भ्रष्टाचारको मूल-प्रवाहीकरण भएको छ

भ्रष्टाचारको मूल-प्रवाहीकरण भएको छ


सरु जोशी श्रेष्ठ महिला र विकासको क्षेत्रमा विगत लामो समयदेखि कार्यरत हुनुहुन्छ । सरकारी सेवामा उपसचिवसम्म तथा संयुक्त राष्ट्रसङ्घीय निकायमा विभिन्न तह हुँदै साझेदारी रणनीतिक विज्ञका रूपमा समेत काम गरिसक्नुभएकी उहाँ ‘एउटा सिन्को भाँचिहेर्दा’ पुस्तककी लेखक हुनुहुन्छ । प्रस्तुत छ, विभिन्न विषयमा घटना र विचारले उहाँसँग गरेको कुराकानी ।

० तपाईंलाई कुन–कुन बेला आफू महिला हुँ जस्तो लाग्छ ?
– जब राति बाटोमा एक्लै हिँड्नुपर्ने हुन्छ, रातको अँध्यारोसँगै मेरो सशक्तीकरण खस्कँदै जान्छ । मानवबस्तीहरू सुरक्षित हुँदा हुन् त मेरो सशक्तीकरणको यो हालत हुने थिएन । एउटा घटना छ, म समानताको वकालत गर्ने मान्छे, टिचिङ अस्पतालमा छोरी जन्मेको दिन म धेरै खुसी भएकी थिएँ । लैङ्गिक समानतामा भर्खर मास्टर्स गरेर आएकीले पनि होला आफू महिला भएकोमा गर्व अनुभूति भएको थियो । तर, अप्रेसनपछि दुईजना महिला डाक्टरसाव आएर छोरी भयो, तर केही छैन, छोरी राम्री छ भन्नुभयो । कोठा पुछ्ने महिलाले ए छोरी भएछ, के गर्ने आफ्नो केही लाग्दैन, ठीकै छ आफ्नै सन्तान हो भन्नुभयो । छोरा पाउनेलाई भने उहाँहरूले बधाई दिइरहनुभएको थियो । उहाँहरूको नजरमा म टीठलाग्दो अवस्थामा थिएँ । यस्ता अनेक घटना र परिस्थिति छन्, जसले मलाई अनायसै मानवबाट महिला बनाइदिएका छन् ।

० तपाईंलाई सबैले यूएन वुमन भनेर चिन्छन्, तर तपाईंले त्यस्तो सिनियर लेभलको काम छाडनुभएछ, के परेर छाड्नुभयो होला ?
– मैले पढेकै विषयमा काम गर्न पाएकीले धेरै रमाएर यूएन वुमनमा १७ वर्ष काम गरेँ । गरेका धेरै काममध्ये वैदेशिक रोजगारीको क्षेत्रमा ऐन, नियमावली, नीति र कार्ययोजना निर्माणमा गरेर ठोस परिणाम देखाउने काम गरेँ । तर, राष्ट्रियताले अलि धेरै पोल्छ कि क्या हो मलाई, सधैँ काम गर्दा एकखाले छटपटी महसुस भइरह्यो, अरू बढी काम गर्न सकिन्थ्यो भन्ने लागिरहन्थ्यो । जे बोलिरहेका छौँ त्यो पर्याप्त गरिरहेका छैनौँ या स–साना समन्वयमा ठूला काम हुन सक्ने सम्भावना हुन्थ्यो भन्ने मनमा लागेकोले यूएनको ब्युरोक्रेसीभन्दा बाहिर बसेर स्वतन्त्र रूपमा काम गर्ने इच्छा भयोे र छाडेँ ।

