सफलता नमिले सोख पूरा गर्छु : पारू

सफलता नमिले सोख पूरा गर्छु : पारू


जब रेडियोमा गीत बज्थ्यो उनी सँगसँगै गुनगुनाउन थालिहाल्थिन् । तर, गीत–सङ्गीत के हो, त्यो उनलाई थाहा थिएन । सुन्दा राम्रो लाग्ने र गुनगुनाउँदा अझै आनन्द आउने भएकै कारण उनी गीत–सङ्गीतप्रति सानै उमेरमा आकर्षित भएकी थिइन् । यसरी बालापनको दिनचर्या अगाडि बढ्दै जाँदा गीत–सङ्गीतप्रति उनको माया गाँसिन पुगेको थियो ।

छोरीले रेडियोमा बजेको गीतसँगसँगै गाउन थाल्दा अभिभावकहरू पनि खुसी हुन्थे, तर पढाइ बिग्रन्छ कि भन्ने सन्त्रासमा पर्दथे उनीहरू । त्यसैले अभिभावकले उनलाई गीत गाउनभन्दा पनि पढाइमा ध्यान केन्द्रित गर्न लगाए । परिणामतः बालापनदेखिको उनको गीत गाउने चाहना स्कुलको सानो कक्षामै सीमित भयो । र पनि, राम्रो स्वर भएका कारण शिक्षक–शिक्षिकाले उनलाई यदाकदा स्कुलमा गाउन लगाउँथे ।

यसरी बाल्यकालदेखि नै गीत–सङ्गीतप्रति अगाध रुचि भएर पनि बाध्यतावश बीचैमा छोडी पुनः गायन पेसालाई आत्मसात् गरेर चर्चामा आएकी उदीयमान गायिका हुन् पारू रञ्जित । दश वर्षको उमेरदेखि गाउन थालेकी पारूले ढेड दशक गीत–सङ्गीतको पाटोलाई चटक्कै बिर्सिए पनि अहिले पुनः त्यसैमा रमाइरहेकी छिन् । विगत तीन वर्षदेखि सङ्गीतको तृष्णा मेट्न उनी दिनरात लागेकी छिन् ।

यसबीच पारूले रेडियो नेपालमा सङ्गीतको प्रशिक्षण लिएर भोकल टेस्टसमेत पास गरेकी छिन् । रेडियो नेपालमा गायक तथा सङ्गीतकार हरिशङ्कर चौधरीसँग प्रशिक्षण लिएकी पारू अहिले पनि गुरुकुल बागबजारमा सङ्गीतको प्रशिक्षण लिइरहेकी छिन् । सङ्गीतको प्रशिक्षणसँगै आफ्नो गायनकलामा निकै सुधार आएको बताउने पारूले सो अवधिमा ६ वटा गीत गाउने अवसर प्राप्त भएको छ । अहिले उनी आफ्ना गीत सङ्कलन गरी एल्बम निकाल्ने अन्तिम तयारीमा जुटेकी छिन् । यिनै उदीयमान नवगायिकासँग उनको गायन–यात्राबारे गरिएको सङ्क्षिप्त कुराकानी प्रस्तुत गरिएको छ :

० बाल्यकालमै सङ्गीतप्रतिको रुचि कसरी जाग्यो ?
– त्यो त मलाई पनि थाहा छैन, मलाई सानैदेखि गीत गाउन मनपथ्र्यो । गीत–सङ्गीत भनेपछि लुटुपुटु भइहाल्थेँ, निर्धक्क भएर सबैको सामु गाउँथेँ, त्यो मेरो भित्रैदेखिको चाहना थियो । सिकेर नभई म अन्तरआत्मादेखि गाउँथेँ ।

० कस्तो किसिमको गीतले तपाईंलाई आकर्षित गर्छ र गाउन मनपर्छ ?
– सङ्गीत भनेकै दुःखसुखको सागर हो । त्यसैले मलाई सबै प्रकारका गीत गाउन मनपर्छ । त्यसमा पनि आधुनिक र आधुनिक लोकगीत गाउन विशेष मनपर्छ । मैले हालै बजारमा ल्याएको ‘हिउँजस्तै सफा मन’ स्रोताहरूले निकै मन पराउनुभएको छ । उक्त गीत मैले यस वर्षको ‘नारी दिवस’को दिन बजारमा ल्याएकी हुँ ।

० तपाईंलाई मनपर्ने गायक–गायिका को हुन् ?
– मलाई मनपर्ने गायकमा नारायणगोपाल, आनन्द कार्की, एम बराल, गायिकामा तारादेवी र अन्जु पन्त हुन् । उहाँहरूको सफलता मेरो प्रेरणाको स्रोत पनि हो ।

० हिउँजस्तै सफा मन र तिजसम्बन्धी गीत बजार ल्याएपछि अन्य क्षेत्रबाट गीत गाउने अफर आएको होला नि ?
– अँ हँ त्यस्तो अफर आएको छैन । भर्खरै भिडियोसहित दुईवटा नयाँ गीत बजारमा आएको छ, अब त्यस्ता अफर पनि आउला भन्ने विश्वास र प्रतीक्षामा छु । एउटा फिल्मका लागि गीत गाउने अफर आए पनि साइत भने जुरेको छैन ।

० गीत त गाउनुभो, अब व्यावसायिक रूपमै यसलाई अपनाउने कि ?
– अहिलेका लागि त सोख मात्रै हो, भोलि के हुन्छ भन्न सकिँदैन । अवसर पाइयो भने व्यावसायिक रूपमा पनि जान सकिन्छ । मेरो छुट्टै व्यवसाय छ, अहिले त्यसैमा रमाइरहेकी छु ।

० एल्बम निकाल्ने कुरा गरिरहनुभएको छ, यसका लागि खर्च त निकै लाग्छ होइन ?
– हो, निकै खर्च लाग्दोरहेछ । दुईवटा गीतको भिडियो बनाउँदा थाहा पाएँ । यतिबेला परिवारको निकै सपोर्ट छ । मलाई मेरा श्रीमान वीरेन्द्र रञ्जितले आर्थिक रूपमा निकै सहयोग गरिरहनुभएको छ । उहाँकै प्रोत्साहन र सहयोगका कारण मलाई साहस जुटिरहेको छ ।

० यस्तो प्रतिस्पर्धात्मक परिवेशमा एल्बम निकाल्नु आफैमा चुनौती होइन र ?
– हो, त्यो मैले बुझेकी छु । सफलता पाउन र टिक्न निकै गाह्रो छ । तर, सङ्गीतप्रतिको अगाध रुचिले गर्दा एल्बम निकाल्ने जमर्को गरेकी हुँ । हेरौँ, सफल भए राम्रो, नभए सोख त पूरा हुन्छ । साँचो भन्नुपर्दा यो एल्बम मैले आत्मसन्तुष्टि र परिवारजनको खुसीको लागि निकाल्न लागेकी हुँ ।