मृत्‍यु ,समवेदना र हाम्रो सामाजिक दायित्व

मृत्‍यु ,समवेदना र हाम्रो सामाजिक दायित्व


– डिल्लीराम अम्माई, बेल्जियम

मृत्‍यु एक टार्नै नसकिने सत्य भएर पनि यसको भयले सबैलाई सताइरहेको हुन्छ । जसरी जन्म एक साश्वत सत्य हो मृत्‍यु पनि त्यही सत्यको अर्को पाटो हो । हामीहरु हाम्रो आफन्त वा नजिकको ब्यक्तिको मृत्‍युमा धेरै भावुक हुन्छौँ भने नचिनेको र अलिक टाढाको मृत्‍युले त्यति लामो समय मनलाई पिरोल्दैन । तर पनि मानविय स्पन्दनले कही कतै भावनालाई नमिठो गरी धमिल्याइदिन्छ । मृत्‍यु स्वभाविक र अकाट्य सत्य हो भन्ने कुराले केही बेर हामीलाई सम्झाउन सक्दैन ।

२०१८ को मार्च २० तारिख, बेल्जियम नेपाली समाजका एक होनाहार युवक भाइ धिरज थापाको अन्तिम सँस्कार भयो । बेल्जियममा भएका सबै नेपालीले आज आफ्नो सामाजिक दायित्वलाई ऊच्च मानवीय समवेदनासहित सहित पूरा गरे । दुःखद क्षणको अनुभूतिले सबै नेपालीको भावना र मनलाई नरमाइलो बनाइदियो ।

आफ्ना अनुकुलता र प्रतिकुलताको बाबजुद भाइ धिरजको मृत्‍युपिडाबाट छटपटाइरहेका परिवारजनलाई हरतरहले पीडामय अवस्थामा आत्मिक राहत दिने चेष्टा भयो । बेनेलक्सका राजदुत लोकबहादुर थापा र नेपाली गैरआवासीय संघ बेल्जियमका अध्यक्षले विक्षिप्त परिवारजानलाई ूआफूहरु पीडित परिवारसंग रहेको र आवश्यक पर्दा सदैव सहयोग गरिरहनेू भन्दै भाबुक शब्द श्रद्धान्जली ब्यक्त गरिरहँदा समेत मृतकका आफन्त र परिवारजनको आँशु थामिएन। सबै शुभचिन्तकहरुबाट मृतकको सन्मुख भावुक हुँदै मृतात्माको सम्मान र मुक्तिको लागि श्रद्धाका फुल चढाए। समाजले एक होनाहार र अनन्य मित्रलाई आखिर सुन्यमा समर्पित गरेर गरेर बिदा हुन करै लाग्यो।

हामी व्यक्तिगत रुपमा होस् वा सामुहिक रुपमा उनको पार्थिव शरीर र वियोगको वेदनाबाट विवश परिवारजनलाई लोकले चलाएका सहानुभुतिका शब्दञ्जलीले सान्त्वना दियौँ । जुन सामाजिक र परम्परागत मानवीय कर्म हो, त्यो निभाइयो । अब ती असहाय उनकी श्रीमती र शिशु छोरी साथै परिवारजनहरुको अकल्पनीय भावोत्तेजना र भविष्यमा आउने उनिहरुका समस्याहरु उपर पनि हाम्रो समाजले बढी नै ध्यान दिनु जरुरी देखिन्छ । कामबिना सहज रुपमा बाँच्न नसकिने यो ब्यस्त जीवन जङ्गलमा त्यो निरिह परिवारको भावी गन्तब्य सरलिकरण गर्न के गर्नु पर्ला ? बेल्जियमको नेपाली समाजको लागि सोचनीय प्रश्न हो यो।

