चैतेदशैँमा झुम्यो बाग्लुङ समाज बेल्जियम

चैतेदशैँमा झुम्यो बाग्लुङ समाज बेल्जियम


– डिल्लीराम अम्माई/बेल्जियम

असभ्यतामाथि सभ्यताको विजय तथा अँध्यारो हेमन्तको समाप्तिपछि वसन्त वा उज्यालो खुशीको रुपमा लिइने चैते दशैं हिन्दूधर्मावलम्बीहरुले वर्षको अन्त्य चैतमा मनाइने गरिन्छ। सोही क्रमलाई सार्थकता दिँदै बाग्लुङ कालिका शक्तिपीठको मेलाको सम्झना स्वरुप बेल्जियमको शैक्षिक केन्द्र ल्युभेनमा समेत चैते दशैँ भब्य रुपमा मनाइएको छ ।

सो अवसरमा बाग्लुङ समाज बेल्जियमको आयोजनामा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरीएको थियो। बेनेलक्सका राजदुत लोकबहादुर थापाको प्रमुख आतिथ्य र एनआरएनए बेल्जियमका अध्यक्ष लोक दाहालको विशेष आतिथ्यतामा सम्पन्न चैतेदशैँ मनाउने कार्यक्रममा एनआरएनए ग्लोबल सचिव जानकी गुरुङ, केन्द्रिय अनरी पार्षद गोविन्द सुवेदी,युरोप संयोजक शिव बरुवालको समेत सम्मानित आतिथ्यता रहेको देखिन्थ्यो । बेल्जियम र निदरल्याण्डबाट समेत विभिन्न संघसंस्था र स्वतन्त्र ब्याक्तित्वहरुले सो कार्यक्रमको आतिथ्यतासहित सांगीतिक मनोरंजन लिएका थिए।

बाग्लुङ समाजले निर्माण गरेको चैतेदशैँ तयारी समितिका संयोजक तथा एनआरएनएका पुर्व महासचिव माधव सापकोटा र सोही संस्थाका महासचिव तथा अनेसासका उपाध्यक्ष परमानन्द सापकोटाद्वारा संयुक्त रुपमा संचालित कार्यक्रमको सभापतित्व सोहि समाजका अध्यक्ष गङ्गा शर्माले गरेका थिए।

पहिलो चरणको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा बाग्लुङ समाजका अग्रजहरुले चैतेदशैँको धार्मिक तथा सांस्कृतिक महत्वबारे प्रकाश पारेका थिए भने दोश्रो चरणमा लोकगायिका शकुन्तला थापासहित स्थानीय गायक गायिकामार्फत आगन्तुक दर्शकहरुलाई भरपुर मनोरञ्जन दिइएको थियो।

नेपाली स्वादको खानपिनसहित मनाइएको उत्सवमा दर्शकहरु राति अबेरसम्म सांगीतिक माहोलमा झुमेको देखिन्थ्यो। सोही कार्यक्रममा समाजका अध्यक्षले एक परोपकारी अक्षयकोषको घोषणा समेत गरेका थिए।