० काम छाड्दा कस्तो महसुस भइरहेको छ ?
– जोकोही आफ्नो ‘कम्र्फट जोन’ छाड्न हिचकिचाउँछन्, तर मैले पेन्सन, सुविधा नसोची रित्तो हात भए पनि छाडेँ । काम छाड्नुअघि केही साथीहरूको राय लिन खोजेँ, धेरैले काम छाडुनुहुँदैन, पछि के गर्ने, पाइरहेको सम्मानित काम, राम्रो पैसा हातमा नपर्दा डिप्रेसन होला पनि भने । धेरैजसो सुझावमा एकप्रकारको डर हामी महिला जोखिम लिन असाध्यै डराउँदा रहेछाँै, आफूलाई कम विश्वास गर्दा रहेछौँ, या आफूलाई टेस्ट गर्न डराउँदा रहेछौँ भन्ने महसुस भयो मलाई । केहीले भने सही निर्णय लिएको, अब १२ वर्ष सरकार र २० वर्ष संयुक्त राष्ट्रसङ्घीय निकायमा काम गरेको अनुभव देशका लागि लगाउने भनेर बधाई पनि दिए । मुलुकले बल्ल स्थायी सरकार पाएको बेला आफ्नो अनुभव र ज्ञान जे छ, मुलुकका लागि लगाउँछु । कति दर्शकदीर्घामा बस्नु बरु जे सक्छु सिन्को भाँच्छु भन्ने लागिरहेको छ ।

० अबको योजना के छ ?
– नेपोलियन बोनापार्टले भनेका थिए रे संसारमा यत्तिका धेरै बेथिति धेरै खराब मानिस भएर होइन बरु थोरै राम्रा मानिस चुप लागेर बस्नाले हो । हामी कि चुप लागेर बसिदिन्छौँ, वा रमिते भइदिन्छौँ । जति पनि बेथिति छन्, ती राजाले गरे, सरकारले गरे, राजनीतिक दलले गरे, कर्मचारीले, एनजीओले, दातृ निकायले गरे, पहाडले गरे, मधेसले गरे, अर्थात् सबै अर्काले गरे भनेर पन्छिने र सम्पूर्ण बहसमा आफूचाहिँ अदृश्य भइदिने ट्रेन्ड देख्छु । नेपालमा भएका सबै राम्रा वा नराम्रा काममा म पनि कहीँ न कहीँ जिम्मेवार छु जस्तो लाग्छ । हामी, हाम्रो विचार एक ठाउँमा छैन । त्यसैले ‘थट बिल्डिङ’मा काम गर्ने मन छ । स्वाभिमानका साथ जिउनु प्रमुख कुरा रहेछ । मलाई त म पढाएरै, लेखेरै, केही नभए खसी–बाख्रा पालेरै, कफी खेती गरेर वा जे व्यवसाय गरेर पनि जीवन अगाडि लान सक्छु भन्ने लाग्छ ।

० ‘थट बिल्डिङ’ भनेको के हो ?
– देशले एकप्रकारले राजनीतिक एजेन्डाहरूसँग बिट मा¥यो । अब मुलुक युद्धस्तरमा आर्थिक विकासमा लाग्नुपर्छ । इतिहासमै यति धेरै युवा भएर जानसाङ्ख्यिक लाभ लिनुपर्ने बेला हाम्रा युवा विदेशमा छन्, हाम्रा खेतहरू बाँझा छन् । हामीमा सानो र ठूलो कामको जमिनदारी सोचाइ छ, श्रमको सम्मान छैन । विदेश युवा किन जानुप¥यो भन्ने चिन्ता जाहेर गर्छौं, तर यसलाई सम्बोधन गर्न मुटु ठूलो पार्दैनाँै । कतिले नेपालमा विकास हुनेवाला छैन भन्ने निष्कर्ष निकालेका छन् । घुसप्रति सबैको चिन्ता छ, तर घुस दिनेमा हाम्रै मिलेमतो छ । अरूको होस्–नहोस्, भ्रष्टाचारको भने मूलप्राहीकरण भएको छ । हामी सिस्टमको कुरा गर्छौं, अनि आफैं लाइन मिचेर अगाडि पुग्न पाउँदा दङ्ग पर्छौं । सरकारले कुरा होइन एक्सन गरोस् भन्ने चाहन्छौँ, तर खादा लिएर मन्त्रालयमा लर्को लाग्छाँै । भारतले आर्थिक नाकाबन्दी गर्दा राष्ट्रियता दुखाउँछौँ, तर भारतीय सङ्गीत नभई हामीलाई विवाह, पार्टीमा मजा आउँदैन । युवाहरू देशको विकासमा त्यति गम्भीर नभएको भन्ठान्छौँ, तर भूकम्पपछिको उद्धारमा कसरी उनीहरू मैदानमा उत्रे बिर्सन्छौँ । हामी बाध्यकारी ठाउँमा रित पुऱ्याउने काम मात्र गर्छौं । विचार निर्माणमा काम गर्नु नै थट बिल्डिङ हो । परिवर्तनका लागि आधारभूत रूपमै विचार निर्माणमा काम गर्नु आवश्यक छ ।