‘तर नआत्तिनुस्, छोरी छन्, आफन्त छन्। अबको परिस्थिति पहिला जस्तो छैन बैनी, हरेक समवेदनामा काध थाप्न सक्ने समाज छ।’ अन्तिम श्रद्धान्जली दिनको लागि उपस्थिति हेर्दा हाम्रो समाज सवल भैसकेकोमा गर्व लाग्यो । साथै एनआरएन लगायत सबै सङ्घसंस्थाहरु पनि मानिवीय कार्य र सामाजिक सहयोगको सवालमा एक ढिक्का भएर सहयोग गर्दछन र गरेका छन् । हाम्रो दुतावास पनि यो समाजका सबै खुशी र समवेदनामा एकाकार भैसकेको छ। ‘त्यहाँ भन्न नपाए पनि विक्षिप्त परिवारप्रति मेरो भनाइ यो भन्दा भिन्न हुने थिएन । अन्तिम श्रद्धाञ्जलिमा देखिएको त्यो उपस्थिति, त्यो समवेदनाको लहर र सन्तप्त परिवारप्रतिको त्यो माया हाम्रो समाजको परिपक्वताको संकेत हो । कसैले माने पनि नमाने पनि बेल्जियमको नेपाली समाज अब बिस्तारै परिपक्वतातर्फ अगाडि बढीरहेको छ,बाल बच्चा देखि वृद्ध बृद्धासम्म सबैको भरोसायोग्य हुँदैछ । यो नै हामी सबैको अमुल्य सम्पत्ति हो ।

दायित्वको प्रसङ्गमा कुरा गर्दा मानवीय दायित्व सबैभन्दा प्रधान हुन आउँछ । दुर्घटना, पीडा ,दुख बीमारी, उत्पिडन, भवितब्य र मृत्‍युको अवस्थामा । जहाँ समाज छ त्यहाँ ब्यक्तिगत दायित्वहरु समाजिक दायित्वको अधिनस्त हुन्छन् । समाजको आवाज सबैले सुन्छ र बिपत्तिमा परेको ब्यक्तिले एकैपटक ठुलो राहत महसुस गर्दछ ।

सबै लडाईंहरु जितिने लडाईं हुँदैनन् र मृत्‍यु पनि त्यही नजितिने लडाईंमध्येको एक हो । अतः एकजना मृत्‍युबाट हारे पनि बाँच्नेहरुलाई सही दिशाबोध गर्ने समाजका आदरणीय अग्रजहरुलाई सबैले साधुवाद दिनैपर्छ । जसले समाजलाई यो अवस्थासम्म ल्याइपुर्याए । जसले पीडाको असह्य क्षणमा परिवारजनलाई मानवीय र सामाजिक राहत दिएर सहयोग गरे । सबैमध्ये ऊच्च, आदरणीय, र सम्मानानीय कर्म भनेको यही हो । ‘हाम्रो समाजमा बिग्रह छ, यो भाँडभैलो र बिग्रहलाई रोक्न सकिँदैन’ भन्दै तुवालोमा रमाउनेहरुलाई मानवताका यस्तै महायज्ञहरुले हाम्रो समाज गंगाजल जस्तै पवित्र बन्दै गैरहेको सन्देशसहित हातेमालो गरेर अगाडि बढ्न सल्लाह दिएको छ । समाजका मत मतान्तरहरुलाई समवेदित मानवताका मुद्धाहरुले एउटै अंगालोभित्र ल्याइदिन्छ यसमा कुनै शंकै छैन ।

हाम्रो समाजमा केही आग्रहहरु होलान् तर तिनै आग्रहहरुलाई बिग्रहको जलप लगाइदिने कार्यले केही निरासा ल्याइदिएको हुन सक्ला । तर अब आफ्ना आग्रहहरुलाई मानवीय कर्मपथले निर्देशित गरेर यसरि नै हिँडाउन थालियो भने हामी हाम्रो समाजप्रति पूर्णतः गौरवान्वित र विश्वस्त हुनेछौँ। स्व. भाइ धिरज थापाको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारमा हार्दिक समवेदनासहित… ।