विवाद समाधान नभए खेलकुदमा ‘रणसङ्ग्राम’ हुन्छ : प्रसाईं

विवाद समाधान नभए खेलकुदमा ‘रणसङ्ग्राम’ हुन्छ : प्रसाईं


सितोरियो करातेका मुख्य प्रशिक्षक शोभितराज प्रसार्इंले लामो समयदेखि चल्दै आएको करातेको विवाद समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरेका छन् । प्रसार्इंले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र करातेका राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त पदाधिकारीको ध्यानाकर्षण गरेका हुन् । साथै यो कुरालाई सामान्य रूपमा लिए त्यसको परिणाम नराम्रो हुने चेतावनी पनि प्रेस विज्ञप्तिमार्फत दिएका छन् ।

विगतमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताका कारण करातेमा विवाद चुलिएको र अहिलेसम्म समाधान नभएको परिप्रेक्ष्यमा पुरानो घटनाको पुरानावृत्ति दोहोरिन सक्ने अवस्थाको सिर्जना भएको कारण आफूले चेतावनीसहित कदम अगाडि बढाएको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् । मुख्य प्रशिक्षक प्रसाईंले जुँगाको लडाइँका कारण कराते विवादित बन्न पुगेर र यसले आमकराते खेलाडीमा नकारात्मक प्रभाव परेको बताएका छन् । त्यसैले अब जुँगाको लडाइँ छोडेर करातेको समग्र विकास र विस्तारमा लाग्न प्रसाईंले अनुरोध पनि गरेका छन् ।

दक्षिण कोरियाको इन्चोनमा सम्पन्न एसियाली खेलकुद प्रतियोगितामा कराते खेलाडीको सहभागितामा आएको विवाद खेलकुदकै लागि लज्जाजनक भएको चर्चा गर्दै यस्तो घटना पुनः दोहरिए आफू चुप लागेर नबस्ने चेतावनी दिएका छन् । इन्चोन एसियाडमा नेपालका दुईवटा कराते टोलीले सहभागिता जनाएको स्मरण गराउँदै अब त्यस्तो हुन नदिने प्रतिबद्धता जाहेर गरेका छन् । आफूले यसबारे खेलकुदका सम्पूर्ण निकायलाई जानकारी गराएको बताउँदै उनीहरूबाट सकारात्मक पहलको अपेक्षा गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यतिबेला आफूले यो कदम करातेको विवाद सदाका लागि समाधान गर्न उठाएको प्रसार्इंले दाबी गरेका छन् । आफू करातेको मुख्य प्रशिक्षक भएको नाताले पनि करातेको हितका लागि कदम चाल्नु बाध्यता भएको खुलासा गरेका छन् । यदि अब पनि व्यक्तिगत स्वार्थका लागि कसैले करातेलाई उपयोग गरे आफू चुप लागेर नबस्ने बताए । नेपालको एक मात्र गरिमामय खेल करातेलाई छिन्नभिन्न र आघात पु¥याउने काम भइरहेको र अब नगर्न चेतावनी पनि दिएका छन् । सचेत गराउँदागराउँदै पनि खेलकुदका पदाधिकारीले गलत कार्य गरे उनीहरूले ठूलो मूल्य चुकाउनुपर्ने जानकारी गराएका छन् । मुख्य प्रशिक्षक भएको नाताले समयमै सचेत र सावधान गराउनु मेरो कर्तव्य हो भन्दै यदि यो कुरालाई हल्का रूपमा लिए त्यो खेलकुदकै स्वास्थ्यका लागि समेत राम्रो नहुने उनले बताए ।

उनले खेलकुदका पदाधिकारीलाई चुनौती दिँदै यदि कराते खेल र त्यसका खेलाडीको भविष्यबारे कुनै पनि निकायका खेलकुद पदधिकारीबाट खेलवाड भए सातै प्रदेशका कराते खेलाडी र प्रशिक्षकलाई सातदोबाटो र दशरथ रंगशाला परिसरमा उतार्ने चेतावनी पनि दिए । त्यसपछि के हुन्छ ? आफूलाई पनि थाहा नभएको प्रस्ट पार्दै खेलकुद रणसङ्ग्राममा परिणत हुने बताए । यो रणसङ्ग्राममा खेलकुदका टाउकेहरू पनि नबच्ने प्रसाईंको दाबी थियो । मोसो र जुत्ताको माला साधारण हो भन्दै टाउकेहरूको टाउकोले पनि मूल्य चुकाउनुपर्ने बताए । त्यसैले आफूले समस्यालाई गम्भीर रूपमा लिन आग्रह गरेको बताए ।

म मुख्य प्रशिक्षक भएकोले ममाथि राष्ट्रिय कराते टिमको गम्भीर जिम्मेवारी छ । कोरियाको इन्चोनमा सम्पन्न एसियाडमा करातेले मात्र एउटा कांस्य पदक जितेको थियो । यदि करातेमा विवाद नभएको भए करातेले अरू पनि पदक जित्थ्यो । त्यसैले एसियाडमा अहिले पनि सम्भावित पदक जित्ने खेल भनेको कराते मात्रै हो । यसै वर्ष इन्डोनियामा एसियाली खेलकुद प्रतियोगिताको आयोजना हुँदै छ । त्यसका लागि सर्वप्रथम राष्ट्रिय टिमको छनोटका लागि मिति घोषणा गर्नुपर्छ । त्यसपछि निष्पक्ष ढङ्गले खेलाडीको छनोट गरी एउटै राष्ट्रिय टिम बनाउनुपर्नेमा प्रसार्इंले जोड दिए ।

आफूले समस्याको समाधानका लागि राखेपका तीनवटै महत्वपूर्ण निकाय तालिम तथा प्रशिक्षण विभागका प्रमुख रिम रानाभाट, शानका निर्देशक नवीन उप्रेती, राष्ट्रिय टिम तयारी समितिका संयोजक अर्जुन विश्वकर्मासँग बृहत् छलफल गरेको बताए । त्यस्तै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव लामा टेन्डी शेर्पालाई पनि यसबारे ब्रिफिङ गरेको र उनीहरू सकारात्मक रहेको बताए । कुरै नमिल्ने दुईजना कराते महासङ्घका अध्यक्ष दावा गुरुङ र पुरेन्द्र लाखेसँग आफूले कुनै छलफल नगरेको जानकारी गराए ।