धनकुटामा नृत्य कार्यशाला सम्पन्न

धनकुटामा नृत्य कार्यशाला सम्पन्न


यही चैत ५ देखि १० गतेसम्म नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नृत्य विभागको आयोजनामा धनकुटामा नृत्य कार्यशाला आयोजना गरिएको छ । नृत्य विभाग प्रमुख प्राज्ञ माधव प्रधानको संयोजकत्वमा धनकुटा नगरपालिकाको स्थानीय व्यवस्थापन, हाम्रो बहुमुखी पाठशालाका सरोज भुजेल, सोभित श्रेष्ठ, पूर्ण चौधरी, प्रशान्त सुन्दास, युसिन इस्माली, सुमन योगीलगायतको सकृयतामा धनकुटाका ३२ जना नृत्य कलाकारहरू कार्यशालामा सहभागी रहेका थिए ।

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका नृत्य विभाग प्रमुख प्राज्ञ माधव प्रधानले लोक नृत्यको संरक्षण, संरक्षण तथा प्रवद्र्धनका निम्ति प्रतिष्ठान योजनाबद्ध रुपमा लागिरहेको बताउनुभयो ।

कार्यक्रममा धनकुटा क्षेत्र नं. १ का प्रदेश सभा सदस्य माननीय निरन राई र माननीय विनादेवी राईले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय निरन राईले स्थानीय साहित्य, संस्कृति, कला तथा सङ्गीतको विकासका लागि प्रदेशमा प्रज्ञा–प्रतिष्ठान गठन गरिनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा ३२ जना नृत्य कलाकारहरूले पालैपालो हिमाली भेगका लोक नृत्य सेब्रुङ, पहाडी भेगको झ्याउरे, कौरा, सेलो, मधेस भेगबाट झागड, धिमाल, भोजपुरी, सुदूर पश्चिमबाट हुड्केली गरेर १० वटा नृत्य प्रस्तुत गरिएको थियो ।