सुर्खेतको वास्ता नगरे बन्दैन कर्णाली-सुशील शर्मा

सुर्खेतको वास्ता नगरे बन्दैन कर्णाली-सुशील शर्मा


सेन्ट जेभियर्स कलेज काठमाडौंका सामाजिक कार्य विभागका विद्यार्थी नवीन गिरी सुर्खेतबाट काठमाडौं फिर्ता हुँदै गर्दा सुर्खेतका विषयमा भन्दै थिए, पीताम्बर सरले (पीताम्बर ढकाल) सुर्खेतमा सिमेन्टखानी, तामाखानी,………छन् भन्नुभयो । तर, सरको भनाइमा थोरै कुरा मात्र आयो । यहाँ त खानी नै खानी पो रहेछन् । पीताम्बर सर नवीन बोली रहँदा सोफामा बसेर ध्यान दिएर सुनिरहनुभएको थियो । उनका शब्दमा सुर्खेत सिमेन्टखानी र तामाखानी मात्र होइन सुनखानी, जलभण्डार, ऐतिहासिकताको खानी काँक्रेबिहार, देउती बज्यै, शिवमन्दिर, चर्च, गुम्बा, मज्जिद सहिष्णु धार्मिक खानी, अनि प्रकृतिको यो छटा बुलबुले ताल,…..उपत्यकाको यो मनोरम दृश्य । यहाँका मान्छेमा देखिएको नैतिकता र सहयोगी हातका खानी महत्वपूर्ण रहे ।
नवीनतम भाषामा सुर्खेतका विषयमा यसरी बखान गरिरहँदा श्रोता बनिरहँदा मजस्ता प्रकृतिप्रेमी र विकासप्रेमीहरूमा गर्वको कुनै सीमा थिएन । साँच्चै नवीन र उनीसँगै बोलिरहेकी कार्यक्रम सञ्चालिका सिर्जनाका भनाइमा यहाँका खानी र मान्छेका आनी-बानी । प्रकृतिको अनुपम सुन्दरता । हरेक दृष्टिकोणबाट सम्पन्न छ, यो ठाउँ ।
प्रन्ध दिनको सुर्खेत बसाइमा ४५ जना विद्यार्थी र सो विभागका प्राध्यापक हिमाल गौतमले सुर्खेतका बारेमा कति अध्ययन गरे होलान् ? यति छोटो बसाइमा उनीहरूले साँच्चै सुर्खेत त अपार सम्पदाको आँचल छ भन्ने बुझे र त्यही सन्देश प्रवाह गरे ।
यहाँका हरेक स्थान र वस्तुको मूल्य उच्च होला । अरूले यी स्थानको महत्वकोबारे भन्दा हामीलाई उचालेर थचारेजस्तै लाग्छ । तर, साँचो अर्थमा यो क्षेत्रको धरोहर सुर्खेत र यसका आसपासका जिल्लामा रहेका ऐतिहासिकता, धार्मिकता अनि प्रकृति प्रदत्त वस्तुको विकासका लागि हामी यसै क्षेत्रका बासिन्दाहरू नलागी अरूले वर्णन गर्दा मेख मारकोझैं मान्छौँ ।
त्यसैले दुर्भाग्य भनौँ, वर्षौंदेखि यहीँ बसेका रैथानेहरू यी सम्पदा र खानीका विषयमा अनभिज्ञ र बेखबर छन् । नवीनले यति लामा शब्द बनाएर हामी रैथानेहरूलाई खर्चे मात्र । यहाँका मान्छेका आनीबानी र महत्वहीन सम्पदा । यी सम्पदासँग मानव इतिहास जोडिएको कुरामा हामीजस्ता बुज्रुकहरूको चेत खुलेको छैन । खुलेका पनि गुप्तचुप्त छन् । अर्को महत्वपूर्ण कुरा भनौँ हामीमा सकारात्मक सोचाइको अभाव छ र सामाजिक कार्यप्रति उदासीपना पनि उत्तिकै छ । समाजको नेतृत्व तहले यस्ता कुरामा महत्व नदिँदा दिन प्रतिदिन सम्पदाको अवमूल्यन हुन गएको छ ।
मैले यो एउटा मात्र उदाहरण पेस गरेँ । यस्ता त धेरै पात्रहरू छन् जसले सुर्खेतका विषयमा चिन्ता प्रकट गर्छन् । हो यो प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक नगरीलाई सोचेजस्तो बनाउन सके जिल्ला र क्षेत्रको मात्र विकास नभई देशकै एक गन्तव्य स्थान बन्न सक्छ । यसका लागि पहिलो प्रयास जिल्लास्तरबाट हुन आवश्यक छ । अझ कर्णाली राजमार्गले यसको विशेष महत्व बढेको छ । सुर्खेतको विकासका लागि यतिबेला स्थानीय राजनीतिक दलहरू बढी सक्रिय हुन आवश्यक छ । तर, दलहरू यस सम्बन्धमा बेवास्ता गर्दै छन् । काँक्रेबिहारको पुनर्निमार्णका लागि भएका प्रयास असफल भएका छन । घन्टाघरको हालत ठण्डाराम छ । बुलबुले उद्यानमा उल्लेख्य परिवर्तन आएको छैन । भएका सम्पदालाई यसरी जीर्ण अवस्थामा छोड्दा यहाँको पर्यटन, ऐतिहासिकता, धार्मिक अनि आर्थिक अवस्थामा सुधार आउला ? मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको अवस्थामा सुधार आउन सकेको छैन । अझ म.प. विश्वविद्यालयको स्थापनाको प्रयास भइरहेको छ । यो अध्ययन नगरीमा यी सम्पदाको सुधारले केलाई सहयोग पुग्दैन र ? भएका संरचनाको स्तर सुधार नगर्ने नयाँ मात्र ल्याएर विकास हुन्छ भन्नु मूर्खता मात्र होइन ?
