के गऱ्यौ शम्भु तिमीले यस्तो ?!

के गऱ्यौ शम्भु तिमीले यस्तो ?!


– राजन घिमिरे

शम्भु प्रधानलाई नेपाली फिल्म क्षेत्रको माया, प्रेम वा स्नेह पहिला पनि थिएन र आज पनि छैन भन्न अब धेरै प्रमाण खोजिरहनु पर्दैन । ३० वर्षपहिले नायक भुवन केसीको करकापमा नेपाली फिल्मक्षेत्रमा छिरेका थिए शम्भु प्रधान । अझ भनौँ मुम्बईमा भड्किरहेका उनी च्याँखे थाप्न आएका थिए उताबाट ।

तर, संयोगवश स्थापित गराइदिए नेपाली दर्शकले चलचित्र निर्माता–निर्देशकका रुपमा । भुवन केसीकै भनाईमा पनि संगीतकार रन्जित गजमेरको आग्रहमा शम्भुलाई भुवनले नेपाली फिल्ममा प्रवेश गराएका थिए । भुवनले ‘नेपाल आएर फिल्म बनाउनुस्’ भनेर सल्लाह दिँदा त्यतिबेला शम्भुले भन्ने गरेका थिए–‘ ‘नेपालमा पनि फिल्म बनाउन सकिन्छ ? नेपालमा फिल्म हेर्ने दर्शकहरू छन् र ?’ यसरी हियाएर प्रश्न गरेका शम्भु प्रधान यहाँ आए, आफ्नो पहिचान बनाए, तर आज आफ्ना सुख–दुःखका सहकर्मीलाई प्रहरी थानामा पुर्याएर हर्जाना समेत तिराउने ‘हैसियत’मा पुगेछन् । च्याँखे थाप्न आएका उनि यतै खाल जमाएर बसे ।

अब चलचित्र निर्माता÷निर्देशक कहलिएका शम्भु प्रधानलाई प्रश्न– ‘शम्भु सर, नेपालमा नेपाली फिल्म बन्दोरहेनछ त ? दर्शकहरूले नेपाली फिल्म हेर्दैनरहेछन् त ? तपाईंलाई आज त्यो उचाई, नाम, दाम र सम्मान नेपाली फिल्मले नै दियो नि होइन र ? तर तपाईंले विगत बिर्सेर आफूभन्दा जुनिएर भाइहरूसँगको कोठामै मिलाउन या मिल्न सकिने तिक्ततालाई सडकमा किन लैजानुभयो ? हामीले तपाईंको यो ‘बुद्धि’लाई धिक्कार भन्ने कि नभन्ने ?’

३० वर्षको नेपाली फिल्म यात्रामा शम्भु प्रधानले चलचित्र ‘कृ’का निर्माता सुवास गिरीमाथि जुन ज्यादती गरे त्यो शम्भु प्रधान जस्तो सबैले मानेका फिल्मकर्मीलाई अति नै नसुहाउने व्यवहार थियो । एक करोड ५० लाखको दाबी गर्ने प्रधानले अन्तिममा ११ लाख रकममा चित्त बुझाउनु भनेको नेपाल र भारतको बोर्डरमा बिचौलियाहरूले १० हजारबाट बार्गेनिङ शुरू गरेर एउटा बिँडीमा कुरा मिलेजस्तो भएन र ? यसबाट प्रष्ट भएको छ ‘शम्भु सर’को नियत र स्तर ।

यतिबेला मलाई वरिष्ठ पत्रकार डा. प्रदीप भट्टराईले लेख्नुभएको एउटा लेख याद आयो । जसमा लेखिएको एउटा पङ्क्ति निकै मार्मिक थियो– ‘…सेटिङमा नेपालको नागरिकता लिने शम्भु प्रधान नेपाली भए तर राम्रो काम गरेपछि मूलुकले सम्मान गरेर मलाई नागरिकता दिन्छ भनेर कर्म गरिराख्ने तुलसी घिमिरे गैरनेपाली भए ?…’ उक्त लेखले त्यति बेला निकै तहल्का मच्चाएको थियो ।

वास्तवमा शम्भु प्रधानको उद्देश्य या नियत त आज पनि ‘नेपाली फिल्ममा आउ, कमाउ र जाउ’ मात्र हो । उनकी पत्नी नुतन प्रधान मराठी हुन् भने शायद ‘शम्भु सर’सँग चहिँ अहिले नेपाली नागरिकताको प्रमाणपत्र हुनुपर्छ । उनी पहिले भारतीय फिल्मकर्मीको रूपमा नेपालमा छिरेका थिए, र यतै बस्न थालेपछि नेपाली भए । यसरी नेपाली फिल्मलाई कमाउधन्धाको रूपमा मात्र लिँदै आएका शम्भु प्रधानबाट मिठो सम्बन्ध, साथ, सहयोग र आत्मियताको आश गर्नु नै नेपाली चलचित्रकर्मीहरूको कमजोरी थियो । ए.. भुवन दाइ ! माया, प्रेम र विश्वासका साथ कस्तो मान्छेलाई भित्र्याएछौ तिम्रो प्यारो चलचित्र फाँटमा ?

