आइपीएल २०१८ मा प्रदर्शन गर्दै बलिउड स्टार

आइपीएल २०१८ मा प्रदर्शन गर्दै बलिउड स्टार


विश्व क्रिकेटकै सबैभन्दा चर्चित लिग ‘आइपीएल २०१८’ सात अप्रिलदेखि आरम्भ हुँदैछ । उक्त लिगमा भारतका चर्चित आठवटा क्रिकेट क्लबहरुले प्रतिस्पर्धा गर्नेछन् ।

आइपीएल शुभारम्भ हुन अझै दुई साता बाँकी भए पनि मुम्बईको वानखेडे क्रिकेट स्टेडियमा भने उद्घाटन समारोहको तयारी शुभारम्भ भैसकेको छ । यसपटक आइपीएलको उद्घाटन समारोहमा बलिउडका सुपरस्टारले आफ्नो कलाको प्रदर्शन गर्ने भएका छन् । जसको अहिले जोडसोरले तयारी चलिरहेको छ ।

सन् २०१८ को नयाँ संस्करणमा बलिउडका स्टार रणवीर कपुर, ज्याकलिन फर्नान्डेज, परिणीति चोपरा र बरुण धवनले सहभागिता जनाउने भएका छन् । रिपोर्टका अनुसार १५ मिनेटको उद्घाटन समारोहमा प्रदर्शन गरेवापत रणवीरले ५ करोड भारतीय रुपैयाँ प्राप्त गर्नेछन् ।

आइपीएलको पहिलो खेल ७ अप्रेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्स र चेन्नाई सुपर किङबीच हुनेछ । पहिलो खेल मुम्बईको वानखेडे स्टेडियममा हुनेछ । ओपनिङ सेरोमनीमा दुईवटा कप्तान रोहित शर्मा र महेन्द्रसिंह धोनी मात्र हुनेछन् ।

आइपीएलका अन्य ६ जना कप्तानहरुमा विराट कोहली (रोयल च्यालेन्जर्स बैंङ्गलोर), स्टिव स्मिथ (राजस्थान रोयल्स), गौतम गम्भिर (दिल्ली डेयरडेविल्स), आर आश्विन (किङ्ग इलेवन पन्जाब), दिनेश कार्तिक (कोलकोता नाईट राइडर्स) र डेविड वार्नर (हैदरावाद) रहेका छन् ।