श्वेतपत्र ७४, कता जाँदै छ मुलुक ?

श्वेतपत्र ७४, कता जाँदै छ मुलुक ?


– स्वयम्भूनाथ कार्की

राजा त्रिभुवनको अङ्ग्रेजीमा लेखिएको सम्बोधनबाट नेपालीको सपना भएको संविधानसभाबाट मुलुकको शासन व्यवस्था कायम भएको छ । सबै रोगको एक मात्र चटकी दबाई भनेर पेस गरिएको संविधानसभा र त्यसबाट अनुमोदित संविधानको गुणदोष केलाउने प्रयत्न यो होइन । राष्ट्रलाई आदर गर्नेहरूले लागू भइसकेका कानुनहरूको सम्मान गर्नैपर्दछ, भीष्म पितामहले धृतराष्ट्र र दुर्योधनको आदेशमा शन्तनुको छाया देखेजस्तै नेपाली जनताले पनि । तर, यसरी मन मिचेर सम्मान गर्दागर्दै, इतिहास बनाउने राष्ट्रपतिको सुनौलो भविष्य देखाउने वचन सुन्दासन्दै पनि दाँतमा लागेको ढुङ्गासरह भएको छ यो श्वेतपत्र ७४ ।

झापा काण्डदेखि माओवादका नाममा नेपालीको रगत बगाउनेहरूलाई सत्ताको तालाचाबी सुम्पेर नेपालीले अब राजनीतिक सामाजिक सङ्घर्ष सकिएको ठानेका छन् । अब भ्यागुता उफ्रेको गतिमा आर्थिक समृद्धि उफ्रेर आउने कुरामा विश्वास गरेर बसेका छन् । त्यसैले करिबकरिब ‘भुतो न भविष्यति’ समर्थनले सत्ताको तालाचाबी सुम्पेका हुन् । दशक लामो जनयुद्ध नामको रगतको नदीमा पौडेर अर्को दशक सङ्क्रमणकालमा पिसिएर नेपालीले प्राप्त गरेको भूत, भविष्य र वर्तमान छर्लङ्ग पारेको छ यो श्वेतपत्र ७४ ले । यसले देखाएको दशाले आक्रान्त नेपालीले होइन कसरी भनुन् ? उल्लेख गरेको आर्थिक चेपुवाले च्यापिएका जनताले होइन कसरी भनुन् ?

वर्षैपिच्छे राजस्व सङ्कलनमा अभूतपूर्व वृद्धि भएको तथ्याङ्क सुनेका नेपालीले सरकारी ढुकुटी पुङमाङ भएको पहिलोपल्ट थाहा पाए । माथिबाट जति नै भरे पनि तल पिँध नभएको ढुङ्ग्री अर्थात् पुङमाङ भर्न नेपाली खाडीमा गोरुझैँ जोतिएका छन् । कोरियामा कोरिएका छन्, जापानमा जिल्लिएका छन् । कतारमा कोतरिएका छन् । इजरायलमा इज्जत फालेका छन् । उनीहरूको यो बलिदान आफन्तको निमित्त हो, आफ्नो ठाउको निमित्त हो, यसै गरेर आफ्नो राष्ट्रको निमित्त हो । किनभने राष्ट्र भनेको नै यो भूगोल, यसका बासिन्दा अनि यहाँको संस्कृति परम्पराको संयुक्त रूप हो ।

राजनीतिक क्षेत्रले कुनै पनि समूहले आन्दोलन गरेमा दिनलाई रात पनि पारित गर्न सकिन्छ भन्ने नजिर बनायो । आन्दोलनमा जो–जति उग्र देखिन्छ त्यसले त्यति नै राजनीतिक लाभ पाउँछ भन्ने मान्यता यी वर्षहरूमा स्थापित भएका छन् । त्यसैले नेपालभित्र कसैले आफ्नो भविष्य देखेको छैन, चाहे त्यो विद्यार्थी प्रवेशाज्ञा लिएर पश्चिमा मुलुक भासिन खोज्ने युवा हुन् वा कोरियाको श्रमबजार जाने युवा ।

