राष्ट्रिय पुरुष हक्की जनकपुरमा : बराबरीमा टुङ्गीयो दुवै खेल

राष्ट्रिय पुरुष हक्की जनकपुरमा : बराबरीमा टुङ्गीयो दुवै खेल


राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको पहिलो दिन खेलिएका दुवै खेल बराबरीमा टुंगिएको छ । जनकपुर भइरहेको प्रतियोगितामा सुदूरपश्चिमाञ्चल र पश्चिमाञ्चलले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित ६० मिनेटको खेलमा सुदूरपश्चिमाञ्चलका धिरेन्द्रबहादुर चन्दले २१ औं मिनेटमा पहिलो गोल गरेका थिए । ४१ औं मिनेटमा पश्चिमाञ्चलका यमन रसाइलीले बराबरी गोल फर्काए । पश्चिमाञ्चलका सागर खाँड ‘म्यान अफ द म्याच’ चुनिए ।

पूर्वाञ्चल र मध्यमाञ्चलबीचको खेल पनि १–१ को समान स्थितिमा टुंगियो । खेलको तेश्रो मिनेटमै मध्यमाञ्चलका हर्विन्दर सिंहले टोलीलाई अग्रता दिलाएका थिए । २५ औं मिनेटमा पूर्वाञ्चलका अनिश मगरले गोल गरेपछि खेल १–१ को बराबरी अवस्थामा सकियो । मध्यमाञ्चलका राजेशनाथ अधिकारी ‘म्यान अफ द म्याच’ बने ।

प्रतियोगिताको जनकपुर उप–महानगरपालिकाका मेयर लालकिशोर साहले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । चैत १० गतेसम्म चल्ने प्रतियोगितामा पाँच विकास क्षेत्र र नेपाल आर्मी दुई समूहमा विभाजन भइ लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउने छन् ।