० नेपालमा नीतिहरूमा धेरै काम भए, यसले महिलाको जीवनमा खासै परिवर्तन त आएन नि ?
– अहिले देशले सन् २०३० सम्म कम विकसितबाट मिडल इन्कम कन्ट्रीमा पुग्ने लक्ष्य राखेको छ । तर, ५१ प्रतिशत महिलाको जीवनमा परिवर्तन नआएसम्म आर्थिक फड्को हान्न सकिँदैन । हाम्रा माइक्रो इकोनोमिक नीतिहरू लैङ्गिङ दृष्टिकोणले उत्तरदायी छैनन् । हाम्रा नीतिहरू एक–अर्काप्रति माला उनेको जस्तो गाँसिनुको साटो आ–आफ्ना क्षेत्राधिकारको झन्डा बोकेर पृथक्पृथक् बसेकोजस्तो लाग्छ । नीतिहरू कार्यान्वयन गर्न कर्मचारी, प्रविधि, बजेटको खाडल देखिन्छ । महिलाको सामाजिकीकरण र भूमिकालाई हाम्रा अधिकांश नीतिले आत्मसात् गरेका छैनन् । कति नीतिमा महिलालाई रित पु¥याउने तरिकाले हेरिन्छ, अझ महिला भन्यो कि आमा समूह, सीपसम्बन्धी तालिम, सहकारीभन्दा त्यति माथि उठ्न सकेका छैनौँ । दातृ संस्था, सरकार, नागरिकले बेग्लाबेग्लै सीप तालिम दिएकोदिएकै छन् । एकजनाले ३० वटा तालिम लिएको पनि कुरा सुन्नुभएकै होला, त्यसैले एकद्वार प्रणाली हुनुपर्छ जस्तो लाग्छ । भर्खरै महिला जनप्रतिनिधिको क्षमता अभिवृद्धिको तालिम मेलाजस्तै भएको सुनियो । कार्यक्रमको मूलप्रवाहीकरण भएन भने स्रोतहरू छरिन्छन्, नतिजाशून्य हुन्छ । यी सबै कुरामा तालमेल नमिल्दा आमजीवन रूपान्तरण हुन सक्तैन ।

० नेपाली महिला त झ्याम्मै आए नि नीति–निर्माण गर्न, कस्तो लागिरहेको छ ?
– वास्तवमा स्थानीयस्तरमा ४१ प्रतिशत महिला आउँदा विश्वमै नेपालले वाहवाही कमाएको छ । यो उपलब्धि त हो, तर ती महिलालाई फटाफट काम गर्न चुनौती पनि छ । उहाँहरूको क्षमता अभिवृद्धिमा, थिङ्कट्याङ्क खडा गरेर, मनिटरिङ गरेर यो पहललाई सफल बनाउन धेरै मसिनो काम गर्न बाँकी छ ।

० अहिले जुन प्रकारले राजनीति र प्रशासनिक तहमा महिलाको सहभागिता गराइएको छ, यो समस्या समाधानको अचुक अस्त्र हो ?
– असमान अवस्थामा रहेकाहरूलाई एक बिन्दुमा ल्याउन यो अचुक, तर अस्थायी अस्त्रजस्तै हो । तर, राज्यले एउटा सचिव, एउटा सेना र प्रहरी प्रमुख बनाउन कति तालिम, एक्सपोजरमा लगानी ग¥यो त्योभन्दा बढी यी महिला नेतृमा गरिनुपर्छ । एक त यी सबै महिलाको पृष्ठभूमि एकै खालको छैन । अर्को, उहाँहरूको घरमा निभाउनुपर्ने भूमिकामा परिवर्तन भएको छैन । अब उहाँहरू माग गर्ने समूहबाट सेवा प्रदान गर्ने ठाउँमा पुग्नुभएको छ, जिम्मेवारीमा पुगेपछि पार्टीको नभई मुलुकको नेता हुनुभएको छ । अब महिलाले सकारात्मक सोचका साथ, टिममा काम गर्ने, अध्ययन गर्ने, समय व्यवस्थापन गर्ने, छिटोछरितो कार्यक्रम गर्ने, नेतृत्व प्रदर्शन गर्नुपर्छ नत्र यो अचुक अस्त्रको मोडेलले काम गर्दैन रहेछ भन्ने बहस शुरु हुन नसक्ला भन्न सकिन्न । प्रशासनमा पनि उस्तैउस्तै हो ।

