स्वास्थोपचारका लागि विदेशिने मन्त्रीहरुलाई अब लगाम लाग्ने

स्वास्थोपचारका लागि विदेशिने मन्त्रीहरुलाई अब लगाम लाग्ने


लामो समयदेखि एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकका रुपमा स्वास्थ्य जाँचमा संलग्न रहँदै आउनुभएका प्राडा दिलिप शर्मालाई नेपाल सरकारले क्याबिनेट डाक्टर नियुक्त गरेको छ । लमजुङ पुर्ख्यौली थलो भएका डा. शर्मा कन्सल्टेन्ट फिजिसियन तथा कलेजो रोग विशेषज्ञका रुपमा वीर अस्पतालमा कार्यरत हुनुहुन्छ । उहाँ नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार समेत हुनुहुन्छ ।

गत बुधबारको क्याबिनेट बैठकले वरिष्ठ कलेजोरोग विशेषज्ञ प्राडा शर्मालाई क्याबिनेट डक्टरको रुपमा नियुक्त गरेको हो । सोही बैठकले डा. दिव्यासिंह शाहलाई पनि विशिष्ट श्रेणीको सुविधा दिएर क्याबिनेट डाक्टरमा नियुक्त गर्ने निर्णय गरेको छ । त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. शाह मिर्गौला रोग विशेषज्ञ हुनुहुन्छ । उहाँ पनि प्रम ओलीको स्वास्थ्यजाँचमा पहिलेदेखि नै संलग्न रहँदै आउनुभएको छ ।

बताइएअनुसार डा. शर्मा र डा. शाहले क्याबिनेट डक्टरको हैसियतमा प्रधानमन्त्रीका अलावा मन्त्रिपरिषदका सबै मन्त्रीहरुको पनि स्वास्थ्य जाँच गर्नुहुनेछ । सानोतिनो उपचारका लागि पनि मन्त्रीहरु विदेश जाने प्रवृत्ति बढिरहेको सन्दर्भमा उहाँहरुको नियुक्तिपछि यस्तो प्रवृत्तिमा केही न केही ब्रेक लाग्ने अपेक्षा गरिएको छ । चिकित्सकद्वयले नेपालमा उपचार हुन नसक्ने भनी सिफारिस गरेको खण्डमा मात्र अब मन्त्रीहरु स्वास्थोपचारका लागि विदेश जान सक्नेछन् ।