका प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः मित्रराष्ट्र भारतको तीनदिवसीय राजकीय भ्रमणमा निस्किएका छन् । यहाँ ‘आडम्बर’ शब्द यसर्थ प्रयोग गरियो कि ‘एन्टिइन्डिया सेन्टिमेन्ट’ भजाएर ‘राष्ट्रवादी’ छवि आर्जन गरेका केपी ओलीले गत फागुनमा प्रधानमन्त्रीको शपथ लिएपछि ‘आफू पहिले विदेश नजाने बरु पहिला ‘विदेशी’लाई नेपाल भ्रमण गराउने’ अभिव्यक्ति दिएका थिए ।

आफ्नो पहिलो विदेशयात्रा भारतबाटै हुने उनलाई त्यतिबेलै चेत थियो, तर कथित राष्ट्रवादी छवि जोगाउने ‘दबाब’का कारण उनले ‘आफू पहिले नजाने बरु विदेशी पाहुनालाई पहिले नेपाल भ्रमण गराउने’ अभिव्यक्ति दिनुपरेको थियो । नयाँ प्रधानमन्त्रीलाई बधाई दिने वहानामा आकस्मिक रूपमा नेपाल आइदिएर ओलीको उक्त बोलीलाई सार्थक तुल्याइदिए पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीले । त्यसपछि पहिलो विदेश यात्रा भारतबाट गर्न धक मानिरहनुपर्ने अवस्था प्रधानमन्त्री केपी शर्मा ओलीलाई रहेन ।

नेपालका प्रधानमन्त्रीको स्वागत–सत्कार र सम्मानमा कुनै कसर नरहने गरी मित्रराष्ट्र भारतले तयारी गरेको समाचारले भारत केपी ओलीलाई चिढ्याउने होइन फकाउने र नेपालसँगको सम्बन्धलाई विशेष प्राथमिकताका साथ अघि बढाउने मानसिकतामा रहेको प्रस्ट सन्देश दिन्छ । सम्भवतः छिमेकी देशहरूसँगको सम्बन्ध बिग्रेको भन्दै मोदी सरकारले अवलम्बन गरेको विदेशनीतिविरुद्ध विपक्षी दलले आक्रामक रवैया अपनाउन थालेपछि प्रधानमन्त्री मोदीले छिमेकी मुलुकहरू, मूलतः नेपालसँगको सम्बन्ध–सुधारलाई प्राथमिकता दिएका हुन सक्छन् ।

प्रधानमन्त्री ओलीको यसपटकको भारत भ्रमण कुनै सन्धि–सम्झौतामा हस्ताक्षर गर्नका निम्ति नभई ‘सम्बन्ध प्रगाढ बनाउन’ मात्र हुन लागेको कुरा विशेष जोडका साथ सार्वजनिक गरिएका छन् । भारतविरोधी नेताको रूपमा आफूलाई उभ्याउँदै प्रधानमन्त्रीको ओहोदामा दोहोरिन पुगेका केपी ओलीको ‘केही माग्न या नयाँ सम्झौता गर्नका लागि नभई अधुरा या शुरु नै नभएका भारतसँगका पुराना परियोजना अघि बढाउनमा जोड दिइने’ नीतिलाई कूटनीतिक चातुर्यताकै रूपमा लिइएको छ ।

अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत यात्रा सुखद रहेन । ओली–अडानका कारण भ्रमणपछि संयुक्त वक्तव्यसमेत जारी हुन नसकेको सन्दर्भ खासगरी भारतको लागि बिझाउने विषय बन्न पुगेको थियो । तर, त्यो तिक्त सन्दर्भ पूरै बिर्सेझैँ गरी मित्रराष्ट्र भारतले प्रधानमन्त्री ओलीलाई न्यानो निम्तो दिएको छ, र ओली पनि ‘सम्बन्ध प्रगाढ तुल्याउने’ मूल एजेण्डाका साथ भ्रमणमा निस्केका छन् । नेपालका प्रधानमन्त्रीको स्वागत–सत्कार र सम्मानमा कुनै कसर नरहने गरी मित्रराष्ट्र भारतले तयारी गरेको समाचारले भारत केपी ओलीलाई चिढ्याउने होइन फकाउने र नेपालसँगको सम्बन्धलाई विशेष प्राथमिकताका साथ अघि बढाउने मानसिकतामा रहेको प्रस्ट सन्देश दिन्छ । सम्भवतः छिमेकी देशहरूसँगको सम्बन्ध बिग्रेको भन्दै मोदी सरकारले अवलम्बन गरेको विदेशनीतिविरुद्ध विपक्षी दलले आक्रामक रवैया अपनाउन थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी मुलुकहरू, मूलतः नेपालसँगको सम्बन्ध–सुधारलाई प्राथमिकता दिएका हुन सक्छन् । पाकिस्तानी प्रधानमन्त्रीको रहस्यपूर्ण तथा आकस्मिक नेपालयात्राबारे कुनै प्रतिक्रिया नजनाएर वा आश्चर्यजनक रूपले मौनता साँधेर भारतले ओलीलाई अप्ठ्यारोमा नपार्ने रणनीति अपनाएको अनुमान जो गरिएको थियो, यतिबेला त्यसलाई बल मिलेको छ ।

भारतको राजकीय भ्रमणका क्रममा भारतीय सहयोगमा निर्माण हुने बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाको भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री ओलीबाट संयुक्त रूपमा शिलान्यास गरिने कार्यक्रबाहेक कुनै खास सहमति, सम्झौता वा सन्धिका एजेण्डा तय गरिएका छैनन् । प्रत्येक प्रधानमन्त्रीबाट गरिने हरेकपटकको भारत भ्रमणलाई आशङ्काको दृष्टिले हेर्ने संस्कार नै बसेको नेपाली–परिवेशमा केपी ओलीको यस भ्रमणभित्र पनि छिद्र खोज्ने प्रयास गरिएकै छन् ।

तर, नयाँ संविधान जारीपछिका पहिलो निर्वाचित एवम् शक्तिशाली प्रधानमन्त्रीको यसपटकको भारत भ्रमण नेपाल–भारत सम्बन्धबीचको सौहार्दता वृद्धिका साथै स्वाभिमानी नेपालीको गौरवमा नवीनता प्रदान गर्ने अहम् सन्दर्भ बन्ने अपेक्षा गरिएको छ । आश्चर्यजनक रूपमा विकास र प्रगतिको फड्को मार्दै गरेको छिमेकी मुलुकसँगकोे हातेमालोको माध्यमबाट ‘सुखी नेपाली समृद्ध नेपाल’को सपना देखाएर तमाम नेपालीलाई तरङ्गित पारेका केपी ओलीले उक्त सपनालाई वास्तविकतामा रूपान्तरण गर्ने साहस र प्रेरणा प्राप्त गरून् । यसैमा नेपाल र नेपालीको हित निहित छ ।

यो पनि हेर्नुहोस्-
भारत भ्रमणमा यसरी बित्नेछ प्रधानमन्त्रीको समय

https://ghatanarabichar.com/96370