कस्ता छन् प्रवासमा महिलाका समस्या र चुनौती ?

कस्ता छन् प्रवासमा महिलाका समस्या र चुनौती ?



– राजन घिमिरे,अष्ट्रेलिया

रहरले या बाध्यता जुनसुकै परिस्थितिमा विदेसिएका भए पनि प्रवासी भूमिमा पाइला टेकेपछि भोग्नुपर्ने संघर्षको बारेमा सबैको आफ्नो-आफ्नो कथा अनि व्यथा छन् । आफ्नो जन्मभूमि, परिवार, आफन्त र साथीभाइबाट टाढा भएर बिरानो ठाउँमा समुन्नत भविष्य कल्पना गर्दै वर्तमानमा पाइला पाइलामा झेल्नुपर्ने संघर्ष र चुनौतीसँग त पक्कै पनि प्रवासी नेपालीहरू भुक्तभोगी नै छन्, तर पनि चुनौती संगसंगै आइपर्ने अवसरहरुलाई सदुपयोग गरेर आफ्नो कडा मिहेनत अनि लगनले छोटो समयमा सफलताको शिखर चढ्न सफल उदाहरणीय व्यक्तिहरु पनि प्रवासमा नभएका होइनन् । यिनमध्ये कति चाहिँ संघर्षको भूमरीले पछारेर अनि चुनौतीको पहाडले थिचेर निरास भर्इ जिन्दगीदेखि नै हार मान्न बाध्य भएका पनि देखिन्छन्।

प्रवासमा महिला र पुरुष दुवैले भोग्नुपर्ने आ आफ्नो किसिमको संघर्षत छँदैछ, त्यसमाथि महिलाहरुले झेल्नुपर्ने समस्या र चुनौती त झनै विकराल देखिन्छ। एउटा विद्यार्थी तहदेखि, विवाहित, अविवाहित, भर्खरै सन्तान जन्माएका या आफ्नो पेसामा अब्बल सबै क्षेत्रका महिलाहरु कुनै न कुनै समस्या र चुनौतीबीच गुज्रेका हुन्छन् ।

यसै सन्दर्भमा अस्ट्रेलियामा रहेका नेपाली समुदायमा विद्यमान समसामयिक परिस्थितिलाइ मध्यनजर गर्दै अन्तरास्ट्रिय महिला दिवसको सेरोफेरो पारेर एन आरएनए अष्ट्रेलिया वमन फोरमले मार्च २५ तारिख आइतबारको दिन सिड्नीमा महिलाहरुको समस्या र चुनौतीको विषयमा एक बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रम सिड्नीको रगडेलमा रहेको एभरेष्ट फङसन सेन्टरमा हुने जानकारी दिइएको छ ।

‘कार्यक्रममा हामी हाम्रै वरपर विद्यमान समस्याहरुलार्इ सम्बधित व्यक्तित्वहरुको अनुभवको आधारमा चिरफार गर्ने र सम्भावित समाधानको बाटो औंल्याउने कोशिस गर्ने छौँ’, वमन फोरमकी नेशनल संयोजक प्रतिज्ञा अधिकारीको भनाई छ । महिला र पुरुष सँगै काम गर्ने सिलसिलामा पुरुषको नेतृत्व तहको मात्रै विकास भएको छ । महिला जुन तहमा छन् त्यसैमा सीमित छन् । समुदायको निम्ति गठन भएका संघसंस्थामा महिलाको सहभागीतामा कमी नेतृत्व तहको स्थानमा महिलाको सहभागीतामा सुन्य रहनु यी र यस्तै विषयमा केन्द्रित भएर छलफल गर्नुपर्ने आवश्यकताको महसुस गरेर नारी निकुन्जले यस प्रकारको कार्यक्रमको आयोजना गरेको कुरा बताउँछिन एनएसडब्लुकी संयोजक सन्ध्या शाह ।