एक विदेशीको दृष्टिमा वर्तमान नेपाल

एक विदेशीको दृष्टिमा वर्तमान नेपाल


डेनमार्कका उच्च तहका क्रिश्चियन पादरी टोर्वन क्लेमिन्सन विगत चार वर्षदेखि नेपालमा छन् । नेपालमा धार्मिक सद्भावका विषयमा अनुसन्धानात्मक अध्ययन गर्न आएका यी डेनिस आफू इसाई हुँदाहुँदै आधा हिन्दू भइसकेको बताउँछन् । इसाई हुनुको नाताले इसाई धर्मलाई प्रेम गरे पनि हिन्दू धर्मलाईसमेत प्रेम र सम्मान गर्ने बताउने टोर्वन नेपालमा भइरहेको क्रिश्चियन धर्मको प्रचारको शैली एउटा व्यापारजस्तै लागेको अभिव्यक्ति दिन हिच्किचाउँदैनन् । राजनीति, औषधिविज्ञान, इतिहास, भूगोल, धर्म र दर्शनका ज्ञाता टोर्वनले स्वीडेनको लन्ड विश्वविद्यालयमा हिन्दू, बौद्ध र इस्लामिक धर्म, संस्कृति र परम्पराबारे पनि विशेष अध्ययन गरेका थिए । कुनैबेला हिन्दू राजसंस्थाको पुनर्वहालीको पक्षमा समेत अभिव्यक्ति दिएर चर्चामा रहेका टोर्वनसँग गरिएको कुराकानी :

० तपाईं केही वर्षदेखि नेपालमा हुनुहुन्छ र नेपालको राजनीति, अर्थतन्त्र, समाज व्यवस्था एवम् नेपाली मनोविज्ञानबारे समेत जानकारी राख्नुहुन्छ । चार वर्षअघि तपाईं नेपाल आउनुहुँदा र अहिले के परिवर्तन पाउनुभएको छ ?
– चार वर्षअघि अध्ययनका लागि नेपाल आउँदा म यहाँको प्राकृतिक सुन्दरता र यहाँका मानिसहरूको ‘सिम्पिसिटी’ मिहिनेती प्रवृत्ति तथा निर्दोषीपन देखेर धेरै प्रभावित भएँ । प्रकृतिजस्तै सामाजिक विविधता भए पनि मानिसहरू परस्पर प्रेम र सम्मान भएको पाएँ । यहाँका मानिस धेरै इमानदार छन् । म नेपाल आउनुअघि भारतमा केही समय बसेको थिएँ । नेपाल इमान–जमान भएका मानिसको बसावास भएको मुलुक भन्नेमा मलाई विश्वास छ ।