देशको विकासका लागि राजनीतिक नेतृत्वको अहम् भूमिका रहेको परिवेशमा उनीहरूलाई कठघरामा उभ्याउनु असान्दर्भिक छैन । फेरि पछिल्लो अवस्थामा दलीय सहमति आवश्यक बनेको छ । धेरै राजनीतिक परिवर्तन भए । अपेक्षाकृत नभए पनि विकास भयो, तर यो क्षेत्रमा विगत र वर्तमानसँग धेरै फरक आएन । राज्यले खासै चासो दिएन । यसको कारण यो क्षेत्रबाट प्रतिनिधित्व गर्ने दलका नेताहरू त्यतिसम्म लागि परेनन् जति जनअपेक्षा थियो । मुख्य कुरा राजनीतिक स्वार्थबाट यो क्षेत्र सिकार बनेको कुरालाई नकार्ने मिल्दैन । राजनीतिक खिचातानीको मार मध्यपश्चिमवासीले कहिलेसम्म व्यहोर्नुपर्ने हो अनिश्चित छ । यतिबेला सङ्घीयताका विषयमा व्यापक बहस भइरहेको छ । फेरि सङ्घीय राजधानीका विषयमा राजनीतिक खिचातानी हुने कुरामा दुईमत छैन । विगतदेखि यो क्षेत्रको सदरमुकाम भएकाले सुर्खेतले निश्चित पनि यसको हक खोज्नेछ । मलाई लाग्छ सङ्घीय राजधानी बन्नलाई सुर्खेतले धेरै पौंठेजोरी खेल्नुपर्नेछ । त्यसका लागि सुर्खेतवासीले पहिलो कुरा सोचमा परिवर्तन अनि संरचनाको निर्माण र सम्पदाको संरक्षण गर्न आवश्यक छ ।
सुर्खेतलाई नमुना क्षेत्रको रूपमा विकास गर्न राजनीतिक दल तयार हुनुपर्छ । कोरा भाषणमा होइन व्यवहारमा प्रतिबद्ध हुनुपर्छ । एकता पहिलो खुट्किलो हो । सबै दल दलीय स्वार्थभन्दा माथि उठ्नुपर्छ । विगतदेखि सौतेनी व्यवहार खेप्दै आएको कर्णालीको विकास पनि सुर्खेतसँग जोडिएको छ । राजधानीबाट यो क्षेत्रलाई फरक दृष्टिकोणबाट हेरिन्छ । मध्यपश्चिमलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सुर्खेतले नयाँ सोचको निर्माण गर्नु जरुरी छ । जबसम्म सुर्खेतको विकास हुन सक्दैन तबसम्म कर्णालीको विकासका लागि मार्ग पनि खुल्ने छैन । सुर्खेतसँग आठओटा जिल्लाको सिमाना जोडिएको छ । यहाँबाट ती सबै जिल्लामा सडक पुर्‍याउनु चुनौती छ । सम्भाव्य सुनखानी, तामाखानी, सिमेन्टखानी अनि छिमेकी जिल्ला दैलेखमा रहेको प्रज्वलनशील पदार्थको उत्पादन गर्न सके देशको आम्दानी स्रोत नबढ्ला त ? जुन सम्पदा अन्यत्र छैन ती सम्पत्ति यहाँ छन् । यस्तो ठाउँको विकासका लागि किन नलाग्ने ? सबैले अभियानका रूपमा लगे कुन ठूलो कुरा हो र ? यहाँका जनजनहरूमा यही कुराको बोध र सोच बनाउन सके यही परिवर्तनको द्वार हुनेछ ।
दलहरूले नै यहाँका सम्पदाको विकासलाई खासै चासो दिएका छैनन् । अहिले उपयुक्त समय छ जो सम्पूर्ण जिल्ला चलाउने मेसोमेलो ती दलकै हातमा छ । यतिबेला पनि सोचिएन भने हामीले पछुताउनुभन्दा अर्को हात लाग्ने छैन । र, राज्यको ध्यान पनि खिच्न सकिने छैन ।
नयाँ पिँढीले नयाँ सोच ल्याउन आवश्यक छ- सम्पदाको संरक्षण गर्नेतिर । सम्पदा हाम्रा धरोहर हुन् जसले हाम्रो इतिहासलाई बोकेको छ । आफ्नै इतिहासको संरक्षण गर्न नसक्नेले अरू के गर्न सक्ला र ?