० तपाईंले किताब लेख्नुभयो, तपाईं बोलेर वकालत गरिरहनुभएकै थियो, बोल्नु र लेख्नुमा के फरक रहेछ ?
– मैले देखेको थिति र बेथितिमा बोल्दा एउटा कोठामा पुग्थ्यो, तर लेख्दा ठूलो जमातमा पुग्दोरहेछ, त्यसले धेरै आत्मसन्तुष्टि मिल्यो । मैले पछि ‘एउटा सिन्को भाँचिहेर्दा’ किताब लेखेपछि कतिले मलाई सिन्को त भाँच्नुपऱ्यो नि सरुजीले भनेको जस्तो भनेको पनि सुनेँ । हुन पनि लेखेपछि मैले राष्ट्रसङ्घमा काम गर्दागर्दै सिन्को भाँचे भन्ने आत्मविश्वास मिल्यो । यसलाई निरन्तरता दिने इच्छा छ ।

० महिलाको नजरमा पुरुषका समस्या के हुन् जस्तो लाग्छ ?
– वास्तवमा समस्या व्यक्तिमा होइन, हाम्रो संस्कार र माइन्डसेटमा देख्छु । पुरुष हाम्रा बुवा, श्रीमान्, दाजुभाइ, छोरा, साथी पनि हुन् । तर, पारम्परिक भूमिकाले गर्दा धेरैजसो महिला सेवा दिने, घरभित्र पैसा नकमाउने काम गर्ने वर्गमा परे । र, पुरुषलाई पैसा कमाउने, आर्थिक योद्धा, बहादुर वर्गमा पारियो । जुन कुरा व्यवहारमा उतार्न त्यति सहज छैन । देशमा बस या विदेश, पैसा कमाउनैपर्ने, परिवारको सम्पूर्ण आर्थिक भार लिनैपर्ने, पुरुष हुन पनि हाम्रोजस्तो समाजमा त्यति सहज देख्दिनँ । सबै पुरुष शोषक र बलात्कारी छैनन्, तर राक्षसी व्यवहारका अनेक आरोप लाग्दा सबै पुरुषले त्यसको अपजस लिनुपरेको छ । एउटा अध्ययनमा महिलालाई तपाईंको नजरमा पुरुष भनेको के हो भनेर सोधिएको थियो । उनीहरूले जवाफमा विदेश गएर पैसा कमाउने पुरुष हो भनेका थिए । यसले के देखाउँछ भने पुरुष भनेको कमाउनकै लागि जन्मेको हो जस्तो देखाउँछ । जब कि यथार्थमा कमाउने भार पुरुषले मात्रै धान्नुपर्छ भन्ने छैन । पुरुषप्रति हेरिने दृष्टिकोण र परिवेशबीचको तालमेल नमिल्नु पनि समस्या हो ।