वास्तवमा शम्भु प्रधानको उद्देश्य या नियत त आज पनि ‘नेपाली फिल्ममा आउ, कमाउ र जाउ’ मात्र हो । उनकी पत्नी नुतन प्रधान मराठी हुन् भने शायद ‘शम्भु सर’सँग चहिँ अहिले नेपाली नागरिकताको प्रमाणपत्र हुनुपर्छ । उनी पहिले भारतीय फिल्मकर्मीको रूपमा नेपालमा छिरेका थिए, र यतै बस्न थालेपछि नेपाली भए ।

शम्भु प्रधानले नेपाली फिल्मको कुनै विकास र विस्तार हुने काम गरेको कसैले देख्नुभएको छ ? कुनै समारोह वा कार्यक्रममा सहभागी भएको देख्नुभएको छ ? कुनै कलाकारको खुशी या दुःखमा सहभागी भएको देख्नुभएको छ ? पक्कै देख्नुभएको छैन । उनी नेपाली फिल्मकर्मी त हुन् तर नेपाली फिल्म क्षेत्र, फिल्मकर्मी र दर्शकहरूप्रति उनको सोच र धारणा कहिल्यै पनि सकारात्मक हुनै सकेन । उनीसँग काम गर्ने कलाकर्मीहरूसँग सोध्नुहोस् त, सुटिङका क्रममा केही कुरा बिग्रियो भने उनी ‘… यी नेपालीहरू…’ भन्दै गाली गर्थे । कस्तालाई कसरी माया गरिरहेका थिए नेपाली चलचित्रकर्मीले ?

‘प्रधान सर’लाई आफ्नो गीत र सृजनाको चोरी भएकोमा यस्तो ‘घमण्ड’ छ भने उनका अरू चलचित्रका गीतको हजारौँले गाएर यूट्यूबमा हालेका छन्, स्टेजमा हजारौँपटक नाचेर पैसा कमाएका छन् कलाकारहरूले । के अब ती सबैलाई ‘मेरो गीत चोरी भयो’ भन्दै हर्जाना तिराउन सक्छन् ? वास्तवमा शम्भु प्रधानले कहिले पनि नेपाली फिल्मलाई पारिवारिक रूपमा हेरेनन् । उनी नेपाली फिल्मका कुनै पनि जमघट वा समारोहमा उपस्थित हुँदैनन्, देखिँदैनन् । नेपाली कलाकर्मीका कार्यक्रमलाई उनी हेय दृष्टिले हेर्छन् । उनको उद्देश्य नै नेपाली फिल्मबाट पैसा कमाउनु मात्र थियो र त्यो मामिलामा उनी सफल पनि हुँदै आएका छन् ।

मानसिक यातना सहनुभन्दा ११ लाख दिएर छुटकारा पाउनु नै सहज ठानेर सुभास गिरीले ११ लाख दिए तर, उनले त्यो रकम नदिएर कानुनी लडाइँ लडेको भए शम्भु सरको हैसियत छर्लङ्ग हुन्थ्यो । भारतमा बनेको तर नेपालमा कतै दर्ता नभएको फिल्मको नाममा हर्जाना तिर्न लगाए शम्भु सरले । सम्झना फिल्मको कानुनी हैसियत खोज्न किन तयार भएन प्रहरी ? यसको कानुनी हैसियत खोजिएको भए शम्भु सर आफै फस्थे । तर सुभासले त्यसो नगरेर कुरा मिलाउने विवेकको बाटो रोजे । उनको यो सोचको तारिफ गर्नैपर्छ ।

यता अब विस्तारै शम्भु प्रधान फिल्म लाइनबाट ओझेल पर्न पनि लागेका छन् । यो घटनाले उनलाई चिनाउन त चिनायो तर नकारात्मक रूपमा । कुरा धेरैलाई याद पनि छैन, प्रधानको निर्देशक भनेर पहिला नाम आउने धेरै फिल्महरूमा मोहन निरौला, रेश आचार्य र सुवास गजुरेल जस्ता हस्तीहरूको सहभागिता हुन्थ्यो र चलचित्र राम्रो बन्थ्यो । तर पछि यी तिनैले उनको साथ छोडेपछि उनको फिल्महरू चल्न छाडेका थिए । मोहन निरौलाले पटकथा, सम्वाद लेख्ने तर नाम शम्भु सरकी पत्नी नुतनको राख्नुपर्ने ! यही कुरामा झगडा भएका कारण मोहन निरौलाले शम्भुको साथ छोडेका थिए ।

यसरी चलचित्र ‘कृ’ र निर्माता सुवास गिरीमाथिको प्रहारले मिडियामा शम्भु प्रधानले स्थान त पाए तर नेगेटिभ मात्र । यो कुराको शायद उनलाई हेक्का भैसकेको हुनुपर्छ । नेपाली फिल्मकर्ममा शम्भु प्रधानको स्थान पहिला कहाँ थियो अहिले कस्तो भयो ? ११ लाखले शम्भु प्रधानको जीवनमा खासै अन्तर ल्याउँदैन । यही कारणले पनि अन्ततः उनको साख गिराएको छ । उनले गोली त हाने तर गोली आफैंतिर फर्किएको छ । ११ लाख शम्भु प्रधानलाई निल्नु न ओकल्नु भएको छ यतिबेला । रकम ‘कृ’का निर्माताको गयो तर पैसा पाएर पनि यतिबेला तनाव झेलिरहेका छन् शम्भु प्रधान । सबैले सोध्न थालेका छन् ..? के गर्यौ शम्भु तिमीले यस्तो ?