बोको हरामले लियो बीस सैनिकको ज्यान

बोको हरामले लियो बीस सैनिकको ज्यान


अत्यन्त क्रुर ढंगले मानवहत्या गरेर कुख्याति कमाएको बोको हराम नामक आतंककारी समूहले नाइजेरियाको उत्तरी शहर मैदुगरीमा रहेको एक सैन्य शिविरमा आक्रमण गर्दा २० व्यक्तिको मृत्यु हुनुका साथै अन्य दर्जनौँ घाइते भएका छन् । नाइजेरियाका सरकारी सुरक्षा अधिकारीहरुले सो समाचारको पुष्टि गरेका अन्तर्राष्ट्रिय एजेन्सीहरुले जनाएका छन् ।

शहरको प्रवेशद्वारमा अवस्थित प्लानतासन क्षेत्रमा रहेको सो सैन्य शिविरमा मोर्टास्, बन्दुक र आत्मघाती बमद्वारा बोको हराम आतंककारी समूहले आक्रमण गरेका मैदुगरीका वरिष्ठ सैन्य आधिकारीले जानकारी दिएका छन् ।

स्थानीय समयानुसार सोमबार राति ८ः५० मा सातजना आत्मघाती आक्रमणकारीसहित १८ जना बोको हराम आतंककारी हिँडेरै आएका र अत्याधुनिक हतियारले आक्रमण शुरु गरेका बताइएको छ । यस आक्रमणमा परी मारिनेमा सेना नै बढी परेका बताइएको छ । तर यस विषयमा विस्तृत समाचार भने आएको छैन ।

शुरुमा १८ व्यक्तिको मृत्यु भएको भनिए पनि सो संख्या पछि २० पुगेको यहाँको संकटकालीन व्यवस्थापन निकायले एएएफपी समाचार समितिलाई जानकारी दिएको छ । आक्रमणमा परी करीब ८२ जना घाइते भएका छन् । तर घाइतेमध्ये कैयौँको अवस्था चिन्ताजनक भएकाले मृतकको संख्या बढ्ने पनि प्रहरी अधिकारीहरुले अनुमान गरेका छन् ।

बोर्नो र मैदुगरी राज्यमा बोको हरामको ठूलो बाहुल्यता रहेको बताइन्छ । सोही राज्यबाट नै उनीहरुले आफ्नो संगठन शुरु गरेका पनि बताइएको छ । सोही कारण पनि उनीहरुले उक्त राज्यमा धेरै हिंसात्मक गतिविधिहरु गर्ने गरेका छन् । यहाँको बोको हरामले गरेको आक्रमणका कारण अहिलेसम्ममा कम्तीमा पनि नाइजेरियामा नै २० हजार नागरिकको ज्यान गइसकेको छ भने हिंसाका कारण त्यहाँका लाखौँलाख मानिस विस्थापित भएका छन् ।