० हामीले नेपालीमा इमान–जमान, निर्दोषीमन र मिहिनेती प्रवृत्ति हुँदाहुँदै पनि यो देश गरिब र यहाँका जनताले अभावग्रस्त जीवन बिताउनुपरेकोचाहिँ किन होला, यतातिर तपार्इंको ध्यान गएन ?
– हो, यो कुराले मलाई बिझाइरहेको छ । राम्रा मानिस, मिहिनेती जनता र सुन्दर मुलुक भएर पनि यो देश आर्थिक रूपमा किन सम्पन्न हुन नसकेको होला भन्ने जिज्ञाशा मभित्र पनि उत्पन्न भएको छ । यस निम्ति यहाँका शासक, प्रशासक र नेता नै मुख्य जिम्मेवार हुन् भनेर जसले पनि भन्न सक्छ । तर, मैले यहाँको शिक्षास्थिति र मनस्थितिलाई गरिबीको मुख्य कारण मानेको छु । सबै मानिस शिक्षित भए पनि देश बन्ने सम्भावना रहन्छ, तर अक्षर चिन्नु या शैक्षिक योग्यताको प्रमाणपत्रहरूको सङ्ग्रह गर्नुलाई मात्र शिक्षित भएको मानिँदैन । एउटा व्यक्ति कति शिक्षित छ भन्ने कुराको निर्धारण ऊ कति सभ्य र सकारात्मक छ, उसका व्यवहारहरू परिवार, समाज र मुलुकका प्रति कति उपयोगी छन् भन्ने कुराले निर्धारण गर्दछ । यहाँ मैले भनेजस्तो ‘शिक्षा’को कमी भएजस्तो लागिरहेको छ । राजनीति र प्रशासनमा कारणवश पुगेका मानिस पनि यही समाजको उपज भएको हुनाले सकारात्मक परिवर्तन र उन्नति प्रगतिमा ढिलाइ भएजस्तो मलाई लाग्छ । नेताहरूको कुरा सुन्दा धेरै विषयको जानकार भएकोजस्तो लाग्छ । हाम्रो युरोपतिरका भन्दा यहाँका नेताहरूको बोल्ने क्षमता धेरै हुँदोरहेछ । हाम्रोतिरका नेताहरू ठूलो कुरा गर्ने रुचि राख्दैनन् । बरु जनताको सानोसानो समस्याप्रति संवेदनशील हुन्छन्, जनतालाई कुनै प्रकारको दुःखकष्ट नहोस् भनेर सधैँ सचेत भइरहन्छन् । तर, यहाँचाहिँ लोकतन्त्र भनिए पनि लोक र तन्त्र (जनता र शासक) को बीचमा धेरै दूरी भएको मैले पाएँ । कुनै पनि शासन प्रणाली जनताको सेवासुविधाको लागि हुन्छ, तर नेपालमा शासन प्रणाली र जनताबीच दूरी कायम हुँदा यहाँको स्थायित्व र समृद्धिमा खतरा पैदा हुने देखेको छु ।

० हामीले भर्खरै मात्र मुलुकलाई एकात्मक पद्धतिबाट सङ्घीय संरचनामा लगेका छौँ, अबचाहिँ हाम्रो समृद्धि निकट हुने सम्भावना रहला कि ?
– मलाई कुनै देशले स्थायित्व र समृद्धि पाउने र नपाउने कुरा त्यो देशले अपनाउने प्रमाणी या आन्तरिक प्रशासनिक या शासकीय नक्साले मात्र निर्धारण गर्छ जस्तो लाग्दैन । नेपाललाई अहिले सात प्रदेशमा विभाजन गरी सबै प्रदेशमा चुनावसमेत सम्पन्न भइसकेको छ । मैले केही दिनअघि एउटा पत्रिकामा रूखको मुनि प्रदेशको बैठक भएको समाचार पढेको थिएँ । देशको राजधानी काठमाडौंमा नै संसद् भवन बन्न सकेको छैन, सात प्रदेशमा सातवटा संसद् भवन कहिले कसरी बन्न सक्ला ? आफ्नो उत्पादन र आर्जन कम भएको यो देशले यति धेरै सांसद र मन्त्रीहरूको पालनपोषण कसरी गर्न सक्ला ? विकासको आधारभूत संरचना नै तयार भइनसकेको देशमा प्रशासनिकभन्दा विकास खर्च बढी हुनुपर्नेमा यहाँ त्यस्तो हुने देखिएन । खर्च कसरी जुटाउन सक्ने हो मैले बुझ्न सकिरहेको छैन । यति सानो मुलुकलाई सात राज्यमा विभाजन गर्नुपर्ने कारण पनि मैले बुझिरहेको छैन । सङ्घीय संरचनामा गएकै कारणले देशले शान्ति र समृद्धि पाउने सम्भवाना रहँदैन ।