कुल ८९ अनुच्छेदलाई समेट्ने ३१ पेज सम्पूर्णको चर्चा न यो कलेवरभित्र अटाउँछ न त्यो प्रयत्न नै गरिनेछ । शुरुका केही अनुच्छेदमा नेपालको ढिकुटी कसरी पुङमाङ भयो भन्ने कुरा पेस गरिएको छ । यो एक निर्मम वास्तविकता हो जो उजागर गर्ने साहस गरेकोमा डा. युवराज खतिवडाको गुन मान्नैपर्छ नेपाली जनताले । स्वाभाविक छ यो भेद खोलेबापत उनले भोग्नुपर्ने सजाय के होला त्यो भविष्यको गर्भमा नै छ । यो दुई दशकमा ढुकुटीलाई यो अवस्थामा ल्याउन योगदान पुऱ्याउनेहरूले उनलाई सहजै माफ गर्ने छैनन्, आफूले सकेको प्रहार गर्नेछन् ।

श्वेतपत्रले उजागर गरेको प्रमुख अनि उपचार नै गर्न नसकिने केही कारणको उल्लेख यहाँ वाञ्छनीय छ ।

– सहज व्यावसायिक वातावरणको अभाव
– स्रोतको अनिश्चितता भएको बजेट कार्यक्रम
– वित्तीय अनुशासनका सीमाहरू निर्ममतापूर्वक तोडिनु
– आयातमा आधारित राजस्व र विप्रेषणमा आधारित उपभोग
– अनौपचारिक वित्तीय क्षेत्र मौलाएको
– वित्तीय क्षेत्रको पुँजी परिचालन आर्थिक वृद्धिसँग जोडिन नसकेको
– औधोगिक पुुँजी वित्तीय र व्यापारिक क्षेत्रतर्फ लगानी
– राज्यले प्रदान गर्नुपर्ने आधारभूत सेवाको गुणस्तर कमजोर
– उत्पादनमुखीभन्दा वितरणमुखी कार्यक्रम

वर्तमान संविधान र यसले निर्माण गरेको नेपालको शासन व्यवस्था अनि राज्यको पुनर्संरचनामा यी कुनै पनि कारणको उपचार सम्भव नै छैन । यो कुरा थाहा नै नभएर लुसुक्क पैदा भएको परिस्थिति होइन । यस्तो अवस्था हुने सम्भावना छ भन्ने कुरा पक्ष–विपक्ष दुवैतर्पmकाले लगातार भनेको हो, सावधान गराएको हो ।

राजनीतिक क्षेत्रले कुनै पनि समूहले आन्दोलन गरेमा दिनलाई रात पनि पारित गर्न सकिन्छ भन्ने नजिर बनायो । आन्दोलनमा जो–जति उग्र देखिन्छ त्यसले त्यति नै राजनीतिक लाभ पाउँछ भन्ने मान्यता यी वर्षहरूमा स्थापित भएका छन् । त्यसैले नेपालभित्र कसैले आफ्नो भविष्य देखेको छैन, चाहे त्यो विद्यार्थी प्रवेशाज्ञा लिएर पश्चिमा मुलुक भासिन खोज्ने युवा हुन् वा कोरियाको श्रमबजार जाने युवा । यसै श्रेणीमा ती सानाठूला उद्योगी पनि पर्छन् जो आफ्नो उद्योग बन्द गरेर अरू क्षेत्र खोज्दै छन् । बल प्रदर्शनको सामुन्ने बारम्बार नियम बदल्ने सरकारले आफ्नो विश्वसनीयता गुमाएको छ, त्यसैले अनौपचारिक क्षेत्र मौलाएको छ ।

श्वेतपत्रले देखाएका कम से कम यी कारण निराकरण भएमा आशा गर्ने ठाउँ हुन सक्छ । तर, कसैले पनि यी कारण निराकरण होलान् भन्ने विश्वास गर्ने आधार छ ? उत्पादन हुने भनेको कि त कृषि हो कि उद्योग, तर यो समाजवादउन्मुख मुलुकमा कोही उद्योगीले लगानी गर्ने साहस गर्छ ? वा कसैले निर्वाहमुखीभन्दा उत्पादनमुखी कृषि सोच्न सक्छ ? किनभने हरेक समाजवादीहरूको पहिलो तारो नै जग्गाजमिन हुने गर्दछ । त्यसैले अहिले गर्न सक्ने भनेको सबै पीडा भुलेर गर्व गरौँ, हामीले नयाँ नेपाल बनाएका छौँ ।