० अहिलेको राजनीतिक प्रणालीभित्र एक वर्गले अर्को वर्गको समस्यालाई मान्ने संस्कार देखिँदैन, यस्तो परिस्थितिमा समस्या समाधान होला त ?
– हामी भाषा, भूगोल, लिङ्ग, जातजाति, राजनीतिक अवधारणा, हिमाल, पहाड, तराईमा विभाजित छौँ । विदेशमा समेत नेपाली छरपस्ट देखिन्छन्, मैले केहीअघि लेखेकी पनि थिएँ, जताततै जात र जाति भेटिए, विचारधारा भेटिए, तर नेपाली भने भेट्नै मुस्किल भयो । यसले राष्ट्रिय झन्डा त ओझेलमा पर्छ नै हामी पनि कमजोर बन्छौँ । हामी सय थुङ्गा मिलेर एउटै नेपाली माला बन्न सकेनौँ भने देश हार्नेछ र परतन्त्रीले नेपाललाई प्रयोगशाला बनाएको बनाएकै गर्नेछन् । हाम्रो गरिबीको मोडेल उनीहरूको रजाइँ हुन्छ । आफ्नो पहिचानका लागि आफ्नैसँग बहस गर्नुपर्छ, अरूका अघि लम्पसार परिदिँदा न हाम्रो स्वाभिमान रहन्छ, न समस्या समाधान नै । समाधानको कुरा गर्दा, लिडरसिप एकेडेमीका सन्तोष शाहले स्यानडियागो युनिभर्सिटीसँग मिलेर २८ जना युवालाई १ वर्षको एमर्जिङ लिडरसिप कोर्स शुरु गर्नुभएको छ, म पनि त्यसको एक मेन्टर हुँ । यसमा हिमाल, पहाड र तराईका १४ पुरुष र १४ महिलालाई एकै ठाउँमा राखेर, मुलुकका विषयमा छलफल गराइँदै छ, यस्तै मोडेलले सकारात्मक सोच र सम्भावनाका निकाल्न सकिन्छ जस्तो लाग्छ । अब होलसेलमा भूगोल, जातजाति, लिङ्गभन्दा पनि माइक्रो इकोनोमिक सूचकहरूको प्रयोग गरेर, कहाँ शिक्षा, स्वास्थ्य, रोजगारी छैन त्यो पो आधार बनाइनुुपर्छ, अनि पो सहमति र दिगो समाधान हुन सक्छ ।

० तपाईंले देशको समस्यालाई पहिचान गर्दै समाधानको उपाय बुंँदागत रूपमा भन्नुपर्दा कसरी राख्नुहुन्छ ?
– पहिलो, १० वर्ष युद्धस्तरमा काम गर्ने भिजन, सुशासनका लागि प्रभावकारी संयन्त्र र मानव संसाधन निर्माण । भर्खरै बिदा कटौती राम्रो थालनी शुरु भएको छ । दोस्रो, देशभित्रका र देशबाहिर ७८ देशमा रहेका नेपालीलाई संयुक्त नेतृत्व र जवाफदेहिताका लागि आह्वान गर्ने । तेस्रो, नेपालले जनसाङ्ख्यिकीय लाभ लिन युवालाई विदेश फर्कन प्याकेज, चौथो, कृषि, पर्यटन र ऊर्जामा लगानी, पाँचौँ, महिलाको ५१ प्रतिशत जनसङ्ख्या भएकाल, उनीहरूको आर्थिक सशक्तीकरण । फेहरिस्त लामो छ, गर्नुपर्ने कुराहरू धेरै छन् ।

० नेपालमा यत्तिका धेरै समस्या छ, विकास सम्भव देख्नुहुन्छ ?
– एकदम सम्भव छ । म दुई वर्षअघि इथियोपिया गएर ‘इथियोपिया विकास मोडल, परिवर्तन सम्भव छ’ भनेर लेखेकी पनि थिएँ । इथियोपिया गरिबी, भोकमरी, इरिट्रियासँगको युद्धसँगै फड्को मार्दै अहिले विश्वको ‘द्रुत विकास भएको देश’ हुन सकेको छ । ७–८ वर्षअघि इथियोपियाको राजधानी एडिस अबाबा, गाउँजस्तो थियो रे । अहिले औद्योगिक रूपान्तरण गरी मुलुकलाई डबल डिजिट १०.५ प्रतिशतको आर्थिक विकासमा पु¥याएको रहेछ । इथियोपियाले त सक्यो भने हामी त झन् गर्न सक्छौँ । हामीले पनि कृषिमा काम गरेर, पर्यटनमा हिमाल, सगरमाथा, बुद्ध र सीता जन्मेको देश भनेर मार्केटिङ गरी पर्यटनमा पनि चमत्कारै पो गर्न सक्छौँ त ।