० नेपाल जलविद्युत् र पर्यटन प्रवद्र्धन गरेर समृद्धिको शिखरमा पुग्न सक्ने सम्भावना हामीले देखेका छौँ, तपाईंले चाहिँ देख्नुभएको छ कि छैन ?
– नेपाल प्राकृतिक रूपले सुन्दर मुलुक हो । यहाँ पर्यटकीय आकर्षण अवश्य छ । तर, पर्यटन प्रवद्र्धन हुन यहाँको सडक संरचना राम्रो र सुरक्षित हुनुपर्ने हुन्छ । वायु र ध्वनि प्रदूषणमा नियन्त्रण आउनुपर्छ । सुरक्षा व्यवस्था राम्रो हुनुपर्ने हुन्छ । होटेल व्यवस्थापन पनि राम्रो हुनुपर्छ । नेपालमा तत्काल यो सब हुन तत्काल मुस्किल देख्छु । अर्को कुरा यहाँ बाढीपहिरोजस्ता प्राकृतिक प्रकोप धेरै हुने, हवाई सेवा पनि सुरक्षित नरहेको र विमानस्थलसमेत सुविधायुक्त नभएकाले पर्यटन प्रवद्र्धन हुनेमा शङ्का छ । जलविद्युत्को विकासमा लगानी र बिक्रीमा समस्या देख्छु । लगानीकर्ताहरू नेपालतिर त्यति आकर्षित भइरहेको महसुस मैले गरेको छैन । लगानीबिना जलविद्युत्को विकास असम्भव छ, उत्पादित विद्युत्को बजार सुनिश्चित नभई यहाँ लगानी हुन मुस्किल हुन्छ । खै किन हो, त्त्काल जलविद्युत् प्रवद्र्धन हुने र त्यसले नेपाललाई समृद्ध तुल्याउने सम्भावना पनि मैले देखिरहेको छैन ।

० नेपाललाई पहिले हिन्दूराष्ट्रका रूपमा विश्वले चिन्दथ्यो । पश्चिमी राष्ट्रहरूको अप्रत्यक्ष–प्रत्यक्ष संलग्नतामा नेपालको विशिष्ट पहिचान मेट्ने कार्य सम्पन्न भएको छ । तपाईं पनि इसाईधर्मी हुनुहुन्छ, यतिबेला धर्मनिरपेक्षताको आडमा नेपालभित्र धर्म परिवर्तन गराउने अभियान चलाइएको छ, यस्ता गतिविधिलाई तपाईं कसरी लिनुहुन्छ ।
– नेपालको पहिचान यसरी मेट्नुपर्ने अवस्था किन आएको हो मलाई थाहा छैन । यहाँको राजनीतिक विकाससँग जोडिएको होला यो । तर, सानो आकारका मुलुकहरूले आफ्नो विशिष्ट पहिचान कायम राख्न सक्नु राम्रो हो । नेपाललाई हिन्दू राजतन्त्रात्मक मुलुकको रूपमा चिनिँदा यो भारतभन्दा भिन्न देश भएको सजिलै बुझिन्थ्यो । जहाँसम्म धर्म परिवर्तनको कुरा छ, त्यो गलत छ । संसारमा जसले जे धर्म अपनाए पनि आखिर ईश्वर (गड) त एउटै छ । हामीले मान्ने तरिका फरक देखिए पनि ईश्वर फरक–फरक छैनन् । धर्म परिवर्तन गराउने काम एउटा व्यापार हो र धर्मका नाममा भइरहेको व्यापार अहिले नेपालमा फस्टाएको देखिन्छ, यो पूरै गलत हो । पश्चिमी मुलुक भनिए पनि यसमा अमेरिकाको हात हुन सक्ला, क्याथोलिकहरूले यस्ता काममा अलिक बढी रुचि लिइरहेका छन् । धर्म परिवर्तनको व्यापार फस्टाउँदा नेपालको सामाजिक सद्भाव खलबलिने र आन्तरिक द्वन्द्व बढ्न सक्ने खतरा बढाएको छ । म नेपाललाई साह्रै माया र सम्मान गर्छु, त्यसैले नेपालको अवस्था देखेर मलाई धेरै चिन्ता लागेको छ ।