आफ्नै सचिवबाट फसे पूर्व श्री ५

आफ्नै सचिवबाट फसे पूर्व श्री ५


पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रलाई यसपटक आफ्नै सचिवालयका कर्मचारीले गुमराहमा पारेको जानकारी प्राप्त भएको छ । झापाको हिमालयन टी स्टेटलाई मुकाम बनाएर पूर्वाञ्चलको भ्रमणमा रहनुभएका पूर्व श्री ५ बाट गत आइतबार विभाजित राप्रपाका नेताहरूलाई संयुक्त रूपमा भेटी वार्तालाप गरेको सार्वजनिक भएपछि यस विषयलाई लिएर विभिन्न टीका–टिप्पणी भएका छन् । उहाँले विभाजित पूर्वपञ्चहरूको पार्टी एकजुट हुन निर्देशन दिएको भन्ने प्रचार भएको छ । उक्त भेटमा राप्रपा प्रजातान्त्रिकका नेताहरू राजाराम श्रेष्ठ, सुरेश आचार्य, सगुन लावती, राप्रपाका नेताहरू बुद्धिमान तामाङ, भाष्कर भद्रा र प्रह्लाद साह तथा एकीकृत राप्रपा राष्ट्रवादीका नेताहरू तारानाथ लुइँलेट, डा. सुष्मा आचार्य र पेशल श्रेष्ठ सहभागी भएका थिए ।

अपराह्न चार बजे शुरु भएको भेटवार्ता साँझ सात बजेसम्म चलेको थियो । उक्त वार्तालापका क्रममा पूर्व श्री ५ ले राप्रपा विभाजित भएर रहनुको कारणबारे जिज्ञासा प्रकट गर्नुभएको थियो । सहभागी नेताहरूले विभाजनको कारणभन्दा पनि देशको वस्तुस्थितिबारे आ–आफ्नो धारणा राखेका थिए ।

सम्बद्ध सूत्रबाट प्राप्त जानकारीअनुसार पूर्व श्री ५ ले पञ्चायती पृष्ठभूमिका नेता–कार्यकर्ताको पार्टीका नेताहरूलाई भेटेर निर्देशन दिने कुनै सोच बनाउनुभएको थिएन । विभिन्न व्यक्तिहरूलाई भेटी देशको वस्तुस्थितिबारे जनधारणा जान्ने इच्छा मात्र उहाँले राख्नुभएको थियो । तर, उहाँका सचिवालयका सागर तिमिल्सिनाले काम देखाउन विभाजित राप्रपाका नेताहरूलाई बोलाइदिएको र बोलाएकै कारण त्यसप्रकारको भेटवार्ता गर्नुपर्ने बाध्यता भएको बुझिएको छ ।

भनिन्छ, सागर तिमिल्सिना राप्रपा नामको दल विभाजित नभई एकजुट हुँदा शक्तिशाली बन्ने विश्वास गर्दछन् र स्वयम् राजाले भन्नुभएमा उनीहरू एकजुट हुन सक्छन् भन्ने ठानेर उनले त्यसप्रकारको ‘बैठक’ रचेको बताइन्छ । तर, तिमिल्सिनाको त्यस्तो प्रयास जगहँसाइको विषय बनेको छ र राजालाई एउटा शक्ति ठान्नेहरूमा यसले एकप्रकारको निराशा पैदा गरेको छ ।