बाबुरामको रोचक दाबी- ‘प्रचण्ड हारेका, थाकेका र पछि परिसकेका छन्’

बाबुरामको रोचक दाबी- ‘प्रचण्ड हारेका, थाकेका र पछि परिसकेका छन्’


नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबै कुरामा हारिसकेको, थाकिसकेको र पछाडि परिसकेको दाबी गरेका छन् । यसरी गलिसकेका व्यक्तिले के अभिव्यक्ति दिए भनेर टीकाटिप्पणी गरिरहनु आवश्यक नभएको उनको ठहर छ ।

चितवनमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले नेकपा (माओवादी केन्द्र)सँग नयाँशक्तिको पार्टी एकता सम्भव नरहेको जानकारी दिए । माओवादी केन्द्रसँग पार्टी एकता र कार्यगत एकता सम्भव नरहेको उनले स्पष्ट पारे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले प्रदेश नं ३ र प्रदेश नं ४ ले भरतपुरमा आयोजना गरेको लुम्बिनी बैठकको भाव सम्प्रेषण एवं पार्टी आन्तरिक प्रशिक्षण कार्यक्रममा सरकारले गर्ने कामका आधारमा समर्थन र विरोध गर्ने बताउनुभयो । उनले भने, ‘देश र जनताको हितमा हुने कामको समर्थन गर्दछौँ, जनता र राष्ट्र विरोधी कामको विरोध गर्छाैं ।’

उनले नेपालको ठूलो श्रमशक्ति विदेशमा पलायन भएको र उनीहरुबाट आएको विप्रेषणले देशको अर्थतन्त्र चलेको उल्लेख गर्दै नोट चल्ने भोट नचल्ने प्रणाली परिवर्तन हुनुपर्ने तर्क गरे । कार्यक्रममा नयाँ शक्ति पार्टीको हालै सम्पन्न लुम्बिनी बैठकको भाव सम्प्रेषणसम्बन्धी पाँच बुँदे घोषणाको सामूहिक संकल्प वाचन गरिएको थियो ।