सिड्नीमा मल्टीडायानामिक शुभकामना साँझ आयोजना हुँदै

सिड्नीमा मल्टीडायानामिक शुभकामना साँझ आयोजना हुँदै


– राजन घिमिरे, अष्ट्रेलिया

सामाजिक कार्यमा लागि पर्दै आएको धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगार्थ अष्ट्रेलियाको सिड्नीमा सांगीतिक कार्यक्रम हुने भएको छ । नेफाको प्रस्तुति यो कार्यक्रम एप्रिल १४ तारेखका दिन रगडेलको इन्द्रेणी फगंसन सेन्टरमा हुने छ । लामो समयदेखि सिड्नीमा बस्दै आएका नेपाली लक्ष्मण सापकोटाले सन्चालन गरेको यो फगंसन सेन्टर नेपालीहरुको पहिलो छनौटमा पर्ने गरेको छ ।

कार्यक्रमलाई टाइटल प्रायोजनका रूपमा मल्टी डायानामिक रियल स्टेटले साथ दिएको छ । मल्टी डायानामिक शुभकामना साँझ नाम राखिएको यो कार्यक्रममा नेपाली लोक गितका बहुचर्चित गायक पुरूषोत्तम न्यौपानेदेखि यूवापुस्ताकी चर्चित आवाज प्राश्ना शाक्य र हांस्य कवि शैलेद्र सिंखडाको साथमा अष्ट्रेलियामा रहेका समीर आचार्य,अस्मिता सोटी, मनोज पाण्डे, प्रवेश अधिकारी र सुभाष लामिछानेको आवाजहरू सुन्न पाइने छ ।

यतिबेला सिड्नीमा प्रतिक्षाको रूपमा लिइएको यो कार्यक्रममा सहभागिता जनाउन पाएकोमा मल्टी डायानामिक रियल स्टेटका विजय पलले खुशी ब्यक्त गरे, ‘पुरूषोत्तम न्यौपाने जस्ता अग्रज कलाकार उपस्थित हुनुहुने र सामाजिक उद्देश्यले गरिएको कार्यक्रमको एउटा भाग हुन पाउनु गौरबको कुरा हो । त्यै भएर पनि हामीले साथ दिएका हौँ ।’